ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
चितवन - १९ वर्ष अगाडि गुल्मीबाट चितवन आएर १० कठ्ठा जमिन भाडामा लिएर ५० हजार लागानी गरी फूल खेती सुरु गर्दा सबैले नौलो मान्थे । स्नातकोत्तर अध्ययन गर्दै गर्दा जागिरका अनेक अवसर छाडेर फूल खेती गर्दा चुनौती धेरै थिए ।
व्यवसायको क्रममा असहज परिस्थितिको सहज रुपमा समाना गर्दै जाँदा अहिले पुष्प व्यवसायमा नमुना कृषकको रुपमा स्थापित भएका छन् । ७ वर्ष अगाडि उहाँले पहिलो पटक बनाएको नयाँ मोडलको ग्रीन हाउस नै अहिले देशैभरि प्रयोगमा आएको छ ।
स्थायी घर गुल्मी भएका प्रकाश पन्त पहिले बुटवलमा किराना सामानको थोक बिक्रेता हुनुहुन्थ्यो । पन्तलाई समान लिन बेला बेलामा काठमाण्डौ गैरहनु पर्थ्याे । त्यहाँ फूल पसलमा रंगीचंगी फूल राखेर बेचेको देख्दा फूल सक्कली हुन् वा नक्कली भन्ने जिज्ञासा लाग्थ्यो । कहिलेकाहीँ त छामेरै हेरेको उहाँ बताउनुहुन्छ ।
बिस्तारै फूल खेती गर्ने सोच बन्यो । मौसम र भौगोलिक हिसाबले चितवन उपयुक्त लाग्यो । यस्तो राम्रो फूल भारतमा भन्दा नेपालमै गुणस्तरको उत्पादन हुने र बजारको पनि समस्या नहुने थाहा पाएपछि पन्तले चितवन आएर पुष्प व्यवसाय सुरु गर्नुभयो ।
पन्तले पश्चिम चितवनको गुञ्जनगरमा १९ वर्ष अगाडि १० कठ्ठाबाट सुरु गरेको ग्लाडिओलस फूलको खेती अहिले २० बिघामा पुगिसकेको छ ।
पन्तले केही वर्षदेखि गुलाबको फूल पनि लगाउनु भएको छ । हरेक वर्ष १० लाख रुपैयाँभन्दा बढी गुलाबको फूल बिक्री गर्नुहुन्छ उहाँ । अहिले ३ बिघामा गुलाबको फूल लगाएको उहाँले जानकारी दिनुभयो । बजार मागसँगै उहाँले रजनीगन्धा भनिने ट्युबरोज र जरबेरा नामको फूल पनि लगाउनुभएको छ ।
सवारी साधन तथा कोठा सजाउन प्रयोग गरिने बासनादार रजनीगन्धा २ बिघामा र जरबेरा ८ कठठामा लगाएको उहाँले जानकारी दिनुभयो । उहाँले चाडपर्वका बेला बढी माग हुने सयपत्री तथा क्यालेडेलाजस्ता मौसमी फूल पनि लगाउने गर्नुभएको छ ।
पूर्वी चितवनको रत्ननगर तथा पश्चिम चितवनको शुक्रनगर, गुञ्जनगरलगायतका क्षेत्रमा ग्लाडिओलसको फूल खेती हुने गरेको छ । एउटा फूललाई मात्र १० देखि १५ रुपैयाँसम्म मूल्य पर्छ । ग्लाडिओलस फूलको बजार बाह्रैमास नै हुन्छ । तर विवाहको लगन र हिउँदको समयमा बढी माग हुन्छ ।
राम्रो आम्दानी र बजार सुनिश्चित भए पनि मौसमको फेरबदलले फूल एकै पटक उत्पादन हुँदा उत्पादन त्यसै खेर फाल्नु पर्ने अवस्था पनि आउने व्यवसायी पन्तले जानकारी दिनुभयो ।
काठमाण्डौमा दैनिक पाँच हजारदेखि ६ हजारसम्म फूलको माग छ । त्योभन्दा बढीको अनुपातमा फूल पुगे भाउ घट्ने मात्र होइन, खेर जानेसम्म अवस्था पनि आउने उहाँले जानकारी दिनुभयो । एउटा फूलको आयु १५ दिनसम्म हुन्छ । चिस्यान केन्द्र हुन सके थप १५ दिन यसको आयु लम्ब्याउन सकिए पनि चितवनमा त्यस्तो सुविधा नभएका व्यवसायी पन्तले जानकारी दिनुभयो ।
आजभोलि विवाह, जन्मदिनका विशेष समारोहमा जाँदा वा विशेष अतिथिलाई स्वागत गर्दा फूलका थुङ्गाले स्वागत गर्ने चलन छ । यसरी स्वागत गर्ने क्रममा धेरै जसोले सिधा र आँख्लैपिच्छे फूल लाग्ने ग्लाडिओलस फूलको थुङ्गा प्रयोग गर्ने गर्छन् । ६ महिना खेतमा सबै क्षेत्रमा फूल खेती भए पनि फूल टिपिसकेपछि सबै क्षेत्र आलुको बीउ तथा ताजा तरकारी उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
एक वर्षमा झण्डै दुई करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने पन्तले जानकारी दिनुभयो । ५० जना मजदुरलाई नियमितजसो रोजगारी पनि दिएका पन्तले वर्षमा ७ देखि १० लाख औसतमा बचत गर्ने गरेको बताउनुभयो ।
एब्लुम फ्लोरा फार्मका सञ्चालक पन्त फ्लोरिकल्चर एसोसिएशन चितवनका अध्यक्ष पनि हुनुहुन्छ । एसोसिएसशनमा १५ जना सदस्य छन् । जिल्लामा अहिले दर्ता भएर फूल खेती गर्ने १५ र अन्य व्यावसायिक रुपमा काम गर्ने १५ गरी ३० समूह व्यावसायिक रुपमा फूल खेतीमा लागेको उहाँ बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।