प्याङ र गाउँ हराउँदै गएको प्याङगाउँ !

 मंसिर ७, २०७६ शनिबार १५:१७:१० | साजन सुबेदी
unn.prixa.net

ललितपुरको लगनखेलबाट झण्डै ७ किलोमिटर दक्षिणमा रहेको पहिलेको चापागाउँ गाविसको वडा नम्बर ५ (अहिले गोदावरी नगरपालिका ११) मा एउटा सानो नेवार बस्ती छ, जसको नाम हो प्याङगाउँ ।

बाँसबाट बनाइएको एक पाथी, दुई माना, एक माना जस्तो नापोमा पाइने र स्थानीयले मानापाथीका रुपमा प्रयोग गर्ने सामान राख्ने भाँडालाई प्याङ भनिन्छ । यही प्याङ बनाइने नेपालकै एक मात्र ठाउँ भएकाले यो गाउँलाई प्याङगाउँ भनिएको पहिलेको चापागाउँ गाविसका अध्यक्ष तथा प्याङगाउँका स्थानीय चरसुन्दर महर्जनले बताउनुभयो ।

चरसुन्दर महर्जन           तस्बिर: महर्जनकाे फेसबुक

महर्जनका अनुसार यो गाउँको पुरानो नाम भने गामल वा संगु थियो । 

पौराणिक किंवदन्ती अनुसार भक्तपुरका मल्ल राजा शिकार खेल्दै दक्षिण ललितपुरको संखु भन्ने ठाउँमा पुगेपछि त्यहीँकी एक युवतीसँगको सम्पर्कबाट जन्मेका सन्तानहरु नै पछि बसाइ सरेर यहाँ बसेकाले प्याङगाउँका स्थानीय मल्लहरुलाई गामल्ल वा गामले (गाम्ले) भन्ने गरियो । 

गामल्ल वा गामले (गाम्ले) हरु बसोबास गरेको ठाउँ भएकाले यो ठाउँलाई गामल भन्ने गरिएको जनविश्वास रहिआएको छ । मल्लका सन्तान भनिए पनि यहाँका स्थानीयले आफ्नो थर भने पहिलेदेखि नै महर्जन राख्दै आएको बताइन्छ ।

प्याङगाउँमा धान बत्ताउँदै एक महिला

राजाका रखौटी श्रीमती पट्टिका सन्तान भएकाले दरबारमा नस्विकारिएपछि यस ठाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ पाथी बनाएर बेचबिखन गरी खान आदेश भए अनुसार यहाँ यो बस्ती बसेको र प्याङ पाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ । 

यसको अर्को नाम संगु रहनुमा पनि यहाँका स्थानीयहरु संखुबाट आएकाले हुनसक्ने महर्जन बताउनुहुन्छ । अझैपनि पुराना बुढापाकाहरुले आफ्नो पुरानो घर संगु (संखु) मा रहेको बताउने गरेकाले यो ठाउँको नाम पनि पुख्र्यौली संखुबाट अपभ्रंश भइ संगु रहेको हुनसक्ने अनुमान पनि स्थानीयको छ ।

करिब ५०० वर्षअगाडि साविकको संखु गाविसबाट बसाइ सराइ गरी आएको भन्ने ने स ९२२ ९३३ मा लिखित पाटीपौवाको शिलालेखहरुबाट अनुमान गर्न सकिन्छ । (चरसुन्दर महर्जन, वाणी स्वर्ण स्मारिका- २०६७) 

यहाँका स्थानीयहरुको भाषामा संगुको अर्थ हल्लनु भन्ने हुन्छ । कुनैबेला भूकम्प वा अन्य कारणले बस्तीमा कम्पन आउने गरेकाले पनि यस्तो नाम राखिएको हुनसक्ने तर यही भन्ने यकिन तथ्य भने फेला नपरेको महर्जन बताउनुहुन्छ । 

कसरी बन्छ प्याङ ?

प्याङ तामा बाँसबाट बनाइन्छ । ठूलो फेरा भएको तामाबाँस काटेर १५–२० दिन सुकाएपछि त्यसबाट आगोमा तताउँदै आवश्यकता अनुसारको आकार दिइन्छ ।   
आफूहरुले युवा अवस्थादेखि नै पुष माघ महिनामा ठूलो फेरा भएको तामाबाँस काटेर १५–२० दिन सुकाएपछि त्यसबाट आकार अनुसार प्याङ माना कुरुवा बनाउँदै आएको ८१ वर्षीय स्थानीय मानबहादुर महर्जनले बताउनुभयो ।

मानबहादुरले भन्नुभयो, ‘बाँस राम्ररी सुकेन भने प्याङ चाउरिन्छ र नापो पनि मिल्दैन । सामान राख्न मात्र काम लाग्छ ।’

८१ वर्षीय मानबहादुर महर्जन

उमेरले आठ दशक नाघे पनि पुस माघमा बाँस काटेर सुकाउने प्याङ, माना, कुरुवा बनाउने पोल्ने सबै काम उहाँ आफैले गर्दै आउनुभएको छ । 
उहाँका अनुसार विभिन्न ठाउँका मानिसहरु प्रायः शनिबार प्याङलगायतका सामग्री किन्न आउने गरेका छन् । अरु दिन भने प्याङ देख्न ढोका नै ढक्ढक्याउनुपर्छ ।

करिब डेढसय घरधुरी रहेको प्याङगाउँमा आजभोलि एक दुई घरमा मानबहादुरजस्तै अन्य दुई तीनजनाले मात्र यो काम गर्दै आउनुभएको छ । धेरै घरमा ढोका ढकढक्याए पछिमात्र प्याङ देख्न पाइन्छ प्याङगाउँमा । जुन घरमा प्याङ भेटिन्छ त्यो घरमा मानबहादुरकै उमेर वयका वृद्ध देख्न सकिन्छ र यी सबै बनाउने काम उनीहरुले नै गरेका हुन्छन् । 

प्याङ बनाउँदै गरेका स्थानीय - तस्बिर  मेरो प्यारो " प्याङ्गाउँ " फेसबुक पेज

युवा पुस्ताले यसमा चासो देखाएको पाइँदैन । कुनै बेला यसैको नामबाट नामाकरण भएको बस्तीमा आजभोलि भने प्याङपाथी देख्न दुर्लभजस्तै भएको छ । 
‘बुढो मर्यो कुरो सर्यो’ भनेझैँ यी अहिले काम गरिरहेका केही सिपालु वृद्धहरुको निधनपछि भने प्याङगाउँमा प्याङ देख्न नपाइने खतरा बढेको महर्जन बताउनुहुन्छ ।

पुख्र्याैली पेशामा युवाको चासो कम हुनाका कारण

दुःख धेरै, कमाइ थोरै प्याङ बनाउन सहज छैन । पुस माघ महिनामा बाँस भएको ठाउँमा गएर ठूला तामाबाँस काट्नुपर्छ । त्यसपछि १५–२० दिन घाममा सुकाएपछि त्यसलाई विभिन्न आकार दिनुपर्छ । 

प्रक्रिया लामो धेरै दु:ख हुने र आम्दानी पनि दुःखअनुसारको नहुने भएकाले अहिलेका युवा पुस्ताको यस पेशाप्रति मोहभंग भएको चरसुन्दर महर्जन बताउनुहुन्छ । 

‘म सानो हुँदा पनि यहाँका धेरै जना पुुस माघमा कालेश्वर, गिम्दी, ठूला दुर्लुङलगायतका ठाउँसम्म पुगेर महिनौँ बाँस काट्ने, चोया निकाल्ने, प्याङ माना कुरुवा बनाउने काम गरेर फर्कनुहुन्थ्यो’, महर्जन सम्झनुहुन्छ, ‘हिजोआज जग्गा प्लटिङ हुन थाले, बाँसका झ्याङहरु मासिन थाले, बजारमा पाइने बाँस किनेर काम गनुपर्छ, त्यसैले पहिलेजति सामान बन्दैनन् ।’

जग्गाको मूल्य बढ्नु 

नेवारहरु जग्गाजमिनको माया गर्ने जाति हुन् । यहाँका सबै घरधुरीको प्रशस्तै जग्गा जमिन छ । प्याङगाउँकै पछाडिपट्टि चार पाचसय राेपनी बारीहरु छन् । त्यस बाहेक नजिकैका गाउँहरुमा सबैजसाेकाे जग्गा जमिन छ, जग्गा कमाउनेले कूत बुझाउँछन् । खान, लाउन कमी छैन । खर्चकै लागि पुरानाे र दु:ख गर्नुपर्ने बाँसकाे झञ्झटिलाे काममा मन नजानु स्वाभाविकै देखिन्छ ।

त्यसमाथि, पुर्खौँदेखि जोगाएर राखेको जग्गाको मूल्य आजभोलि ह्वात्तै बढेको छ ।  अलिकति जग्गा बेच्दा लाखाैँ रुपैयाँ आउँछ । ‘चार आना बेचे पनि राम्रै पैसा आउँछ । यस्तोमा नयाँ पुस्ताले किन दुख बेसाइरहनु पर्यो र?’ महर्जन भन्नुहुन्छ । 

मकैकाे थाँक्राे

बजारको अभाव

पहिले यहाँका एकाधबाहेकका अधिकांश व्यक्तिहरु कि त बाँसका काम गर्थे कि त घर बनाउने छाना छाउने डकर्मी सिकमीर्को काम गर्ने गर्थे । 

आसपासका गाउँमा बन्ने घरगोठ बनाउने, छाना छाउने, काठका काम गर्नेलगायतका कामहरु सबै यहाँकै व्यक्तिहरुले गर्ने भएकाले बाँसका प्याङ, माना, कुरुवालगायत यहाँ बन्ने सामानहरुको मुख्य बजार नै आसपासका गाउँहरु हुने गर्दथे ।

बनेका बाँसका सामानहरु केही वर्षअघिसम्म आसपासका गाउँहरु झरुवारासी लेले चापागाउँ ठेचोलगायत गोटीखेल मानिखेललगायतका बस्तीहरुमा लगभग घरघरै पाइन्थ्यो भने अन्य ठाउँहरुमा पनि बिक्री वितरण हुन्थ्यो । तर हिजोआज उत्पादन नै हुन लगभग छाडेपछि यी सामानहरु पछिल्ला पुस्ताले शायदैमात्र देख्न पाएको छ ।

पुराना घर हराए, अन्न नापेर साट्ने चलन छैन

समयअनुसार आसपासका क्षेत्रमा पुराना घरहरु हराउँदै गए । आधुनिक घरहरुमा यस्ता सामान सुहाउँदिला देखिन छाडे ।

त्यस बाहेक मानिसहरुले खेती गर्ने अन्न नाप्ने तथा लेनदेन गर्ने चलन पनि हराउँदै गयो । आजभोलि मानिसहरुले तयारी चामल दाल किन्ने गर्न थाले, अन्न राख्ने भाँडाकुडा पनि प्लास्टिक तथा अन्य धातुका पाइन थालेपछि कुनैबेला प्रत्येक घरमा अन्न राख्न र नापतौलका लागि नभइ नहुने माना पाथी प्याङको उपयोग हराउँदै गयो ।

प्याङ्गाउँकाे पुरानाे पाेखरी

प्याङगाउँमै पनि पहिलेको पुराना माटोले बनेका झिंगटी र खरले छाएका घरहरुको साटो हिजोआज आधुनिक घरहरु बन्न थालेका छन् । केही समय अघि एउटा गैरसरकारी संस्थाको पहलमा बाटोमा इँटा छापिएको छ । बस्तीभित्र गाडी गुड्छ । आजभोलि प्याङगाउ गाउँ पनि रहेन, शहरजस्तै भइसक्यो । त्यसैले त प्याङगाउँमा अहिले न प्याङ छ, न त गाउँ नै ।

सिकर्मी डकर्मी कामप्रति मोह

यहाँका अधिकांश बासिन्दाको मुख्य पेशा प्याङ माना बनाउने बाहेक डकर्मी सिकर्मीलगायतका काम हुन् । अघिल्लो पुस्ताका एकाध छोडेर सबैजना लेले झरुवारासी छम्पी ठेचोलगायतका छिमेकी गाउँहरुमा घर बनाउने छाना छाउने काठका कामहरु गर्ने गर्दथे । अहिले पनि अधिकांश (पढाइ अनुसारको जागिर खाने केही बाहेक) युवाहरु सिकर्मी डकर्मी काममा नै रमाउने गरेका छन् ।

दैनिक रुपमा राम्रो आम्दानी हुने र धेरै जोखिम पनि लिनु नपर्ने भएकाले प्याङ बनाउने दुखको साटो उनीहरु यही पेशा अंगालिरहेका छन् । आधुनिक घरहरु बन्ने क्रम बढेको र काम गर्ने ठाउँ पनि फैलिएकाले युवा पुस्ताको ध्यान परम्परा जोगाउनुपर्छ भन्नेतिर नगएको महर्जनको भनाइ छ ।

सजावटका रुपमा प्रयोग कुनैबेला स्थानीयका घरघरमा नभइ नहुने प्याङ पाथी लगायतका यहाँ बनेका सामग्री हिजोआज किनेर लैजानेले पनि सामान्य प्रयोगको साटो सजावटका सामानका रुपमा प्रयोग गर्ने गरेका छन् । 

यस्ता सामग्री किन्न प्राय शनिबार प्याङगाउँ पुग्ने अधिकांशले नौलो र अन्यत्र खासै नदेखिएका सामान भएकाले सजावटका लागि लाने गरेको मानबहादुर महर्जन बताउनु हुन्छ ।

कति पर्छ प्याङको?

मूल्य यति नै भनेर तोकिएको खासै पाइएन । ६ दशकभन्दा बढी यसै पेशामा बिताएका र अहिले ८१ वर्षको उमेरमा पनि यसलाई निरन्तरता दिइरहेका मानबहादुर महर्जन भन्नुहुन्छ, ‘अस्ति बाहिरबाट आएको मान्छेले पाथी जाने प्याङको हजार रुप्पे दियो, दुई मानाको चार सय अनि एक मानाको दुई सय रुप्पे पर्छ ।’
सामानको मूल्य निर्धारण गर्नमा वडा वा स्थानीय निकायले खासै चासो दिइएको पाइएन । किन्ने र बेच्नेबीच सहमति भएपछि  त्यही मूल्यमा विक्रिी वितरण गरिने गरेको पाइयो ।

प्याङलगायतका सामान

मूल्य आफैँमा सस्तो नभए पनि सबै काम हातले गरिएको र धातुको सामान जस्तो खिया नलाग्ने र हलुका हुने भएकाले सजावटकै लागि मात्र भए पनि यस्ता सामान किनिदिँदा श्रमको सम्मान पक्कै हुन्छ ।

परम्परा जाेगाउने प्रयास असफल

युवाहरुमा पुख्र्यौली पेशाप्रतिको सम्मान रहिरहोस् र ठाउँको नाम पनि नमरोस् भनेर चरसुन्दर महर्जनकै अगुवाइमा दुइ वर्ष अघि प्याङगाउँ संरक्षण समिति नामको संस्था खोलेर युवाहरुलाई तालिम दिइयो । त्यहाँ बनेका उत्पादनहरु पनि विक्री वितरण गर्न सुरु गरियो ।

यसमा वडा तथा नगरपालकिाले पनि राम्रै सहयोग गर्यो तर प्लास्टिकका भाँडाकुडाको बिगबिगी तथा उपभोक्ता पनि यस्ता सामानप्रति अभ्यस्त नभएकाले केही समयमा नै यो बन्द हुन पुग्यो र परम्परा जाेगाउने स्थानीयकाे प्रयास साेचे अनुरुप अगाडि बढ्न सकेन ।

कसरी पुग्ने प्याङगाउँ 

ललितपुरको लगनखेल बस स्टपबाट चापागाउँ वा लेले जानेमध्ये कुनै बस चढेर ४५ मिनट जतिमा प्याङगाउँ पुग्न सकिन्छ । आफ्नै साधनमा जान चाहनेले पनि लगनखेलबाट सातदोबाटोमा रहेको चापागाउँ दोबाटोबाट दक्षिण लागेर प्याङगाउँको यात्रा सुरु गर्न सकिन्छ ।

बन्दै गरेकाे प्याङगाउँ छिर्ने गेट

त्यहाँबाट खुमलटार, ढोलाहिटी, सुनाकोठी, धापाखेल, ठेचो र चापागाउँ बजार कटेपछि चापागाउँ बसस्टपका नामले चिनिने बसपार्कसँगै एउटा पुरानो पोखरी र सँगै वाणीविलास माध्यमिक विद्यालय छ । त्यही पोखरी र विद्यालयको उत्तर र पूर्वपटिट् एउटा बन्दै गरेको गेट देख्न सकिन्छ । त्यहीबाट बाटोको दायाँबायाँ केही पुराना केही नयाँ र केही मिश्रित तरिकाले बनेका घरहरु रहेको बस्ती भेटिन्छ ।

पराल सुकाइएकाे

यो मौसममा त्यहाँ पुग्दा बाटोमा पराल सुकाइएका, धानका बिस्कुन लगाइएका, घरका भित्ताहरुमा मकैका झुत्ता तथा लसुनका मुठाहरु झुण्ड्याइएका भेटिन्छन् ।

त्यसबाहेक लगभग अधिकांश घरको आगन वा छेवैमा मकैका थांग्रा देख्न सकिन्छ । साना चैत्य, भजन पाटी पनि बाटोको छेवैमा भेटिन्छन् । हाँस तथा कुखुराहरु पनि चरिरहेका भेटिन्छन् । त्यहाँ पुगेर प्याङपाथीका बारेमा सोधपूछ गरेपछि मात्र ठ्याक्कै कुन घरमा प्याङपाथी पाइन्छ भन्ने थाहा लाग्छ । 

 

 

प्रयाेग भएका केही तस्बिर साैजन्य: मेराे प्याराे प्याङगाउँ नामकाे फेसबुक पेज

 

अन्तिम अपडेट: चैत २५, २०७६

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया