केन्द्रीय प्रसारण लाइन उद्घाटनको विरोधमा तिङ्गला बन्द, ठाउँ–ठाउँमा रुख ढाल्दा सडक अवरुद्ध

 माघ ५, २०७६ आइतबार ११:३९:४४ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्गलाका स्थानीयले आइतबार तिङ्गला बन्दको घोषणा गरेका छन् ।

तिङ्गलालाई बेवास्ता गर्दै केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रमको पत्तालेबाट गर्न लागेको भन्दै उनीहरुले अनिश्चितकालका लागि तिङ्गला बन्दको घोषणा गरेका हुन् ।

हाइड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङ्गला भए पनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरि उद्घाटन गर्न लागेकाले आन्दोलन गरिएकाे उनीहरुको दाबी छ ।विरोधमा प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् भने बाटोमा टायर बालेर बसेको स्थानीय निर कुमार नेपालीले जानकारी दिनु भयो ।

सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट काठमाण्डाै तथा जिल्ला बाहिरिने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । तिङ्गलाका शैक्षिक संस्था तथा कार्यालय पनि खुल्न सकेका छैनन् ।    

सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेबाट सङ्घीय सांसद हेमकुमार राईले शनिबार सोलुखुम्बुलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने कार्यक्रमको उद्धघाटन गर्ने तय भएकाे थियो । कार्यक्रम उद्घाटनमा अतिथिहरु जाँदै गर्दा झडप हुँदा ११ वटा मोटरसाइकल र एउटा बोलेरो जीप जलाइएका थिए ।

उद्घाटन कार्यक्रमको विरोधमा तिङग्लावासीले बिहीबार नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सल्लेरीमा ज्ञापन पत्र नै बुझाएका थिए । उनीहरुले कार्यक्रम बहिष्कार गरेर शनिबारदेखि नै तिङ्गला बन्दको आह्वान गरेका थिए ।   

उद्घाटन कार्यक्रम विफल भएपछि पत्रकार सम्मेलनमा बोल्दै सङ्घीय सांसद हेम कुमार राईले विकासविरोधी तत्वहरुले जनतालाई उत्तेजित पार्दा घटना हुन पुगेको आरोप लगाउनु भयाे । उद्घाटनपछि दुई वर्षभित्र साेलुखुम्बुका सबै क्षेत्रमा विद्युतीकरण विस्तार गर्ने योजना भए पनि विकासमा राजनीति हावी हुँदा यस्तो स्थिति सिर्जना भएको सांद राईको दाबी छ ।

तिङ्गलावासीको मागप्रति आफूहरु सकारात्मक भए पनि केहि जनप्रतिनिधिहरुले विकासमा राजनीति गरेकाे राईकाे आराेप छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया