बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

बलात्कार र महिला हिंसाबारे अनुसन्धान गरिने !

 असोज १९, २०७६ आइतबार १८:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पहरीले पक्राउ गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाण्डौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाट महरालाई पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी सभामुख निवास वालुवाटार पुगेका थिए ।

कर्मचारी रोशनी शाहीले गएकाे शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधी‍श ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । पीडित भनिएकी कर्मचारी रोशनी शाहीको यसअघि नै स्वास्थ्य परिक्षण गरिसकिएको छ भने घटनास्थलमा भेटिएका सामग्रीको परीक्षण गर्न फरेन्सिक ल्याब लगिएको प्रहरीले जनाएको छ ।

महरालाई पक्राउपछि बलात्कार र महिला हिंसाबारे अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ ।

गएको आइतबार राति कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कैयौं प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो ।

शुक्रबार बेलुका उहाँले महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दिनुभएको थियो । बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया