ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
डोटी – अपी र सैपालका सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । भारतको उत्तर प्रदेशका समथर फाँट देखिने अग्लो लेकाली क्षेत्र । फाँट र चुचुरा नियाल्दा संसारै बिर्सेको भान हुने त्यो ठाउँ हो, बडीकेदार ।
अटुट श्रद्धा र मनोकामना बोकेर बर्सेनि भारत र तराईका जिल्लाबाट तीर्थालु बडीकेदार मेला पुग्छन् । बडीकेदार गाउँपालिका-५ मा रहेको बडीकेदारमा फागुनमा महाशिवरात्री र कात्तिकको बैकुण्ठ चतुर्दशीमा हजारौँ तीर्थालुको भिड लाग्छ ।
‘महाशिवरात्रीभन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा भव्य मेला लाग्छ,’ बडीकेदार मेला व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर चन्दले भन्नुभयो, ‘त्रयोदशीको राति र चतुर्दशीको दिउँसो बडीकेदारको दर्शन गर्न भारत र तराईबाट भक्तजनहरु आउँछन् ।’
तराईबाट थारू समुदाय सात दिन हिँडेर पनि बडीकेदारको दर्शन गर्न आउँछन् । लेकाली जंगलको बीच भागमा बडीकेदारको शिला पुज्ने गरिन्छ ।
मनमोहक बडीकेदार
गाईबाच्छे डाँडामा दिउँसोको पारिलो घाममा बदाम खानेहरूको भिड लाग्छ । बडीकेदारको महिमाले ताजा श्वास र आँखाले विचित्र संसार हेर्ने अवसर जुराएको भारतको बरेलीबाट दर्शनका लागि ७ औँ पटक आउनु भएका रामबाबु कुरेसीले बताउनु भयो ।
उहाँ केदारबाबाका चार धाममध्ये डोटीको बडीकेदार प्राकृतिक सुन्दरतासँगै धार्मिकरूपमा शक्तिशाली भएकाले आफू बर्सेनि दर्शनका लागि आउने गरेको बताउनु हुन्छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको बडीकेदार दक्षिण डोटीको बडीकेदार गाउँपालिका र बोगटान गाउँपालिकाको दोसाँधमा पर्छ ।
बडीकेदारको अग्लो डाँडामा मनमोहक दृश्य अवलोकन गर्दा एकछिन भए पनि तनाव बिर्सेर नरमाउने बिरलै भएको बडीकेदार घाङ्गलका भैरव साउदले बताउनु हुन्छ । सिरसिरे हावासँगै सधैँ उही र उस्तै प्रकृतिको वातावरण रहने बडीकेदारको सुन्दरता मनोरम रहेको बडीकेदार ।
मनोकामना पूरा हुने विश्वास
जागिर र पदोन्नतिको वरदान माग्न पनि दर्शनार्थीहरू बडीकेदार पुग्ने गर्छन् । मनले इच्छाएको पूरा हुने विश्वासले तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका शहर लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट बर्सेनि कात्तिक बैकुण्ठ चतुर्दशीमा तीर्थालु आउने गरेको मुख्य पूजारी सिद्धराज बिनाडीले बताउनु भयो ।
‘शिलाको दर्शन र तिलकलाई प्रसादका रूपमा लैजान हजारौँको भक्ति भाव झल्कन्छ’, पुजारी बिनाडीले भन्नुभयो, ‘यो परम्परा वर्षाैँदेखि चल्दै आएको भए पनि हामीले धार्मिक आस्थाका रूपमा मात्र लियौँ, पछिल्लो समय पर्यटनसँग जोडिन लागेको छ ।’
त्यस्तै भारतको सिंगाईबाट ११ वर्षदेखि नियमितरूपमा दर्शनका लागि आउने ईश्वरकेश गुप्ताले आफ्नो धेरै मनोकामना पूरा भएको बताउनु भयो ।
बडीकेदारको महिमा
किम्वदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका थिए ।
त्यस समयसम्म बडीकेदारको सामान्य पूजाआजा हुने गरेको थियो । कात्तिक बैकुण्ठ चतुर्दशीका दिन एक जना स्थानीय गोठाला लेकमा निगालो काट्न जाँदा साथीभाइबाट छुट्टिए । उनी एक्लै रात बिताउन बाध्य भए ।
मध्यरातमा देवीदेवताहरू बडीकेदारको शिलामा आगो बालेर नाचगान गर्दै शिवको पूजा गर्न लागेको गोठालाले प्रत्यक्ष देखे । उनले देवीदेवताहरूले मन्त्र उच्चारण गरेको, भक्तिभाव गरेको सबैकुरा टिपेर स्थानीयलाई जानकारी गराए । त्यही बेलादेखि कात्तिक चर्तुदर्शीका बेला बडीकेदारमा पूजाआजा हुने गरेको स्थानीयबासीहरु बताउँछन् ।
अहिले पनि त्यही गोठालाले देखेको देवताहरूको नाचगान र भक्तिभजन झैँ स्थानीय गाउँहरूबाट धामी झाँक्री, भराणीहरू बयाल ल्याएर बडीकेदारमा दैवीशक्ति देखाउने गर्छन् ।
कसरी पुग्ने बडीकेदार ?
दिपायल–चवरा चौतारा– सिमचौरसम्म जिप सेवा सञ्चालित छ । त्यहाँबाट झण्डै चार–पाँच घण्टा पैदल हिँडेर बडीकेदार पुग्न सकिन्छ ।
त्यस्तै कैलालीको धनगढीबाट जान चाहनेका लागि अत्तरिया–सहजपुर–बिपीनगर हुँदै डोटीको अत्तरकाँडासम्म १०४ किलोमिटर बसको यात्रा गर्नुपर्छ । धनगढी बसपार्क र अत्तरियादेखि दैनिक चार वटा बस जान्छन् । अत्तरकाँडाबाट तीन घण्टाको पैदलयात्रापछि बडीकेदार पुग्न सकिन्छ ।
बडीकेदार बोगटान क्षेत्रको मात्रै नभइ तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका नागरिकको आस्थाको केन्द्र पनि हो । केदारकै नामबाट बडीकेदार गाउँपालिका हो । यो मेलालाई अपासी सद्भावको मेलाको रुपमा पनि मानिने गरेको स्थानीयवासी गणेश बमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिमेकी देश भारतसहित नेपाली दाजुभाइसँंग भेटघाट र जमघट हुने भएकाले यो मेला आपसी माया र ममता साट्ने केन्द्र भएको छ ।’
भौतिक पूर्वाधार, सडकको स्तरोन्नति भएमा यो ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउन सकिने बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खड्कबहादुर बोहराले बताउनु भयो ।
बडीकेदारको अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यमले महत्वका साथ प्रचारप्रसार तथा पालिका चुनावमा नेकपाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरको पहलमा केही भौतिक पूर्वाधार निर्माण भएको छ ।
बडीकेदारको विकासका लागि गुरुयोजना बनाएर काम गर्न सके बडीकेदार समग्र सुदूरपश्चिम प्रदेशसहित देशकै प्रमुख पर्यटकीय र धार्मिकस्थलका रुपमा स्थापित हुनसक्ने बडीकेदार गाउँपालिका १ का रोजबहादुर कलेलको भनाइ छ ।
शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडीकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात् भिरको बीचमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।