नापेकाे घर बचाउन जानकी मन्दिरको पर्खाल भत्काएर सडक विस्तार

 असोज १२, २०७६ आइतबार १२:५४:११ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जानकी मन्दिर अगाडिको सडक मन्दिरको पर्खाल भत्काएर सडक विस्तार गरेपछि जनप्रतिनिधिहरु शंकाको घेरामा परेका छन् ।

जनकपुरमा एसियाली विकास बैंकको सहयोगमा जारी (एडीबी) परियोजनाको काम अन्तर्गत जानकी मन्दिरको अगाडिको सडक विस्तार गरिएको छ । जनकपुर उपमहानगरपालिकाले नाप नक्सा अनुसार सडकमा पर्ने घर तोडफोड गरेर अतिक्रमण हटाउन सघाउँदै आएको छ ।

एकवर्ष अघि भएको नाप नक्सा अनुसार जानकी मन्दिर अगाडिका केही चिनो लगाइएका घरहरु नभत्काइ जानकी मन्दिरकै पर्खाल भत्काएपछि वडा नंम्बर-३ का वडाध्यक्ष दिपेन्द्र साह विरोधमा उत्रनु भएकाे छ ।  

जानकी मन्दिर अगाडिकाे घरजग्गाकाे मूल्यांकन उच्च छ । उपमहानगरपालिकाका जनप्रतिनिधिले पैसाको चलखेल गरी सडकमा पर्ने केही निजी घर बचाएको र उल्टै जानकी मन्दिरको पर्खाल नै भत्काएको हल्ला फैलिएपछि वडाध्यक्ष साहले त्यस ठाउँमा फेरि नापी गर्नुपर्ने माग गर्नुभएकाे छ । वडाध्यक्ष साहले फेरि नाप नक्सा नगरे त्यहाँ फुटपाथ बनाउन नदिने अडान लिएपछि विवाद बल्झिएको हो ।

 ‘भागबण्डामा मलाई पनि ८५ लाख रुपैयाँ परेकाे आरोप लागेकाे छ, म आश्चर्यमा छु । त्यसैले फेरि नाप नक्सा गर्न माग गरको हुँ’, वडाध्यक्ष साहले भन्नुभयो, ‘एकवर्ष अघि नापी हुँदा केही घरमा ५।६ फिट भित्रसम्म चिनो लगाइएको थियो । तर ती घरहरु भत्किएनन्, जानकी मन्दिरको पर्खाल भत्कियो । यसले जनताले पैसाको चलखेल गरेको आरोप लगाउनु स्भाविक हो ।’

सडक फेरि नापी गर्न गएकाे भदौ ८ गते नै जनकपुरधाम उपमहानगरपालिकाले समय निर्धारण गरेको थियो । ८ गते विरोध गर्ने पक्ष र उपमहानगरपालिका दुवै पक्षबाट अमिन राख्ने कुरा भएपछि स्थगित भएको थियो । दुवै पक्षले १० गते शुक्रबार बिहान फेरि नापी गर्ने समय निर्धारण गरे। निर्धारित समयमै उपमेयर रीता झा नापी टोलीसहित त्यहाँ पुग्नुभएको थियो । तर वडाध्यक्ष साह मलामी जानु भएकाले उपमेयर झासहितको नापी टोली फर्किएको थियो ।

यस विषयमा वडाध्यक्ष साहले आफू मलामी गएको मौका छोपेर उपमेयर झा नापी टोली लिएर गएको आरोप लगाउनुभएकाे थियाे । आफू मलामीबाट केही बेरमा फर्कने आग्रह गर्दासमेत उपमेयर झा त्यहाँको कामलाई सदर गर्दै अमिनसहितको टोली लिएर फर्किएको वडाध्यक्ष साहको आराेप छ ।

‘मैले पटक पटक उपमेयरजीलाई केहिबेरमै आउँदै छु, पर्खिनुस् भनेर आग्रह गरेँ । तर म मलामी गएको मौकाको फाइदा उठाउँदै उहाँ केही समयमै अमिनको टिम लिएर फर्किनु भयो । पहिलाको कामलाई सदर गर्नुभयो,’ वडाध्यक्ष साहले भन्नुभयो, ‘यो नियोजित षड्यन्त्र हो । कुन हिसाबले विवादित सडकलाई नाप नक्सा नगरी फेरि त्यही कामलाई निरन्तरता दिनुभयो ?’

यता उपमेयर झाले वडाध्यक्ष साह आफैँले समय किटान गरी समयमा नआइ आफूलाई चार घण्टासम्म कुराएकाले अब फेरि त्यहाँ नापी गर्न नजाने बताउनुभयो ।

‘म ३।४ जना अमिनको नापी टोली लिएर बिहानै ८ बजे मन्दिर पुगेको थिएँ । त्यहाँ वडाध्यक्षको ४ घण्टासम्म प्रतिक्षा गरेँ, फोन गरेँ। एकछिनमा आउँछु भन्नुभयो तर आउनु भएन । म हैरान भएर फर्केँ । त्यसैले अब म कुनै पनि हालतमा त्याहाँ नाप्न जान्न,’ उहाँले भन्नुभयो

पहिला नापी भएर केही घर सडकमा परेको भनेर चिनो लगाइएको थियो । तर ती घरहरु किन भत्काउनु भएन प्रश्नको जवाफमा उपमेयर झाले भन्नुभयो, ‘नाप नक्सा गरेर चिनाे त मुरीचोक, भानुचोकका घररुमा पनि लगाइएको थियो । तर फेरि नापी भयो कि भएन ? तर अब म जानकी मन्दिर अगाडिको सडक नाप्न  जाँदिन । ८५ लाख रुपैयाँको चलखेल भएको कुरा अफवाह हो ।’

यता वडाध्यक्ष साहले उपमेयर झाले मौकाको फाइदा उठाएको आरोप लगाउनुभयो । ‘मेरो अनुपस्थितिको फाइदा उठाउनुभयो । अब फेरि नाप्न जान्न भन्नुहुन्छ, यसले केही चलखेल भएको शंका उब्जाउँछ । तर यसको वास्तविकता चाँडै सार्वजनिक हुन्छ र गरेरै छाड्छौँ ’, वडाध्यक्ष साहले भन्नुभयो ।  

जनप्रतिनिधि शंकाको घेरामा, छानबिन गर्न स्थानीय युवाको माग

जानकी मन्दिर अगाडीको फुलबारीतिरको उत्तर दक्षिणबाटो पहिला २० फिटको थियो । वडाध्यक्ष साहका अनुसार अहिले विस्तार गरेर २९ फिट गरिएको छ । त्यहाँ पश्चिम छेउको जानकी मन्दिरको पर्खाल भत्काएर ५ फिट अतिक्रमण गरेको छ भने पूर्वपट्टीबाट मात्र ४ फिट लिइएको छ ।

पर्खाल भत्काएर सडक विस्तार गर्न थालेपछि स्थानीय युवाहरु विरोधमा उत्रेका थिए । जसको कारण झण्डै ४ महिना त्यहाँ सडक विस्तारको काम अवरुद्ध थियो । काम फेरि अगाडि बढाइएपछि युवाहरुले अवरोध गरेका हुन् ।

त्यसपछि उपमहानगरपालिका जनप्रतिनिधिको सक्रियता, प्रहरी प्रशासन र नगरप्रहरी समेतको उपस्थितिमा रातारात धमाधम पर्खाल भत्काएर सडक विस्तार गरिएको छ । जानकी मन्दिरको पहिलाको पर्खाल भत्काएर अर्को पर्खाल समेत निर्माण गरिदिएको छ ।

यस्तै जानकी मन्दिरको पूर्व उत्तरतर्फको प्रवेशद्वारतिरको सडक नाप नक्सा अनुसार ५२ फिट बनाउनुपर्ने थियो । तर त्यहाँकाे सडक ४२ फिटमा सिमित गरिएको वडाध्यक्ष साहको भनाइ छ ।  

नापनक्सा हुँदा त्यहा भएको विशाल मार्ट पसल सञ्चालन भएको घर ५ फिट र तनिक कपडा पसल भएको घरमा ६ फीट भित्रसम्म भत्काउनुपर्ने गरी चिनो लगाएको थियो । तर चिनो लागाइएका दुवै घर अझै बाँकी छन् भने जानकी मन्दिरको पर्खाल भत्काएर सडक विस्तार गरिसकिएको छ । यसले जनप्रतिनिधिहरु शंकाको घेरामा परेका छन् । रकमकै चलखेलमा निजी घर बचाएको र जानकी मन्दिरको पर्खाल भत्काएको श्रोतको दावी छ ।

जानकी मन्दिरको पर्खाल भत्काएर सडक विस्तार गर्न रकमको चलखेल भएको हुनसक्ने स्थानीय युवाहरुकाे आशंका छ।

‘जानकी मन्दिरको पर्खाल भत्काएर सडक विस्तार गर्न थालेपछि हामी स्थानीय युवाहरुले पटक पटक अवरोध गर्यौ । पछि फेरि बनाउ सुरु गरे। हामीले फेरि अवरुद्ध गर्यौ’, स्थानीय युवा सुशील कर्णले भन्नुभयो, ‘पछि जनकपुर उपमहानगरपालिकाका मेयर, उपमेयर लगायत जनप्रतिनिधिको सक्रियता र प्रहरी प्रशासन, नगरप्रहरी सहितले रातारात त्याहाँ उपस्थित भएर जवरजस्ती पर्खाल भत्कायो । सडक विस्तार गर्यो । राति किन ? अरु ठाउँमा त दिउँसो घर भत्काएको थियो ।’

अर्का युवा सरोज मिश्रले निजी घर बचाएर विश्वका हिन्दू धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको पर्खाल भत्काएर सडक विस्तार गरेको कुरा खेदजनक रहेको बताउनुभयो । जानकी मन्दिरको पर्खाल भत्काएको घटना छानबिन र त्यहाँ फेरि नापी हुनुपर्ने संयोजक मिश्रको माग छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया