लेप्चा भाषामा तयार भएकाे नेपालकै पहिलो पाठ्यक्रम इलाममा

 भदौ १९, २०७६ बिहिबार २०:३८:३० | सुजता सुनुवार
unn.prixa.net

इलाम – लेप्चा भाषामा पठनपाठन सुरु गर्ने उद्देश्यले इलाममा लेप्चा भाषामा पाठ्यक्रम तयार पार्ने कार्यको थालनी भएको छ । पाठ्यक्रम तयार भएपछि यो नै लेप्चा भाषामा तयार भएको नेपालको पहिलो पाठ्यक्रम हुने जनाइएको छ । 

लोपोन्मुख जातिको भाषालाई उजागर गर्दै भाषा संरक्षणका लागि इलामको रोङ गाउँपालिकाले कक्षा १ देखि ५ सम्म मातृभाषामा अध्यापन गराउने भन्दै पाठ्यक्रमको तयारी थालेको गाउँपालिकाका उपाध्यक्ष चन्द्र राईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘लेप्चा नेपालको लोपोन्मुख आदिवासी जनजातिको सूचीमा पर्छन् । त्यसैले भाषाको संरक्षण गर्नका लागि पाठ्यक्रम निर्माणको कार्य थालनी गरिएको हो ।’ 

गाउँपालिकाले गाउँ सभाको बैठकबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेर पाठ्यक्रम निर्माणको कार्य सुरु गरेको हो’,उपाध्यक्ष राईले भन्नु भयो, ‘पहिलो चरणको काम सम्पन्न भैसकेको छ । अब रोङ्ग सेजुङ्ग थि गाउँपालिकास्तरीय समितिको सहकार्यमा पाठ्यक्रम विकास केन्द्र र विज्ञहरुका सहयोगमा पाठ्यक्रम तयार पारिनेछ ।’ 

गएको वर्ष संघबाट मात्रै लेप्चा जातिका लागि भनेर एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ । गाउँपालिकाले पाठ्यक्रमका लागि भाषाको पढाइ हुने छिमेकी देश भारतको कालेङ्गबुङ्गमा गएर अध्ययन समेत गरिसकेको छ । 

इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न वडाहरुमा लेप्चा समुदायको बसोबास रहेको छ । जसमध्ये रोङ्ग गाउँपालिकामा लेप्चा जातिको बाहुल्यता भएकाले यही पालिकाबाट पठनपाठन सुरु गरिने गाउँपलिकाले जनाएको छ । 

उपाध्यक्ष राईका अनुसार पालिकाको चिण्डेमा रहेको शारदा आधारभूत विद्यालयमा हाल ८० प्रतिशत लाप्चा विद्यार्थीले अध्ययन गरिरहेका छन् । यही विद्यालयबाट पठनपाठन सुरु हुने राईले बताउनु भयो । यस विद्यालयमा अध्यापनका लागि पहिलो चरणको संरचना बनाउने काम सम्पन्न भैसकेको छ ।

पालिकाको १६ लाखको लागतमा चार कोठे भवन सम्पन्न भएको समेत बताइएको छ । रुचि भएमा यो भाषालाई अन्य जातिका विद्यार्थीहरुले समेत अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । 

छिमेकी देश भारतका दार्जीलिङ, सिक्किम, कालेङबुङ्ग लगायत विभिन्न विद्यालयमा लेप्चा भाषाको पढाइ हुन्छ । यिनै विद्यालयबाट पाठ्यक्रम तयार गर्नका लागि पाठ्य सामग्रीहरु समेत संकलन गरेर ल्याइने बताइएको छ । 

लेप्चाको मातृभाषामा पालिकाको नामाकरण 

रोङ्ग गाउँपालिका लेप्चाको मातृभाषाबाट नामाकरण गरिएको हो । विसं २०६२/०६३ सालको आन्दोलनपछि लोपोन्मुख लेप्चा समुदायले राज्य पुनर्संरचना गर्दा कोशी नदी पूर्वको भू–भागलाई ‘रोङ (लेप्चा) राज्य’ नामकरण गर्न माग गरेका थिए । माग पूरा होस् भन्दै लेप्चा समुदायले धेरै पटक आन्दोलन गरेका थिए । 

आन्दोलन मात्रै होइन ‘रोङ राज्यको विधान’ नामक दस्तावेज नै सार्वजनिक गरेको लेप्चा समुदायका अगुवा तथा मञ्चका पूर्व अध्यक्ष प्रेमबहादुर लेप्चाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘रोङ’ शब्दको अर्थ ‘लेप्चा’ मात्र नभइ ‘पवित्र भूमि’ पनि भएकाले सबैले त्यसमा अपनत्व अनुभूत गर्नुपर्छ ।
   
नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार लेप्चाको कुल जनसंख्या तीन हजार चार सय ४५ रहेको पाइएको छ । जसमध्ये तीन हजार दुई सय ६४ जना ग्रामीण र एक सय ८१ जना शहरी क्षेत्रमा बस्ने गरेको तथ्याङ्कमा उल्लेख छ । 

पहिलेको पूर्वाञ्चलमा सबैभन्दा धेरै लेप्चा जातिको बसोबास रहेको पाइएको छ । पूर्वाञ्चलमा तीन  हजार दुई सय ३६, मध्यमाञ्चलमा एक सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा पाँच र सुदूरपश्चिमाञ्चलमा दुई जनाको बसोबास रहेको पाइएको छ । पहाडी क्षेत्रमा दुई हजार नौ सय ९६, तराईमा चार सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको जनगणनाको तथ्यांकले देखाउँछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया