मुस्ताङको स्याउ बजारमा, खरिदका लागि व्यापारी बोटमै

 असोज १, २०७६ बुधबार ११:३९:१५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ नेपाली बजारमा आउन थालेको छ । मुस्ताङ जिल्लाको विभिन्न स्थानमा कृषकहरुले व्यावसायिक रुपमा उत्पादन गरेको स्याउ बजारमा पुगेको हो । 

स्याउ पाकेपछि मुस्ताङका कृषकको बगैँचामा अहिले देशका विभिन्न स्थानबाट व्यापारीहरु खरिद गर्न पुगेका छन् । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित विभिन्न बजारमा पुग्ने गरेको छ । कुल १ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा स्याउ खेति गरिएकोमा ३ सय ७० हेक्टरमा लगाएको स्याउले उत्पादन दिएको छ । 

पटकपटक परेको हिमपातका कारण विगतको तुलनामा यस वर्ष स्याउ उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका कारण पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउ फल्न हुन थालेको छ ।

उपल्लो मुस्ताङको चराङ, घमीलगायतका क्षेत्रमा स्याउ उत्पादन हुने गरेको बागवानी विकास अधिकृत थापाको भनाइ छ । यसवर्ष म्याग्दीको बेनीमा तीज पर्वदेखि नै मुस्ताङको स्याउ आएको उहाँले बताउनुभयो ।

नेपाली बजारमा स्याउ सजिलै बिक्री हुने हुँदा व्यापारीहरु कृषकको बगैंचामै पुग्छन् । स्याउ खरिदका लागि बगैंचामा पुग्ने व्यापारीहरुले ठेक्कामा स्याउको बगैंचा नै खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीहरुले कार्टुन र डोकोमा पनि स्याउ खरिद गरेर बिक्री गर्दै आइरहेका छन् । 

मार्फाका स्याउ उत्पादक कृषक दिपक लाल्चनले आफूले २५ रोपनी क्षेत्रफलमा लगाएको स्याउ ठेकेदारलाई बिक्री गरेको बताउनुभयो । यस वर्ष धादिङ र पोखराबाट व्यापारीहरु स्याउ खरिद गर्न मार्फा आइपुगेको भन्दै उहाँले आफ्नो बगैंचामा साढे ५ सय जति स्याउका बोटहरु रहेको जानकारी दिनुभयो । बोटमा प्रति केजी होलसेल ७० रुपैयाँमा पाइने स्याउ बजारमा आइपुग्दा २ सय रुपैयाँभन्दा माथि मूल्य पर्ने गरेको छ ।

मुस्ताङको मार्फामा सबैभन्दा धेरै स्याउ फल्ने गरेको छ । समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्वीन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ । किसानले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता परिकारहरु बनाउँछन् । 

मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ उत्पादन हुँदै आएको छ । गएको वर्ष मुस्ताङबाट ५ हजार ४ सय ५५ मेट्रिक टन स्याउ निर्यात भएको थियो भने यस वर्ष त्योभन्दा धेरै निकासी हुने अनुमान गरिएको छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया