चितवनमा वाणिज्य बैंककाे भवनमा आगलागी

 भदौ २, २०७६ सोमबार १०:५९:४६ | रासस
unn.prixa.net

चितवन – राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा साेमबार बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

दुई तले यो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको  सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।  

मोबाइल पसलमा आगलागी 

यसैगरी चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया