थुनुवा मृत्यु प्रकरण: डोटीका दुई प्रहरी जवान निलम्बित

 मंसिर १२, २०७६ बिहिबार १७:४:७ | विमल बिष्ट
unn.prixa.net

डोटी - जोरायल गाउँपालिका वडा नम्बर-१, गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत दुई प्रहरी निलम्बित भएका छन् ।

प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दीपक शामन्तलाई जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार निलम्वन गरेको हाे । गएकाे मंसिर ८ गते आइतवार जोरायल गाउँपालिका–४ घर भएर कैलालीको गोदावरी बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरी चौकीमा हिरासतमा रहेका बेला मृत्यु भएको विषयमा अनुसन्धान गर्न उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलिपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, दुई जना प्रहरी जवानविरुद्ध कुटपिट गरेर मारेको भन्ने किटानी जाहेरी परेकाले आवश्यक अनुसन्धान गर्नका लागि निलम्बन गरी छानबिन गर्दैछौँ ।

मृतका बुवा तिलक सिंंह पालीले प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दीपक शामन्तले प्रहरी हिरासतमा रहेको आफनो छोरा गणेशलाई कुटेर मारेकोे भन्दै उनीहरुका नाममा कर्तव्य  ज्यान शीर्षकमा किटानी जाहेरी दिएपछि त्यसकै सन्दर्भमा प्रहरी कार्यालयले दुवै जवानलाई पक्राउ गरी निलम्बन गर्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हाे ।

मृतक पाली डोटीको गैरा भन्ने ठाउँका उद्धव सिंंह सेठीको से १ ज २९२ नम्बरको जीपका चालक हुनुहुन्थ्याे । उहाँको शव बिहीबार डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो  ।

आरोपित प्रहरी जवानद्वयलाई पक्राउ गरी निलम्बन गरिएसँगै स्थानियवासीले बुधबारदेखि गैरामा गरेको बन्द समेत फिर्ता लिएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया