सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी विजयी

 मंसिर १४, २०७६ शनिबार २२:४३:२० | रासस
unn.prixa.net

सर्लाही - सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा आज वडाध्यक्षको लागि भएको उपचुनावमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम विश्वास रायले ३२८ मत ल्याउनुभएको छ भने नेकपाका उम्मेदवार दोस महम्मद अन्सारी पनि ३२८ मत ल्याएर पराजित हुनुभएको छ ।

राजपाका उम्मेदवार राम विश्वास राय र दोस महम्मद अन्सारीको समान मत रहेको छ । जनमत पार्टीका उम्मेदवार दिनेश यादवले ५२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार रामप्रित पासवानले २३ मत मात्र प्राप्त गर्नुभएको छ । १५ मत बदर भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

 निर्वाचित वडाध्यक्ष श्यामबाबु रायलाई प्रमाणपत्र प्रदान गरिसकेको उहाँले बताउनुभयो । वडाध्यक्षका लागि आज भएको उपचुनावमा झण्डै ८१ प्रतिशत मत खसेको थियो । एक हजार ३५६ मतदाता रहेकोमा एक हजार ९३ मत खसेको थियो । 

बिहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण रुपले साँझ ५ बजे सम्पन्न भएको थियो । चुनावका लागि दुईवटा मतदान केन्द्र तोकिएको थियो । मतदानका लागि क र ख गरी दुई वटा मतदान केन्द्र तोकिएको थियो । मतदानमा ५८८ जना पुरुष र ५७५ जना महिलो मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिनुभयो । 

तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष इसाक अन्सारीको मृत्यु भएपछि हरिपूर्वा– १ मा उपचुनावमा भएको हाे । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया