नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

 भदौ १०, २०७६ मंगलबार ८:५:५४ | रासस
unn.prixa.net

मुगु – विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुई उडान गर्दै आएको भए पनि गएको वैशाखदेखि बिना जानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् ।

गएको वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिइ यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ । 

नेपाल एयरलाइन्सले अहिलेसम्म जानकारी बिना नै नेपालगञ्ज–रारा उडान सेवा बन्द गर्दा यात्रु मर्कामा परेका हुन् । वाइ–१२ इ–साइनका चीनबाट ल्याएका र अन्य ट्वीनअटर विमानले नेपालगञ्जबाट जुम्ला, हुम्ला, बाजुरा, साँफेबगर, रुकुम र डोल्पामा आफ्ना उडान गरेर यात्रुलाई सेवा दिँदै आएको छ । 

चीनबाट ल्याइएका विमानको समेत रारा विमानस्थलमा सफल परीक्षण भइसकेको छ । अन्य ट्वीनअटरले विसं २०६३ असारमै परीक्षण गरेर हप्तामा दुई उडान गर्दै आएका थिए । यी जहाजले अन्य जिल्लामा उडान गर्दै आए पनि रारा विमानस्थलमा भने वैशाख २६ गतेदेखि उडान गरेको छैन । नेपालगञ्जबाट अन्य जिल्लामा हप्तामा दुई उडान भर्दै आएको नेपाल एयरलाइन्सले रारामा चार महीनासम्म कुनै उडान नभरेपछि यात्रु मर्कामा परेका हुन् । 

आफ्ना हरेक उडानमा नेपाल सरकार तथा विदेशी निकायका विशिष्ट व्यक्तिका लागि दुई, बिरामी, अपाङ्गता भएका व्यक्तिका लागि र विद्यार्थीका लागि एक/एक सिट विशेष प्रथामिकतामा छुट्याउने गरेकाले प्रायःयात्रु नेपाल एयरलाइन्सबाटै यात्रा गर्ने गरेका थिए । अन्य निजी जहाजभन्दा भाडादर केही सस्तो भएकाले सर्वसाधारण यात्रु नेपाल एयरलाइन्समै यात्रा गर्ने गरेका थिए । तर, व्यवस्थापकीय कारणले गर्दा वैशाखदेखि सेवा बन्द भएपछि स्थानीय तथा अन्य यात्रु मर्कामा परेका एयरलाइन्सका रारा विमानस्थल इन्चार्ज वीरेन्द्रबहादुर मल्लले बताउनुभयो ।

नेपालगञ्ज–राराका लागि नेपाल एयरलाइन्सले प्रतियात्रु पाँच हजार २३५ रुपैयाँ भाडा निर्धारण गरेको छ । अन्य निजी एयरलाइन्सले प्रतिव्यक्ति रु पाँच हजार ७३५ निर्धारण गरेका छन् । नेपालगञ्जदेखि रारा विमानस्थलमा हाल तारा, सीता र समिट एयरले दैनिक दुईदेखि चारसम्म उडान भर्ने गरेका छन् । नेपाल एयरलाइन्सको व्यवस्थापनको कमजोरीले गर्दा यात्रुले बाध्य भएर निजी एयरलाइन्सको सेवा लिनुपरेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्ल बताउनुहुन्छ ।

यात्रुको सहजताका लागि रारा विमानस्थल र सदरमुकाम गमगढीमा नेपाल एयरलाइन्सले टिकट बिक्री काउन्टर स्थापना गरेको छ । चार महीनासम्म सेवा बन्द भएको भए पनि दुवै स्थानमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कर्मचारी काउन्टर खोलेर बस्ने गरेका छन् । सेवा कहिलेबाट सञ्चालन हुने कसैलाई जानकारी नभएको कर्मचारी बताउँछन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया