गोरखा पुगेर भारतीय राजदूतकाे प्रश्न: बाबुराम भट्टराई कत्तिको ‘पपुलर’ हुनुहुन्छ ?

 भदौ १४, २०७६ शनिबार २०:४७:५५ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंंह पुरीले ऐतिहासिक गोरखा दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । 

भारत सरकारको सहयोगमा गोरखामा सञ्चालित विकास परियोजनाको अवलोकनका लागि गोरखा आउनुभएका पुरीले गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा–अर्चना पनि गर्नुभयो । 

गोरखा दरबार पुनर्निर्माणको अवस्था अवलोकन गर्ने क्रममा उहाँले संघीय समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईलाई सम्झनु भयो । दूतावासका कर्मचारीहरुले गोरखा दरबारको ऐतिहासिक महत्वबारे बताउँदै गर्दा राजदूत पुरीले ‘भट्टराई पनि गोरखाकै हो नि ?’ भनेर सोध्नुभएको थियो । 

मन्दिरमा दर्शन र दरबार पुनर्निर्माणको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजदूत पुरीले बाबुराम भट्टराई गोरखामा कत्तिको लोकप्रिय हुनुहुन्छ? भनेर जिज्ञासा राख्नु भएको थियो । लोकप्रिय भएरै त अघिल्लो संघीय चुनावमा विजयी हुनु भएको हो भन्ने पत्रकारको जवाफपछि पुरी मुस्कुराउनु भयो । साथै पुरीले डाक्टर भट्टराईको घर कता पर्छ? भनेर पनि सोध्नुभएको थियो । 

पत्रकारहरुसँग कुरा गर्दै राजदूत पुरीले नेपालमा भैरहेको पुननिर्माणको प्रगतिप्रति भारत सरकार सन्तुष्ट रहेको बताउनु भयो । हालसम्म पुननिर्माणको ८५ प्रतिशत काम सकिएको भन्दै उहाँले छिट्टै नेपाल पुरानै लयमा फर्किने आशा व्यक्त गर्नुभएको थियो । 

छिमेकीको हिसाबमा भारतले नेपाललाई विपद् परेको बेला सानो सहयोग गरेको भन्दै उहाँले पुननिर्माणको अवस्थाबारे नागरिकहरु सन्तुष्ट छन् कि छैनन् भनेर पत्रकारहरुसँगै जिज्ञासा राख्नुभएको थियो । राजदूत पुरीले भन्नुभयो, ‘नेपाल खुशी भएपछि भारत पनि स्वतः खुशी हुन्छ ।’ 

आइतबार उहाँको भारत सरकारको सहयोगमा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत भएका कामको अवलोकन गर्ने कार्यक्रम रहेको छ । यो परियोजना यूएनडीपी मार्फत नुवाकोट र गोरखामा यो परियोजना सञ्चालित छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया