सूचना माग्न गएका स्थानीयलाई मैयरकै अगाडि वडाध्यक्षले कुटे

 असोज २७, २०७६ सोमबार १५:१६:२७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सूचना माग्न गएका एक जना स्थानीयलाई वडाध्यक्षले मेयरकै अगाडि कुटेका छन् । 

सूचना माग्न जानुभएका जनकपुरधाम उपमहानगरपालिका १८ का रामबाबु मण्डल मेयर लालकिशोर साहकै कार्यकक्षमा वडाध्यक्ष रामशंकर पासवानबाट कुटिनुभएको हो । गएको असोज १३ गते दिउँसो ३ बजे वडाध्यक्ष पासवानले मेयरकै अगाडि कुटपिट गरेको पीडित मण्डलले दुखेसो पोख्नुभएको छ ।

वडामा भएका विकास निर्माणको काममा अनियमितता भएको शंका लागेपछि मण्डल र स्थानीय तपेश्वर ठाकुरले संयुक्तरुपमा सूचना मागको निवेदन लिएर उपमहानगरपालिकाको कार्यालय जानुभएको थियो । 

कर्मचारीले सूचना मागको निवेदन मेयर साहलाई नै दिन भनेपछि मण्डलसहित ठाकुर मेयरको कार्यकक्षमा पुग्नुभएको थियो । मेयरको कार्यकक्षमा वडाध्यक्ष पासवान पनि थिए । मेयरले के के सूचना माग्नुभएको छ भनेर पढेर सुनाउन भनेपछि मण्डलले निवेदन पढेर सुनाउँदै गर्दा वडाध्यक्ष पासवान दुवै जनामाथि खनिएका थिए । 

त्यही क्रममा वडाध्यक्ष पासवानले आफूमाथि हातपात र कुटपिट गरेको पीडित मण्डलको गुनासो छ ।

‘निवेदन पढ्दै गर्दा वडाध्यक्ष पासवान खन्निए । कहाँ भ्रष्टाचार भएको छ ? भन्न थाले । त्यसपछि आएर ममाथि हातपात समेत गरे । मेयर मुकदर्शक हुनुभो’ मण्डलले भन्नुभयो, ‘सूचना पाउनु हरेक नागरिकको मौलिक हक हो । तर सूचना माग्न जाँदा मेयरकै अगाडि म वडाध्यक्षबाट कुटिएँ । कुन लोकतन्त्र हो यो ?’

कार्यकक्षमा त्यति हुँदासमेत मेयरले केही नबोलेको सँगै सूचना माग्न पुग्नुभएका तपेश्वर ठाकुरको भनाइ छ । उहाँका अनुसार कार्यकक्षमा अन्य चार पाँच जना उपस्थित थिए । पीडित मण्डलले भन्नुभयो, ‘यदि मैले झुटो कुरा भनेको जस्तो लाग्छ भने त्यो दिनको दिउँसो ३ देखि ४ बजेसम्मको सीसी टिभी फुटेज हेर्दा सबै प्रष्ट हुन्छ ।’

वडाध्यक्ष पासवान वडामा समेत दबंग शैलीमा मनपरी गुणस्तरहीन काम गरिरहेको र त्यसविरुद्ध बोल्ने जो कोहीलाई धम्की दिने गरेको पीडित मण्डलको आरोप छ । 

घटनापछि मण्डलले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष पासवानको कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ । तर अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ ।

यता वडाध्यक्ष पासवानले भने आफूले हातपात नगरेको दाबी गरेका छन् । मेयर साहले यस विषयमा कुनै कुरा गर्न मान्नुभएन । 

नेपालको संविधानले सार्वजनिक एवं सरकारी निकायको सार्वजनिक महत्वको सूचना पाउन हरेक नेपाली नागरिकको मौलिक अधिकारको रुपमा ग्यारेण्टी गरेको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया