'उज्यालो' समाचार प्रभाव : निमित्त प्रमुख प्रशासकीय अधिकृत फिर्ता भए

 पुस २८, २०७६ सोमबार १२:१०:६ | विमल बिष्ट
unn.prixa.net

डोटी – सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचारले कत्तिकाे प्रभाव पार्छ भन्ने गतिलाे उदाहरण डाेटीमा देखिएकाे छ ।   

विषयगत शाखाका प्रमुखहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा जनताका सेवा प्रभावित भन्ने विषयमा उज्यालो रेडियोको बुलेटिन तथा उज्यालो अनलाइनमा प्रकाशित/प्रसारित समाचारको प्रभाव देखिन थालेको छ ।

सेवा प्रभावित भएकाे समाचार प्रकाशित/प्रसारित भएपछि दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी पहिलेकाे सिलगढी सव डिभिजन वन कार्यालयमा फिर्ता गरेको छ ।

तत्काललाई दिपायल सिलगढी नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ्गलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । 

प्रमुख प्रशासकीय अधिकृत पदपूर्तिको लागि मन्त्रालयमा माग गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी डाेटीका अन्य पालिकाहरुले पनि मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतकाे स्थायी पदपूर्ति गर्नको लागि पत्राचारसहित पहल गरिरहेका छन् । 

डाेटीका नौ वटा पालिकाअन्तर्गत बडीकेदार र आदर्श गाउँपालिकाबाहेक सबै पालिकामा निमित्तको भरमा कामकाज सञ्चालित हुँदै आएको छ ।

अहिले डोटीकाे दिपायल सिलगढी नगरपालिकामा शाखा अधिकृत खेमराज गुरुङ्ग, शिखर नगरपालिकामा शाखा अधिकृत धर्मराज विनाडी, पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, केआईसिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायत, वोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सुचिकार र जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खत्रीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेका छन् । 

नयाँ सङ्घीय संरचनामा जिल्लामा रहेकाे विषयगत कार्यालयको अधिकार र जिम्मेवारी पालिकामा हस्तान्तरण गरिएको छ । समायोजनका कारण पालिकाका विषयगत शाखामा कर्मचारीको अभाव र विषयगत शाखाको प्रमुखलाई पालिका प्रमुखको जिम्मेवारी दिँदा विषयगत शाखाको कार्यक्रम गुणस्तरहीन भएको भन्ने सेवाग्राहीको गुनासो आएको थियो ।

नयाँ संरचनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तरकाे र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृतस्तरको हुनु पर्ने व्यवस्था छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Birendra Saud

    Jan. 13, 2020, 8:22 p.m.

    के.अाइ. सिह मा सुनिल ठकुल्ला प्र.प्र.अधिकृत छन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया