गुल्मीमा तीन वर्षपछि भाडादर समायोजन

 भदौ २७, २०७६ शुक्रबार ६:५२:२१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा तीन वर्षपछि जिल्ला भित्रका ग्रामीण सडकहरुको भाडादर समायोजन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायीहरु र सरोवारवाला संघसंस्थाहरुको बैठकले हिजाे बिहीबारदेखि लागू हुनेगरी नयाँ भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।

यातायात व्यवसायी समितिहरुले यही भदौ ५ गते समायोजन गर्ने भनिएको नयाँ भाडादर अव्यवहारिक भएको गुनासो गरेपछि प्रशासनले सरोकारवालाहरुकाे बैठक बोलाएर छलफल गरेपछि व्यवसायीहरुले नयाँ भाडादर समायोजन कायम गर्ने कुरामा प्रतिबद्धता जनाएका थिए ।

नयाँ समायोजन गरिएको भाडादर अनुसार पक्की सडकहरुमा जीप, माइक्राे बस र डिलक्स बसलाई अन्य सवारी साधनहरुले भन्दा २० प्रतिशत भाडा बढी लिन पाउने निर्णयसँगै व्यवसायीहरु भाडादर समायोजनमा सहमति जनाएका हुन् ।

गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष रुपकलाल श्रेष्ठले यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालयबीच भएको सहमति अनुसार समायोजन गरिएको नयाँ भाडादर कार्यान्वयन गर्नका लागि सबै सवारी व्यावसायीहरुलाई आग्रह गरिएको बताउनु भयो ।

समायोजन गरिएको नयाँ भाडादर अनुसार जीप, माइक्राे बस र डिलक्स बसको हकमा पक्की सडकमा प्रति किलोमिटर ३ रुपैँया ६२ पैसा रहेको छ । त्यसैगरी ग्रामीण कच्ची सडकहरुको हकमा भने जीप र माइक्राे बसको ७ रुपैँया २५ पैसा कायम गरिएको छ भने ग्राभेल सडकहरुमा भने ६ रुपैँया कायम गरिएको छ । 

बस र मिनिबसको भाडा ग्राभेल सडकमा प्रति किलोमिटर ५ रुपैँया र पक्की सडकमा ३ रुपैँया दुई पैसा कायम गरिएको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो । तीन वर्ष अघि जिल्लामा जीपकोे हकमा ९ रुपैयाँ र बसको हकमा ७ रुपैयाँ २५ पैसा भाडादर कायम गरिएको थियो ।

जिल्लामा सडक संरचानाहरु राम्रो बन्दै गएको अवस्थामा पनि लामो समयसम्म भाडादर समायोजन नहुँदा यहाँका मानिसहरुले सवारी साधनहरुमा यात्रा गर्दा चर्को भाडा तिर्न बाध्य बन्दै आएको अवस्थामा जिल्लामा नयाँ भाडादर कायम गरिएकोमा यहाँका जिल्लावासीहरु पनि निकै खुसी भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनु भयो ।

गुल्मी जिल्लामा अहिले १ सय ८ वटा ग्रामीण सडकहरुमा नियमित रुपमा यातायात सेवा सञ्चालन हुँदै आइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया