साझाका २० बस थपिए, प्रदेश सरकारको ३० करोड सहयोग

 असार १६, २०७६ सोमबार १६:१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साझा यातायातले ‘यूरो फोर’ मापदण्डको वातावरणमैत्री २० ओटा शहरी बसको सेवा सुरु गरेको छ । साझाले सोमबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेर बस सेवा सुरु गरेको हो ।

काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा विद्युतीय बस सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । प्रदेश तीन सरकार, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

यसले साझाको यातायात सेवामा थप टेवा पुग्ने साझाका कार्यकारी निर्देशक भूषण तुलाधरले बताउनुभयो । ‘यूरो फोर’ मापदण्डका गाडीले वातावरण प्रदूषणमा केही मात्रामा कमी आउने भएकाले शहरी यातायातमा सहज हुने तुलाधरले बताउनुभयो । उहाँले अब साझा बसले यसपछि बिजुली बस सेवा सुरु गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो । बिजुली बस सुरु भएसँगै नेपालमा पेट्रोलियम पदार्थ आयातमा कमी आउने, वातावरण स्वच्छ हुने र शहरी यातायातमा समेत सहज हुने तुलाधरको भनाइ थियो ।

साझाका २० नयाँ बस खरिद गर्न काठमाण्डाै महानगरले ५ करोड र ललितपुर महानगरले १ करोड रुपैयाँ अनुदान सहयोग गरेका थिए ।

साझा यातायातको काठमाण्डौ उपत्यकाभित्र लगनखेल–बसपार्क, लगनखेल–बुढानिलकण्ठ, बुंमति–बुढानिलकण्ठ, रत्नपार्क–लामाटार, रत्नपार्क–गोदावरी, लगनखेल–सातदोबाटो–थानकोट, नयाँबसपार्क–सूर्यविनायक, नयाँबसपार्क–कमलबिनायक, नयाँबसपार्क–लगनखेल–एयरपोर्ट, लगनखेल–शहीदगेट–दक्षिणकाली रुट तय भएको छ । 

विद्युतीय बसका लागि ४५ करोड रुपैयाँ संकलन

साझा यातायातले अब काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा बिजुली बस सेवा गर्ने लक्ष्य राखेको छ । यसका लागि प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ दिएको छ । सार्वजनिक यातायातको प्रवद्र्धन र विद्युतीय बस खरिद तथा सञ्चालनका लागि प्रदेश सरकारले यो रकम दिएको हो ।

प्रदेश ३ का आर्थिक योजना तथा मामिला मन्त्री कैलाशप्रसाद ढुङ्गेलले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सोमबार ३० करोडको चेक हस्तान्तरण गर्नुभएको हो  । यस्तै, ललितपुर महानगरपालिकाले साढे २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

यसैगरी काठमाण्डौ महानगरपालिकाले १० करोड रुपैयाँ प्रदान गर्ने र साझा यातायातले साढे २ करोड रुपैयाँ गरी ४५ करोड रुपैयाँ रकम बिजुली बस किन्नका लागि संकलन भएको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणी दीक्षितले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया