काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो

 कात्तिक ६, २०७६ बुधबार ७:४३:४७ | रासस
unn.prixa.net

काठमाण्डाै – जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले मंगलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो ।

उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार अहिलेसम्म तीन करोड रुपैयाँ खर्च भएको छ । उपभोक्ता समितिलाई काठमाण्डाै महानगरपालिकाले साढे पाँच करोड रुपैयाँ दिएको थियो । अहिलेसम्म निर्माणका लागि रकम अभाव भएको छैन । अहिले काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र  अम्लेखगञ्जबाट ल्याइएको छ । अहिलेसम्म चार हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ । सम्पदाविज्ञ डा. सुर्दशन तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार काष्ठमण्डपमा पुर्खाले पहिला कसरी निर्माण गरेका थिए भन्ने कुराको जानकारी लिनसमेत सहयोग भएको छ । १२औँ शताब्दीमा बनेको विश्वास गरिएकामा बेलायतको दुराग्रह विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको थियो । पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ ।

सोमा चार मूल थाममध्येमा एक थाम (१०औँ शताब्दीमा प्रयोग गरिएको पाइएको) पुरानो राखिएको छ । त्यस्तै १०० थान मेथमध्येमा २९ सातौँ शताब्दीमा प्रयोग गरिएका थाम राखिएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका सचिव गौतम डङ्गोलका अनुसार पहिलो र दोस्रो रोमा १०/१० मेथ प्रयोग गरिएको छ भने तेस्रो रोमा नौ मेथ प्रयोग गरिएको छ । पुनःनिर्माण समितिका अनुसार, परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । काष्ठमण्डप पुरानै शैली (तीन तलाको)को बन्नेछ ।

भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनःनिर्माणका क्रममा निकालिएको माटो र ताहचलको माटो प्रयोग गरिएको छ । त्यस्तै आवश्यक ढुङ्गा काभ्रेबाट ल्याइएको छ । पुनःनिर्माणका लागि आवश्यक काठ नेपाल टिम्बर कर्पोरेशन (टिसीएन) सँग पुरातत्व विभागको लागतअनुसार १७ हजार ५८ क्युपिट काठ ल्याउने सम्झौता गरिएको छ । त्यस्तै काष्ठमण्डपमा प्रयोग गरिएको इँटा दक्षिणबाराही इँटा उद्योगबाट ल्याइएको छ ।  

पुनःनिर्माण समितिका सचिव श्रेष्ठले भन्नुभयो, ‘काष्ठमण्डपमा सादा इँटाको प्रयोग गरिएको पाइयो, ‘ठूलो माःअप्पा’ र ‘सानो माःअप्पा’ गरी दुईथरिका इँटा प्रयोग भएका रहेछन्, त्यसैअनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्ठमण्डपको गारो ठड्याइएको छ ।’ अहिलेसम्म ३३ हजार ३५८ ठूलो माःअप्पा र २१ हजार ५३० सानो माःअप्पा प्रयोग भएका छन् । काष्ठमण्डपको मूल थामको मुनि दुई किलो सुन राखिएको छ । 

समितिले राष्ट्र बैंकबाट यो सुन किनेको हो । त्यस्तै प्रत्येक मूल थामको मुनि र माथि तामा जडान गरिएको छ । काष्ठमण्डपमा ठड्याइएका मूल थाम, मेथ र निदालमा किटनाशक औषधि र आलसको तेल लगाइएको छ । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रु १९ करोड ८८ लाख लाग्ने अनुमान महानगरले गरेको थियो । दैनिक ज्यालादारीमा भक्तपुरका दक्ष कालिगड पुनःनिर्माणमा खटिरहेका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०७६

तपाईको प्रतिक्रिया