पूर्वी पहाडका किसानलाई अलैँची थन्क्याउने चटाराे: कामदारको अभाव

 असोज २०, २०७६ सोमबार १५:४०:२७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - अलैँची टिप्ने सिजन सुरु भएसँगै पूर्वी पहाडी जिल्लाका किसानलाई यतिखेर अलैँची थन्क्याउन भ्याइ नभ्याइ भएको छ । चाडपर्व मनाउन छाडेर किसानहरु अलैँची थन्क्याउने काममा लागेका छन् ।

पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बालि अलैँची यतिखेर पाँचथरसँगै ताप्लेजुङ र इलाम लगायतका जिल्लाहरुमा टिप्ने सिजन सुरु भएको छ । भदौको अन्तिमबाट सुरु भएर कात्तिक महिनाभर यहाँका किसानहरुलाई अलैँची थन्काउन भ्याइनभ्याइ हुने गर्दछ ।

पाकिसकेको अलैँची समयमै नटिपे बोटमै कुहिने साथै जंगली जनावरहरुले खाने हुनाले समयमै टिप्नु पर्दछ ।

अलैँचीे दशैँ, तिहारजस्ता पर्वको समयमा पाक्ने हुनाले बर्सेनि चाडपर्वको समयमा अलैँची थन्काउन भ्याइनभ्याइ हुने गरेको फालेलुङका अलैँची किसान राजकुमार लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अलैंँची टिप्न भ्याइनभ्याइ छ, चाडपर्व भनेर हुन्न, समयमै नटिपे बोटमै कुहिएर जान्छ, टिप्नै पर्छ।’

अलैँची टिप्न कामदार (कुल्ली) को अभाव भएको पनि किसानहरुले बताएका छन् । गाँउघरमा भएका युवा विदेशिने तथा पढाइको सिलसिलामा शहरतिर बस्ने हुनाले कामदारको अभाव भएको अर्का किसान याम लिम्बूको भनाइ छ ।

उत्पादन घट्ने सम्भावना

विशेष गरेर अलैँची फुल्ने समयमा यसवर्ष लामो समय खडेरी परेकाले अलैँची उत्पादन घट्ने किसानहरुले बताएका छन् । अलैँचीलाई पानी चाहिने चैत, वैशाखमा खडेरी लागेपछि अलैँचीको बोट मरेका कारण उत्पादनमा गिरावट आउने भएको हो । यो समयमा फल लाग्नको लागि अलैँची फुल्ने गर्दछ ।

अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार ताप्लेजुङमा चार हजार १ सय ५० हेक्टरमा अलैँची खेती हुने गर्दछ जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा १ हजार ७ सय  ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया