‘सोचेको फल प्राप्त गर्न मक्का मदिना’

 साउन २, २०७६ बिहिबार १६:५१:४७ | रासस
unn.prixa.net

हजका लागि मक्का जानेलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै आफन्तजन । तस्बिर - नवीन पौडेल/रासस ।

काठमाण्डाै - अर्घाखाँचीका कदमहिम मियाँ र श्रीमती छली मियाँ पहिलोपटक इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मस्थल मक्का मदिना जान पाउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हर्षित देखिनुहुन्थ्यो । 

पवित्र तीर्थस्थल जाने पहिलेदेखिको इच्छा पूरा हुन लागेकामा उहाँहरु निकै खुशी देखिनुहुन्थ्यो । 'इस्लाम धर्मका जन्मदाता पैगम्बरको ठाउँमा गएर नमाज पढ्न र कुर्वानी (बलि) दिन पाउने भएपछि खुशी लागेको छ', कदमहिमले भन्नुभयो, 'त्यहाँ गएर आफूले सोचको फल प्राप्त हुनाका साथै मनमा शान्ति मिल्छ ।'

नेपाल सरकार र नेपाल हज समितिको सहयोगमा उनीहरू जस्तै १५६ जना त्यसतर्फ गएका छन् । मक्का पैगम्बरको जन्मस्थल हो भने मदिना उहाँको समाधिस्थल हो । मुसलमान समुदायले ती ठाउँमा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास छ ।  

जीवनको महत्वपूर्ण इच्छा मक्कामदिना गएर पूरा हुने बताउँदै काठमाण्डौ जोरपाटीका मोहम्मुव अलिखानले यसअघि कुनै पाप गरिएको रहेछ भने त्यो कटाउनका लागि पनि आफू त्यहाँ जान लागेको जानकारी दिनुभयो । 'मक्का मदिनामा गएर आफू शुद्ध भइन्छ । जसरी आमाको पेटबाट पहिलोपटक बच्चा जन्मिँदा शुद्ध हुन्छ मक्का मदिनामा गएपछि त्यसरी नै शुद्ध भइन्छ', उहाँले भन्नुभयो ।

उनीहरुजस्तै यस वर्ष पनि विश्वभरका ५० लाख इस्लाम धर्मालम्बी हज गर्नका लागि मक्का मदिना जाँदैछन् । हज समितिका सदस्य मोहम्मद इद्रिस मियाँले यही साउन २३ गतेदेखि हज शुरु हुने बताउनुभयो । हजयात्रीले मक्कामा रहेको ‘कावा सरिफ’मा पाँच दिन हज हरी कुर्वानी दिने गर्छन् । धेरै मानिस आउने हुँदा व्यवस्थापन गर्न समस्या हुने भएकाले पहिल्यै हजयात्रीहरु मक्कामदिनातर्फ जाने गरेको उहाँको भनाइ थियो ।

साउन २३ गतेदेखि पाँच दिनसम्म प्रत्येक हजयात्रीले खसी, बोका, भेडालगायत पशुलाई कुर्वानी दिन्छन् र त्यसपछि ४५० किलोमिटर टाढा मदिनामा १० दिनका लागि हजयात्री जाने गर्छन् । त्यहाँ रहँदा हजयात्रीले नमाज पढ्छन् । दिनको पाँच पटकका दरले आठ दिनसम्म ४० पटक नमाज पढ्ने गरेको हज समितिका सदस्य मियाँले बताउनुभयो ।

यसैगरी रुपन्देहीका मनोवर हुसेन तेस्रोपटक मक्कामदिना जाँदै हुनुहुन्छ । यसअघि दुईपटक पुगेर आइसक्नुभएका हुसेनले त्यहाँ पुगेर नमाज पढ्दा आफूले सोचेको पुगेको बताउनुभयो । 'मक्कामदिनामा अल्लाहलाई ध्यान गरेर बस्यौँ भने मनमा शान्ति हुन्छ', उहाँले भन्नुभयो, 'त्यहाँ पुगेर नमाज पढियो भने जति पाप गरेको छ, त्यो सबै माफ हुन्छ ।' एक तीर्थ यात्रीलाई दुई लाख ३० हजार रुपैयाँ दिनुका साथै नेपाल हज समितिले सम्पूर्ण खर्चको व्यवस्थापन गर्दै आएको छ । 

हज समितिका अध्यक्ष शमशेर मियाँले हजयात्रीको सहजताका लागि आफूहरुले सम्पूर्ण व्यवस्थापन गर्दै आएको बताउनुभयो । उहाँले मक्का मदिनामा रहँदा खाने, बस्ने र यात्रा गर्ने सबै व्यवस्था हज समितिले नै गर्ने जानकारी दिनुभयो । 

उहाँका अनुसार यस वर्ष नेपालबाट एक हजार २६० हजयात्री मक्का मदिना जानेछन् । हजयात्री ४२ दिनसम्म त्यहाँ रहनेछन् । हजयात्रीलाई बिदाइ गर्न गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । 

त्यही अवसरमा गृहमन्त्री थापाले ३०० नेपाली हजयात्रीलाई व्यवस्थापन गर्नका लागि त्यहाँको सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो । साउन ९ गतेसम्म सबै हजयात्रीलाई मक्का मदिना पठाइने अध्यक्ष मियाँको भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया