सर्वदलीय बैठक : 'काेराेना राेकथाम गर्न एकजुट हाेऔँ'

 फागुन २९, २०७६ बिहीबार ८:५०:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दलले ‘कोभिड–१९’ रोकथामका लागि पूर्वतयारीलाई तीव्रता दिन सरकारलाई सुझाव दिएको छ ।

कोभिड–१९ अर्थात् काेराेना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली काङ्ग्रेसले कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । 

बैठकबारे जानकारी दिँदै नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि सबै क्षेत्रले एकीकृत ढङ्गबाट कदम चाल्न सरकारलाई सुझाव दिएको बताउनुभयो । कोरोना प्रभावित देशबाट नेपाल आउने नागरिकलाई कम्तीमा १४ दिन ‘क्वारेन्टाइन’मा राख्ने व्यवस्था गर्नुपर्ने, अस्पतालको सुविधा सुधार गर्नुपर्ने, हवाई र स्थलमार्ग हुँदै आउने व्यक्तिको जाँचलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमण रोकथाम र प्रवेश हुन नदिने विषयलाई नै सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिनुभयो । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठनले नै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जनाएको सन्दर्भमा त्यसलाई राष्ट्रिय शक्ति एकजुट भएर कसरी सामना गर्ने भन्ने विषयमा बैठक केन्द्रित रहेको जानकारी दिनुभयो । 

समितिका संयोजक तथा उपप्रधामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपस्थित थिए । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँड, राष्ट्रिय जनता पार्टीको तर्फबाट नेता राजेन्द्र महतो, समाजवादी पार्टीबाट सहअध्यक्ष श्रेष्ठ र सरकारका मन्त्रीहरुको सहभागिता थियो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया