चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – गएको साउनमा हेटौँडा घर भएर हाल ललितपुर बस्ने १९ वर्षीय रन्जित (नाम परिवर्तन)ले फेसबुकमा स्वप्ना राई नाम गरेको नक्कली आईडी बनाएर अश्लील फोटोमा कसैको फोटो जोडिदिए र साथीभाइलाई अश्लील म्यासेज पनि पठाइदिए ।
अश्लील फोटोमा जोडिएको अनुहार सिन्धुली स्थायी घर भएर हाल ललितपुर बस्ने १८ वर्षीय कमला (नाम परिवर्तन ) को थियो । त्यसपछि उनले रन्जितविरुद्ध प्रहरीमा उजुरी दिइन् । यसैका आधारमा प्रहरीले रन्जितलाई पक्राउ गर्यो र अदालतको आदेशमा उनलाई थुनामा राखिएको छ ।
२०७५ फागुनको अर्को घटनामा डोटीकी १८ वर्षीया मनरुपा(नाम परिवर्तन)ले अर्कै नामको फेसबुक आईडी बनाएर त्यसै ठाउँकी १८ वर्षीया सुशिला(नाम परिवर्तन) को फोटो राखिन् । साथै उनले त्यो आईडीमा अश्लील स्टाटससमेत राखिन् ।
आफूले नगरेको र समाजमा नकारात्मक सन्देश जाने कुरामा आफ्नो नाम जोडिएकाले विक्षिप्त भएकी सुशिलाले मानमर्यादामा आँच पुर्याएको भन्दै अपराध महाशाखामा उजुरी दिइन् ।उजुरी अनुसार मनरुपालाई पक्राउ गरेर अहिले विद्युतीय कारोबार ऐन अन्तर्गत प्रहरी परिसरमा मुद्दा चलिरहेको छ ।
त्यस्तै गएको २०७५ मंसिरमा १७ वर्षीय प्रविण (नाम परिवर्तन)ले शारीरिक सम्पर्क गरेको भिडियो बनाएर फेसबुकमा राखे । त्यसपछि भिडियोमा भएकी किशोरी १७ वर्षीया प्रतिष्ठा (नाम परिवर्तन) को शिक्षक शिक्षिका र साथीभाइहरुलाई पठाइदिए ।
यसबाट प्रतिष्ठालाई घर टोलमा हिँड्न तथा विद्यालयमा पनि आउजाउ गर्न अप्ठ्यारो भयो । त्यसपछि उनले प्रविणविरुद्ध आफूलाई मानसिक यातना दिएको र चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । त्यसैको आधारमा प्रहरीले प्रविणलाई ललितपुरको इमाडोलबाट पक्राउ गरी महानगरीय प्रहरी परिसरमा ल्याएर आवश्यक कारबाही अगाडि बढायो ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । महानगरीय प्रहरी परिसरको साइबर अपराध विभागमा दैनिक यस्ता थुप्रै साइबर अपराधसम्बन्धी उजुरीहरु पर्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापा बताउनुहुन्छ ।
के हो साइबर अपराध?
नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसूर भनी परिभाषित गरेको छ ।
इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।
सजाय थाहा नहुँदा र बदला लिने उद्देश्यले अपराध बढ्दो
महानगरीय अपराध महाशाखाका प्रमुख थापा भन्नुहुन्छ,‘यस्ता घटनामा के कस्तोसम्म सजाय हुन्छ भन्ने थाहा नपाएर पनि यस्ता घटना बढिरहेका छन् ।’
उहाँका अनुसार विशेष गरी युवा युवती सामाजिक सञ्जालमार्फत चिनजान हुने, प्रेमका कुराहरु हुने, विश्वास बढ्दै गएपछि अश्लील फोटो तथा भिडियो आदानप्रदान गर्ने र कुनै समयमा एक आपसमा मन नमिलेको खण्डमा तिनै फोटो तथा भिडियोलाई सार्वजनिक गरिदिने, धम्की दिने जस्ता क्रियाकलाप हुने गरेको पाइएको छ ।
र यसरी सार्वजनिक भएका सामग्रीले व्यक्तिगत मान सम्मान र सामाजिक प्रतिष्ठामा आघात पुग्ने भएकाले कतिपयले आत्महत्या गरेको उदाहरणहरु पनि छन् ।
किशोर किशोरी बढी पीडित
महाशाखामा गएको साउनदेखि फागुन महिनासम्म आएका उजुरीहरुलाई हेर्दा सबैभन्दा धेरै २० देखि ३० वर्षसम्मका लगभग ४० प्रतिशत, त्यसपछि ३० देखि ४० वर्षसम्मका लगभग ३० प्रतिशत, २० वर्षमुनिका २२ प्रतिशत र ४० देखि ६० वर्षसम्मका लगभग ८ प्रतिशत पीडित रहेको देखिन्छ ।
साइबर अपराध सम्बन्धमा महानगरीय प्रहरी अपराध महाशाखाको २०७५ साल साउनदेखि २०७६ साल जेठ महिनासम्मको तथ्यांक हेर्दा पीडितहरुमा महिला धेरै रहेका छन् । प्रत्येक महिनामा परेका उजुरी अनुसार औसतमा पुरुषभन्दा कम्तीमा पनि दोब्बर वा त्यसभन्दा बढी रहेको भेटिएको छ ।
यसरी इन्टरनेटका माध्यमबाट हुने अपराधका पीडितहरु महिला र पुरुष हुने गरेको भेटिएको छ भने पीडकहरु पनि मिश्रित नै हुने गरेको प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाको भनाइ छ ।
यसरी विभिन्न कारणले साइबर अपराध गर्नेमा पुरुषले पुरुषलाई, पुरुषले महिलालाई, महिलाले पुरुषलाई र महिलाले महिलाविरुद्ध नै गर्ने गरेको पाइएको छ ।
अधिकांश किशोर तथा युवाले महिला साथीसँग मनमुटाव भएपछि वा प्रेम प्रस्ताव स्वीकार नगरेको अवस्थामा बेइज्जत गरिदिने हिसाबले यस्ता अश्लील सामग्री सार्वजनिक गरिदिने गरेको पाइएको छ । किशोर किशोरी तथा युवा युवतीमा एउटा बिन्दुमा पुगेर पासवर्डसम्म आदानप्रदान भएपछि सानो सानो क्रियाकलापमा पनि एक अर्काको निगरानी हुने र त्यसैको आधारमा सम्बन्धमा खटपट भएपछि यस्तो नतिजा आएका घटना पाइएको अपराध महाशाखा प्रमुख थापा बताउनुहुन्छ ।
त्यस्तै घटनामा महिलाले भने पुरुष वा केटा साथीविरुद्ध यस्ता क्रियाकलाप गरेको नगण्य मात्रै पाइएको छ । यसको पछाडि समाजमा महिलाको इज्जतमाथि धेरै प्रश्न उठाइने गरेको कारण पनि हुन सक्छ । कुनै कुनै घटनामा महिला भित्रभित्रै लुकाएर बस्ने, डिप्रेशनमा जाने वा आत्महत्यासम्म गर्ने तर घटना वा पीडा भने सार्वजनिक नगर्ने भेटिएको छ ।
पुरुषले पुरुषकै विरुद्ध गरेको घटना भने नगण्यमात्रै आउँछन् प्रहरीमा । अझै पनि यस्ता कुराले महिलालाई जति पुरुषलाई त्यति अप्ठ्यारो नपर्ने भएकाले पनि यसो भएको हुनसक्ने प्रहरीको बुझाइ छ ।
एउटी महिलाले अर्की महिलाविरुद्ध यस्ता अपराध गरेका घटना भने हिजोआज बाक्लै आउने गरेको पाइएको छ । आफ्नो वास्तविक परिचयभन्दा फरक नामको फेसबुक आईडी बनाएर आफूसँग दुश्मनी वा रिसीबी भएका महिलाहरुविरुद्ध नै यस्ता अश्लील हर्कत गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
कतिपय अवस्थामा आफूले मन पराएको केटासँग हिँडेको वा हिमचिम बढाएको अवस्थामा पनि महिलाले अर्की महिलालाई तुच्छ देखाउन यस प्रकारका अश्लील हर्कत गर्ने गरेको पाइएको छ ।
प्रहरीको सुझाव
इन्टरनेट, मोबाइल तथा कम्प्युटरका माध्यमबाट हुने यस्ता घटना सामाजिक डर वा लाजका कारण लुकाएर नबस्न र सकेसम्म छिटो प्रहरीमा उजुरी गर्न प्रहरीको सुझाव छ । यस्ता घटना जति लुकायो पीडकहरुलाई त्यति नै बल पुग्ने हुनाले समाजबाट यस्ता असामाजिक घटनामा कमी ल्याउन सबैले प्रहरीसमक्ष छिटोभन्दा छिटो पुग्न सुझाउनुहुन्छ प्रहरी वरिष्ठ उपरीक्षक थापा ।
मोबाइल, इन्टरनेट र कम्प्युटरका माध्यमबाट हुने क्रियाकलापहरु निगरानी गर्न मिल्ने भएकाले सबैमा अनावश्यक, अश्लील र अरुलाई अप्ठ्यारो पर्ने क्रियाकलाप नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।
अपराध गरेपछि केही समय बच्न सकिएला तर पीडकले उजुरी दिएको केही समयमा प्रहरीले पत्ता लगाएर कानुन अनुसार कारबाही गर्ने हुनाले यस्ता क्रियाकलापमा संलग्न नै नहुन र नजिकै यस्ता घटना भएको देखे सुनेमा नजिकको प्रहरीमा उजुरी गरेर सहयोग गर्न पनि प्रहरीको सुझाव रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ ।