सहकारीकाे पैसा उठाएर फर्कँदै गरेकी युवतीमाथि कुटपिट, गम्भीर घाइते

 भदौ १९, २०७६ बिहिबार १९:१९:३६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ काे बेली जेम जाने चोकमा बिहीबार दिउँसो नचिनेका व्यक्तिको कुटपिटबाट एक युवती गम्भीर घाइते भएकी छिन् ।

अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते हुनेमा नेष्डो नेपाल माइक्रो फाइनान्स दरबाङ शाखाकी कर्मचारी शुष्मा क्षेत्री रहेकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  

तनहुँ जिल्ला घर भएर हाल दरबाङमा काम गरिरहेकी क्षेत्री र माइक्रो फाइनान्सकी अर्की कर्मचारी अनिता गिरी सहकारीको पैसा उठाएर फर्कने क्रममा दुई जना नचिनेका पुरुष व्यक्तिले शुष्मालाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । घाइते क्षेत्रीको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत पोखराकाे मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । 

कुटपिटबाट घाइते क्षेत्रीको घाँटी र टाउकोमा काटेको तथा बोल्न नसक्ने अवस्था रहेको प्रहरी निरीक्षक शर्माको भनाइ छ । घटना हुने क्रममा क्षेत्रीसँगै गएकी अनिता गिरी भने उक्त स्थानमा नभएको जनाइएको छ । घटनाकाे जानकारी पाएलगत्तै प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । 

कुटपिटमा संलग्न व्यक्तिहरुको हुलियासहितको विवरण र कुटपिट हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट समेत प्रहरी नायब निरीक्षकको नेतृत्वमा समेत थप ६ जनाको प्रहरीको टोली दरबाङतर्फ खटाइएको सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया