अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
प्रायः भान्सामा महिला नै खटिन्छन् । भान्सामा जो खटिन्छ पानीको पहिलो आवश्यकता पनि उसैलाई हुनु स्वभाविक हो । पानी सकिएपछि कसरी ल्याउने भन्ने पहिलो चिन्ता महिलालाई हुन्छ ।
शहरको अवस्था केही फरक भए पनि धेरैजसो गाउँघरमा पानीको जोहो गर्न महिलाहरु खटिन्छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फर्नबोर्ड) को जीविका विज्ञको रुपमा विभिन्न गाउँमा जाँदा मैले देखेको कुरा गरेकी हुँ, जुन हामी महिलाले भोगिरहेको समस्या हो ।
कतिपय गाउँमा एक गाग्रो पानी ल्याउनका लागि बिहान उज्यालो नहुँदैै महिलाहरु डोकामा गाग्रो राखेर गुन्गुनाउँदै हिँडेको पनि देखेकी छु । कुवा वा धारोमा पानी थाप्न लाइन बस्नुपर्ने, पाहुना आउँदा पानी दिनसमेत अनकनाउनु पर्ने जस्ता समस्या धेरै गाउँमा भोगिएका छन् । झिसमिसेमै पँधेरामा जाँदा महिलाहरु लडेका, सर्प तथा जङ्गली जनावरको आक्रमणमा परेका, कतिपयले यौन हिंसा भोग्नुपरेकाे खबरहरु सार्वजनिक भइरहेका छन् । पानीको सहज उपलब्धता नहुँदा महिलाले यस्ता समस्या भोग्नु परेको छ ।
सरकारको तथ्याङ्कमा ८८ प्रतिशत नेपालीले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । तर धेरै ग्रामीण बस्ती विशेष गरी सुख्खायाममा पानीको चरम सङ्कट भोगिरहेका छन् । कतिपय ठाउँमा पिउने बाहेकको पानी पनि अभाव हुन्छ । वस्तुभाउलाई खुवाउन, करेसाबारीमा सिँचाइको लागि प्रयोग गर्न पानीको अभाव हुने गरेको छ । सिँचाइको समस्या धेरै छ तर महिला केन्द्रित समस्याका कुरा गर्दा करेसाबारीमा सिँचाइदेखि घरमा प्रयोग तथा पशुचौपायलाई खुवाउने पानी अगाडि आउँछ ।
हरेक घरमा स्वच्छ खानेपानीको धारा पुर्याउन सकेमा महिलाहरुले भोग्न बाध्य यी समस्या समाधानसँगै जीविका सुधारका लागि समेत सहयोग पुग्छ । फनबोर्डमा जीविका विज्ञका रुपमा काम गर्दा पुगेको आयोजना क्षेत्रमा देखेका र भोगेका कुरा गर्दा महिलाको चौतर्फी विकासमा पानीले भूमिका खेल्छ भन्ने लागेको छ ।
समय बचत
हामी पुगेको आयोजना क्षेत्रमा कतिपय ठाउँमा पानीको धारा घरमा जोडिएकै कारण एक जना महिलाको तीन घण्टासम्म समय बचत भएको छ । बिहानै उठेर पानी लिन जाँदा घरमा खाना पकाउने, सरसफाइ गर्ने लगायतका काम प्रभावित हुने गरेका थिए । घरमै पानी आएपछि पानी लिन जाने समयमा महिलाहरुले घरका अरु काम भ्याएका छन् ।
सरसफाइ
अहिले पनि धेरैजसो घरमा सरसफाइको पहिलो जिम्मेवारी महिलाको काँधमा छ । अनि सरसफाइ र पानी एक अर्कामा परिपूरक छन् । एउटा कुरा महिलाले पानी बोक्न खर्चनु परेको समय बचत भएपछि त्यो समयलाई सरसफाइमा प्रयोग गर्न पाएका छन् । भुइँ लिपपोत तथा पुछपाछदेखि कपडा धुने, भाँडा माझ्ने, चर्पी सफा राख्ने लगायतका काममा पानीको प्रयोग हुन्छ ।
टाढाबाट बोकेर ल्याएको पानीले सरसफाइका यी काम गर्न पानी पर्याप्त हुँदैन । मिलाएर गर्ने हो । तर घरमै रहेको धारामा पानी आइरहँदा पानीको पर्याप्त प्रयोग गरेर सरसफाइका काम भइरहेका छन् । म पुगेको ठाउँका धेरै महिलाहरुले घरसँगै बनाइएको धारामा पानी आएपछि आफ्नो घर तथा घरका सदस्यको व्यक्तिगत सरसफाइमा सुधार आएको बताएका छन् ।
आयआर्जनका काम
घरायसी काममा खटिने महिलाहरुसँग आम्दानीको स्राेत थोरै मात्र हुन्छ । घरको काममा व्यस्त भए पनि आम्दानी नहुँदा महिलाको कामलाई काम नठानेको पाइन्छ । घरको कामबाट केही समय मिलेमा पनि महिलाहरुले आम्दानी हुने काम गर्न पाएका हुँदैनन् ।
तर घरमै पानीको धारा बनाएपछि महिलाहरु थोरै भए पनि आम्दानी हुने काममा खटिएका देखेको छु । पानी प्रयाप्त भएपछि खसीबाख्रा, कुखुरा पाल्न सजिलो भएको छ । धाराको पानी प्रयोग गरेर तरकारी लगायतका नगदेबाली लगाएका छन् । यसबाट महिलाले पनि आम्दानी गर्न थालेका धेरै उदाहरण मैले विभिन्न गाउँमा जाँदा देखेकी छु ।
पोषणमा सुधार
कतिपय गाउँमा अहिले पनि मन लागेको बेला मासु खान पाइँदैन । तर महिलाहरुले जब कुखुरा, सुँगुर तथा खसीबोका पाल्न थालेका छन् । यसबाट घरमा मासुको प्रयोग हुन थालेको छ । अण्डा तथा हरियो तरकारी पनि पर्याप्तरुपमा खान थालेका छन् । कसैले घरमा उत्पादन गर्छ भने उसले प्रयोग पनि गर्ने हुँदा महिला तथा बालबालिका लगायत समग्र परिवारकै पोषणमा सुधार भएको पाइन्छ । केही ठाउँमा बिक्री गरेर आम्दानी पनि भइरहेको हुन्छ । तर बजार नभएका ठाउँमा पनि उत्पादन घरमा प्रयोग गर्दा किन्ने खर्च जोगिएको तथा पोषणमा सुधार भएको पाइन्छ ।
क्षमता विकास
फनबोर्डले आफ्ना योजना क्षेत्रमा महिलाहरुलाई प्राथामिकता दिएर समूह बनाउँछ । जुन समूहले आयोजनाको रेखदेख, मर्मत तथा तथा दीगो प्रयोगका लागि काम गर्छन् । त्यस्ता समूहलाई बिउ पुँजीको रुपमा थोरै रकम पनि दिइन्छ, त्यसमा उनीहरुले मासिक सामान्य रकम सङ्कलन पनि गर्छन् ।
यस्ता क्रियाकलापमा सहभागी हुँदा महिलाको क्षमता विकास समेत भएको देखेकी छु । हुन त अहिले गाउँघरमा अरु किसिमबाट पनि जागरणका काम भएका छन् । तर पानीसँग महिलाको सम्बन्ध ज्यादै नजिक रहने भएकोले पानीको साइनो जोडेर काम गर्दा महिलाहरुको सक्रियता धेरै भएको देखेकी छु ।
पानी सबैका लागि आवश्यक छ । यसले जात, धर्म, लिङ्ग केही भन्दैन । तर पनि पानीकाे सम्बन्ध महिलासँग धेरै छ । अहिले पनि धेरै घरको काम महिलाकै काँधमा रहिरहेको सन्दर्भमा पानीको सम्बन्ध महिलासँग धेरै जोडिएको हो । समयमा बालबच्चालाई खाना खुवाएर विद्यालय पठाउनेदेखि मेलापात तथा कार्यालय जानेहरुको लागि समयमा खाना पकाउने जिम्मा महिलाले लिएका हुन्छन् । पानी नहुँदा पाक्ने कुरै भएन । त्यसैले पानीको जोहो गर्नको लागि मध्यरातदेखि नै महिलालाई चिन्ता सुरु हुन्छ ।
यदि सबैको घर नजिकैको धारामा पानी पुर्याउन सकेमा महिलाहरुले पानीको चिन्ताबाट मुक्ति पाउँछन् । घरमा समयमा खाना पाक्छ । बालबालिका समयमा खाना खाएर विद्यालय जान पाउँछन् । भाँडा, भुइँदेखि चर्पीसम्म सफा हुन्छ । धित मरुञ्जेल पानी पिउन पाइन्छ । गाउँघरमा कुखुरा, खसीबाख्रा तथा करेसाबारीमा हरियो तरकारी तथा फलफूल उत्पादन हुन्छ । त्यसैले आम नागरिकको घरमा पानीको धारा पुर्याउन सबै पक्ष जुट्नुपर्छ ।
(ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फर्नबोर्ड) का जीविका विज्ञ संगीता गिरीसँग भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गिरी ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फर्नबोर्ड) की जीविका विज्ञ हुनुहुन्छ ।