गुल्मी पहिरो : विस्थापित परिवारका लागि हेलिकप्टरमार्फत खाद्यान्न लगियो, अस्थायी आवास निर्माणको काम सुरु

 साउन १३, २०७६ सोमबार १५:५:३३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा पहिरोबाट विस्थापित भएका परिवारका लागि खाद्यान्न को अभाव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ । 

सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम तम्घासबाट गुल्मी उद्योग वाणिज्य संघले उपलब्ध गराएको एक हजार किलो चामल, एक सय किलो दाल, खाने तेल, नुन, सोयाबिन, चिउरा पुर्‍याइएको वीरभद्र जंग गुल्मका गुल्मपति सेनानी रविन्द्र महर्जनले जानकारी दिनुभयो ।

पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएपछि खाद्यान्न लैजान समस्या भएको हो । विस्थापित परिवारको तत्कालको समस्या समाधान गर्न खाद्यान्नसहित लत्ताकपडा र औषधि पठाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

यस अघि सत्यवती – ४ को पहिरो प्रभावित क्षेत्र लिम्घामा पनि सेनाको हेलिकप्टरबाट खाद्यान्न लगिएको थियो  ।

विस्थापित परिवारका लागि अस्थायी आवास निर्माण सुरु

सत्यवती गाउँपालिकाको –३ मा पहिरोबाट विस्थापित भएका परिवारको सुरक्षाका लागि अस्थायी आवास निर्माणको काम सुरु भएको छ । 

वडा नम्बर ३ को सिङ्दी र त्यस क्षेत्र वरिपरिका पहिरो पीडितका लागि सुरक्षा निकायको सहयोगमा अस्थायी आवास निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

अस्थायी आवास निर्माणका लागि पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको वीरभद्र जंग गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २५ जनाको टोली परिचालन भएको विरभद्र जंग गुल्मका सेनानी रविन्द्र महर्जनले बताउनुभयो । गएको साता सत्यवतीको ठूलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १२ सय ६० जनाभन्दा बढी व्यक्तिहरु प्रत्यक्ष रुपमा प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया