डोटी अस्पताललाई सुविधा सम्पन्न बनाउँछु : मुख्यमन्त्री भट्ट

 माघ १, २०७६ बुधबार ११:२३:३९ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुविधा सम्पन्न अस्पताल बनाउने बताउनु भएको छ ।

बुधबार जिल्ला अस्पताल डोटीको निरीक्षण भ्रमण गर्नु हुँदै मुख्यमन्त्री भट्टले अस्पतालमा विभिन्न सुविधा थप गरी सुविधा सम्पन्न बनाउने बताउनु भएकाे हाे ।निरीक्षण भ्रमणका क्रममा उहाँले भन्नुभयो, 'जिल्ला अस्पतालमा थप सेवा सुविधा गरी, नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने तयारीमा छौँ, अस्पताल चाँडै सुविधा सम्पन्न हुने छ ।'

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल डोटीमा नयाँ चिकित्सकसहित थप सेवा प्रवाहका लागि अस्पतालको स्तरोन्नति गरिने बताउनु भयो ।

जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीले समस्या भाेग्नु परेकाे गुनासाे बढेपछि मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीले संयुक्तरुपमा अस्पतालको निरीक्षण गर्नु भएको हो । निरीक्षणका क्रममा उहाँहरुले अस्पतालको अप्रेसन थिएटर, अस्पतालमा जडान भएका उपकरण तथा अस्पतालमा भर्ना भएका बिरामीहरुको बारेमा जानकारी लिनु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनु भयो ।

जिल्ला अस्पताल डोटीसहित जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा कुल दरबन्दीको १३ प्रतिशत स्वास्थ्यकर्मीहरुको अभाव रहेकाे छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लाका नौ पालिकाका ५९ स्वास्थ्य संस्थाहरुमा कुल तीन सय आठ दरबन्दीमध्ये अहिले दुई सय ६७ मात्रै पदपूर्ति रहेको छ ।

चिकित्सक समायोजनामा डोटीबाट अन्यत्रै रोज्नेको सङ्ख्या धेरै भएको र डोटी आउनेको सङ्ख्या कमी भएका कारण जिल्लामा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो ।

डाेटीमा स्वास्थ्यकर्मी अभाव भएसँगै स्वास्थ्य सेवा लिन निकै समस्या हुँदै आएको बडीकेदार गाउँपालिका १ का रोजबहादुर कलेलले बताउनु भयो । उहाँले भन्नुभयो, 'स्वास्थ्य संस्थामा चिकित्सक छैनन्, उपचार गर्नका लागि कैलाली, कञ्चनपुर जानु पर्ने अवस्था छ ।'

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया