टुँडिखेलमा सेना दिवस मनाइँदै

 फागुन ९, २०७६ शुक्रबार ७:२३:३० | रासस
unn.prixa.net

काठमाण्डाै - सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको उहाँ परमाधिपति हुनुहुन्छ ।

नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । यस दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा हुनुहुन्छ ।

सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठानिक स्वरूपको १८१९ सालदेखि सुरुवात भएको हो ।

देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखि सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न  सफल भएको छ ।

सैनिक वीरपूर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहने गर्छ ।

 नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तिस जातिको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुदैगएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । अहिलेसम्म एक लाख २९ हजार ८९० सैनिकबाट योगदान भइसकेको छ । 

 विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६५ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा पाँच हजार ९५ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पाँचौँ स्थानमा छ । 

विश्वका अत्यन्त शक्तिशाली देशका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीमा रहेकाे आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कर्याैँ देशका सैनिक सहभागीले यसलाई पुष्टि गर्छ ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाण्डाै तराई मधेश द्रुतमार्गको काम भइरहेको छ । 

दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युतत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ । मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया