संयुक्त राष्ट्रसंघ अन्तर्गत सबैभन्दा कम विकसित देशहरूको आठौँ मन्त्रीस्तरीय सम्मेलन आबुधाबीमा

 कात्तिक १६, २०७६ शनिबार १७:५५:२६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त राष्ट्रसंघ अन्तर्गत सबैभन्दा कम विकसित देशहरुको आठौँ मन्त्रीस्तरीय सम्मेलन आबुधाबीमा सुरु भएको छ ।  

यो सम्मेलन राष्ट्रसंघको औद्योगिक विकास क्षेत्र कार्यक्रम (यूनीडो), राष्ट्रसंघकै कम विकसित-विकासशील भूपरिवेष्टित तथा साना टापु देशहरुको कार्यक्रम (ओएचआरएलएलएस) र यूएईको सहयोगमा भएको हो ।

यस सम्मेलनले सन् २०२० पछि अतिकम विकसित देशहरुमा औद्योगिकीकरणका लागि नयाँ रणनीतिहरू तयार गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनमा नेपालको तर्फबाट आबुधाबीमा रहेको नेपाली दूतावासले सहभागिता जनाएको छ । यूएईका लागि राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा उपनियोग प्रमुख रिता धितालले नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।

आबुधाबीको इमिरेट्स प्यालेसमा शनिबारबाट सुरु भएको मन्त्रीस्तरीय सम्मेलन लगत्तै आइतबारबाट १८ ‌‌औँ विशेष सम्मेलन सुरु हुनेछ । सम्मेलन आउँदो नोभेम्बर ७ तारिखसम्म चल्ने नेपाली दूतावास आबुधाबीका सूचना अधिकारी भुवन ओझाले उज्यालोलाई जानकारी दिनुभयो ।

अति कम विकसित देशहरुमा चलिरहेका विकास परियोजनाहरूमा भएका राम्रा अभ्यासहरूको अनुसरण र गल्तीहरुलाई सुधार गर्दै लैजाने विषयमा सम्मेलन केन्द्रित छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया