साेलुखुम्बुमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो : दर्जनौँ सवारी साधनमा आगजनी

 माघ ४, २०७६ शनिबार १७:५९:४९ | सुवास दर्नाल
unn.prixa.net

सोलखुम्बु - सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयाेजित कार्यक्रममा गोली चलेको छ ।

कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । 

मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए ।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा-सल्लेरी फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् । 

तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो । 

तर प्रसारण लाइन सबस्टेसनबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका-११, तिङ्लामा सहमति अनुसार विद्युतलाइन विस्तार नगरी वडा नम्बर-८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्न लागेको कारण आफूहरुले विरोध गरेको उनीहरुले बताएका छन् । 

स्थानीय बासिन्दाको मागलाई प्रशासनले बेवास्ता गरेपछि झडप भएको तिङ्लाका स्थानीय बालकुमार कार्कीले बताउनुभयो । तिङ्लावासीको विरोधका कारण प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया