गलेश्वर मन्दिरमा साउन महिनाभर १२ लाख भेटी संकलन

 साउन ३०, २०७६ बिहिबार १४:३:४७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - बेनी नगरपालिका–९, गलेश्वरमा रहेको धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा झण्डै १२ लाख रुपैयाँ भेटी संकलन भएको छ ।

साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल ११ लाख ९८ हजार तीनसय ४० रुपैयाँ भेटी संकलन गरिएको हो । 

अघिल्लाे वर्षको साउन महिनामा पनि चारवटा सोमबार परेको थियो भने १३ लाख २७ हजार चारसय ५२ रुपैयाँ भेटी सङ्कलन भएको थियो । गतभन्दा अघिल्लो आर्थिक वर्षमा भने पाँचवटा सोमबार परेको भए पनि ११ लाख ७४ हजार सातसय १५ रुपैयाँ भेटी सङ्कलन गरिएको थियो । गत वर्षको तुलनामा यसवर्ष भेटी सङ्कलनमा कमी आएको छ ।  

यस वर्ष साउनको पहिलो सोमबार दुई लाख ७४ हजार एकसय ७७, दोस्रो सोमबारमा दुई लाख ९९ हजार तीनसय २२, तेस्रो सोमबार दुई लाख २९ हजार एकसय ७९ र चौथो तथा अन्तिम सोमबार तीन लाख ९५ हजार ६६२ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष साउनमा परेका चारवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम पहिलो सोमबारमा भेटी संकलन भएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयाे । 

अघिल्लाे वर्षको तुलनामा यस वर्ष मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सङ्ख्यामा कमी आउनुका साथै भेटीसमेत कम सङ्कलन भएको हाे । बर्खायाम, खेतीपातीको समय र यातायातको असुविधाका कारण अपेक्षाअनुसार भक्तजनहरु आउन नसकेको उहाँले बताउनुभयो । 

गलेश्वर मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्यामा भने वृद्धि हुँदै गएको छ । यस वर्षको साउन महिनामा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, रुपन्देही, नवलपरासी, चितवन, तनहुँ, काठमाण्डौ, बाँके, बर्दियालगायतका जिल्लाहरुबाट गरी झण्डै १ लाख ५० हजार भक्तजनहरुले मन्दिरको प्रत्यक्ष दर्शन गरेका छन् ।

मन्दिरमा भक्तजनहरुको सुरक्षाका लागि सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ ।

भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी र ज्येष्ठ नागरिकको व्यवस्थापनमा लगानी गरिने क्षेत्र विकास कोषले जानकारी दिएको छ । संकलित भेटी कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पूर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीको भनाइ छ ।

भगवान् महादेवलाई मनपर्ने महिना साउन र सोमबारको दिन भएकाले विशेष गरी हरियो चुरापोते, हातमा मेहन्दी तथा रातो साडीमा सजिएर विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु योग्य वर प्राप्तिको कामना गर्न शिवालयमा जाने प्रचलन रहेको छ । हिन्दू धर्मावलम्बीहरुमा शिवालयमा पुजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहिआएको छ । 

पवित्र कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशीलामाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथकाे प्रवेशद्वार मानिन्छ भने सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया