इलामको कन्याममा ‘घोडचढी’ व्यवसाय फस्टाउँदै

 कात्तिक १९, २०७६ मंगलबार १७:२५:१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – असोज, कार्तिक र मंसिर महिनालाई पर्यटक आवागमनको सिजन मानिन्छ । यही सिजनमा अहिले इलामको कन्याममा ‘घाेडचढी’ व्यवसाय फस्टाउँदै गइरहेको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिकामा रहेकाे कन्याम घुम्न आएका पर्यटक ‘घाेडचढी’को मज्जा लिन नपाउँदा खल्लो मान्ने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ

५३ वर्षका जेष्ठ व्यवसायी एम.बी. घलेले रहरले एउटा घोडाबाट याे व्यवसाय सुरु गर्नुुभएकाे हाे । रहरै रहरमा सुरु गरेकाे कामले अहिले कन्याममा व्यवसायकाे रुपमा विस्तार भएर गएको उहाँको भनाइ छ । 

कन्याम घुम्न आएका पर्यटकका लागि चिया वगान र जातीय पोशाकसँगै ‘घाेडचढी’ अर्को मुख्य आकर्षण हो । घुम्न आएका आन्तरिक र बाह्य पर्यटकलाई स्थान विषेशको जानकारीसहित घोडामा चढाएर घुमाउने गरिन्छ । घुम्न आउने पर्यटकहरु सवारी साधनमा भन्दा पनि घोडामै चढेर घुम्न रुचाउने गरेका छन् ।

‘घाेडचढी’ व्यवसायलाई व्यवस्थित बनाउनका लागि मूल्य निर्धारण गर्न र व्यवसायीलाई संगठित गर्न अहिले संघ नै गठन गरिएको छ । कन्याममा अहिले व्यवसायकै लागि ३९ वटा घोडा रहेका छन् ।

व्यवसायीले पर्यटकलाई घुमाउन एक पटकमा १० वटा मात्र घोडा प्रयोगमा ल्याउन पाउने नियम संघले बनाएको ‘घाेडचढी’ व्यवसायी संघका अध्यक्ष प्रेमलाल तामाङले जानकारी दिनुभयो । सिजन लागेको समयमा एक दिनमा ३९ घोडाले पाँचदेखि आठ पटकसम्म पर्यटकलाई घुमाउन पाउने गरेको संघले जनाएको छ ।

उहाँका अनुसार घोडा चढेर फोटो खिचेको मात्र ५० रुपैयाँ १० मिनेट घुमेको एक सय रुपैयाँ, स्पोर्ट राउण्ड घुमेको तीन सय रुपैयाँ, हरियाली चिया वगान घुमेको छ सय रुपैयाँ र कन्यामका सबै क्षेत्र घुमेको भने एक हजार पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म लिने गरिएको छ । उहाँले भन्नु भयो, ‘अधिकांश पर्यटकले एक सय रुपैयाँ तिरेर घुम्न रुचाउने गर्छन् ।’ 

कन्यामका घोडा पर्यटकलाई घुमाउन मात्रै नभइ फिल्म शुटिङ गर्न, विवाहका समयमा बेहुला बेहुलीलाई घरसम्म पुर्‍याउन, र विभिन्न महोत्सवमा माग भए अनुसार लैजानसमेत प्रयोगमा ल्याउने गरिएको छ । यस व्यवसायमा एक घरका २२ देखि ५३ वर्षसम्मका दुई जनासम्मले रोजगारी पाएका छन् । 

इलामको कन्याम क्षेत्र विशेषगरी शुटिङ, पिकनिक र अवलोकन भ्रमणका लागि प्रमुख आर्कषणको केन्द्र हो । बालबालिका, युवादेखि वृद्धवृद्धासम्मले घोडामा चढ्ने गरेका छन् । इलाममा घुम्न जाँदा घोडामा घुम्न पाइन्छ भनेर नै काठमाण्डौबाट इलामसम्म आएको आर्जेन थापा मगरले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘घोडामा घुम्दा मज्जा आयो, यति मात्रै होइन यहाँका स्थान विशेषको जानकारी पनि पाएको छु । मेरा साथीहरुलाई पनि इलाम घुम्न जाँदाको यो अनुभव सुनाउनेछु ।’ 

कन्याममा सरेसा जातका घोडा बढी 

व्यवसायका लागि ल्याइएका कन्यामका अधिकांश घोडा सरेसा जातका रहेका छन् । साना छोटा जातको घोडा ठूलाको दाँजोमा बेइमान हुने भएकाले ठूलो जात सरेसा घोडा नै व्यवसायीहरुले किन्ने गरेको पाइएको छ । व्यवसायीहरुले आफ्नो पेशालाई निरन्तरता दिनको लागि ६० हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्मका घोडा भारतका पटना, फारबिसगञ्ज, दार्जीलिङ, विहारलगायतबाट किनेर ल्याउने गरेको पाइएको छ । 

साना छोटा जातको घोडालाई भने ३० देखि ५० हजार रुपैयाँसम्म पर्छ । यस्ता घोडा पर्यटकको रोजाइमा समेत नपर्ने भएकाले महङ्गो रकम पर्ने घोडा नै किनेर ल्याउने गरेको संघका अध्यक्ष तामाङले बताउनु भयो ।

उहाँका अनुसार, चना, मकै र घाँसको सामान्य दाना भए घोडालाई हुने भएकाले व्यवसायीहरु सन्तुष्ट नै रहेको पाइएकाे छ । २५ वर्ष अघि फोटो खिचेको १ रुपैयाँ लिएर एउटा घोडाबाट इलामको कन्याममा सुरु भएको‘घाेडचढी’ व्यवसायमा अहिले ३९ वटा घोडा रहेका छन् । 

तबेला (घोडा बस्ने ठाउँ) का लागि १२ लाख लगानी 

संघीय सरकारले पर्यटनको नयाँ एक सय गन्तव्य सूचीमा कन्यामलाई समेटेपछि घोडा व्यवसायलाई व्यवस्थित बनाउन नगरपालिका समेत लागिपरेको छ । पर्यटकलाई खुशी राख्न घोडा र व्यवसायी पनि स्वस्थ्य हुन जरुरी रहेकाले नगरले लगानी गरेको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनु भयो ।

उहाँले भन्नुभयो, तबेला (घोडा बस्ने ठाउँ) निर्माणका लागि ६० नगर र ४० प्रतिशत व्यवसायी स्वयंले लगानी गर्नेगरी काम थालिएको छ । अहिले भने सामान्य बस्ने ठाउँको व्यवस्था गरिएको छ । 

घोडाको वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरिन्छ । यसका साथै व्यवसायीलाई मापसे जाँचको नियमसमेत लागू गरिएको छ । मापसे जाँचमा पर्ने जोखिम कन्यामका घोडा व्यवसायीहरु मोल्न चाहँदैनन् । यो नियम लागू भएपछि भने व्यवसायीहरु पनि सचेत बनेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया