सीमामा रहेको सोमेश्वर गढी : मूर्तिको फूलबारी !

 मंसिर ९, २०७६ सोमबार १४:४५:२२ | राधेश्याम खतिवडा
unn.prixa.net

माडी, चितवन - नेपाल र भारतको सिमानामा रहेको सोमेश्वर गढी आकर्षक मूर्तिले सजाइएकाे छ। माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ति विभागको संयुक्त प्रयासमा गढी छेत्रमा रहेका ढुङ्गामा मूर्ति कुँदिएको हो ।

नेपाल भ्रमण वर्ष २०२०का लागि १०० गन्तव्य भित्र परेको चितवनको माडी नगरपालिका वडा नम्बर मा पर्ने सोमेश्वर गढीमा ३३ जना मूर्तिकारले १८ दिन लगाएर मूर्ति बनाएका हुन् । माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरेर त्यस छेत्रमा रहेका ढुङ्गामा मूर्ति कुँदिएका छन् ।

गढी घुम्न जाने पर्यटकलाई आकर्षण गर्ने गरी नेपाल-भारत सीमामा पर्ने गढीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व दर्साउने खालका मूर्ति बनाइएको छ । गढीमा नेपाल-भारतको ४५ नम्बर सीमा स्तम्भ रहेको छ ।

गढीको फेदीदेखि सीमामै रहेको मन्दिर परिसरसम्म १५ सय मिटर दूरीमा ५० भन्दा बढी मूर्ति बनाइएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले सामरिक महत्वको रुपमा रहेको सोमेश्वर गढीको संरक्षण र पर्यटकका लागि आकर्षण बढाउन यो काम गरेको बताउनुभयो ।

सोमेश्वर गढीलाई मूर्तिको फूलबारी बनाएको बताउँदै उहाले यो गढीको विकासका लागि १ अर्ब ९ करोड रुपैयाँ खर्च हुनेगरी डीपीआर तयार भैरहेको जानकारी दिनुभयो ।

मूर्ति बनाउने कामको नेतृत्व गरिरहनु भएका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ति विभागका प्रमुख लालकाजी लामाले सोमेश्वर गढी मूर्ति संग्रहालय बनेको बताउनुभयो । देशभरिबाट छनौट गरी ल्याइएका मूर्तिकारहरुले बनाएका स्थायी मूर्ति एकै ठाउँमा हुनुले यो छेत्र मूर्तिको संग्रहालय भएको उहाँले बताउनुभयो ।

अन्तराष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागी भइसकेका मूर्तिकारहरुको बीचमा १८ दिन सँगै बसेर काम गर्दा एकापसमा अन्तरक्रियासमेत भएको उहाँले बताउनुभयो ।

गढी जाने बाटोमा रहेका ढुङ्गामा फलफूल, प्रेम, सुशासन, आदिवासी पहिचान, विज्ञान प्रविधि, वन्यजन्तु संरक्षणलगायत  देवी देवताको मूर्ति कुदिएका छन । माडी नगरपालिकाले यही कार्यक्रमका लागि २५ लाख रुपैयाँ खर्च गरेको छ ।

२ वर्ष अगाडिसम्म सीमामा रहेको यो मन्दिरमा उठेको दान भारतीय सुरक्षाकर्मीले लाने गरेका थिए । अहिले नेपालीले प्रयोग गर्न पाउने भएका छन् । सीमाको सुरक्षा र पर्यटकको आगमन बढाउन यो कार्यक्रम प्रभावकारी भएको नगरप्रमुख ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया