फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ : उपकप्तान मल्ल

 भदौ २, २०७६ सोमबार १३:१५:३७ | रासस
unn.prixa.net

तनहुँ - 'जब मैले बच्चादेखि नै क्रिकेट खेल्न सुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन', तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, 'सानैदेखि क्रिकेट एकदमै मन पर्थ्याे, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।'

उपकप्तान मल्लले सुरुवाति चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए । 'आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ', उनले भने, 'जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।'

व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए । 'जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सधैँ सफल हुनेमा कुनै द्विविधा छैन', उनले बताए । नेपाली क्रिकेट टोलीको सबल पक्षका बारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सबल पक्ष रहेको बताए ।

राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन ? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने, 'त्यस्तो भावना कहिल्यै पनि आएन, सधैँ एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरु साथीलाई त्यो स्थानसम्म पुर्‍याउन पाए मलाई खुशी लाग्छ ।'

कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाएकी थिइन् । गरिब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनकाे भनाइ थियो ।

परिषद्का ४० सदस्य सहभागी त्यस अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया