कोरोना उपचारको लागि चितवनमा विशेष अस्पताल बन्दै

 चैत ५, २०७६ बुधबार १९:१०:१९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - ‘मेडिकल सिटी’को रुपमा विकसित हुँदै गएको चितवनको भरतपुरमा कोरोनाको रोकथाम र सङ्क्रमणपछिको उपचारलाई सहज बनाउन जिल्लाका सरोकारवालाहरुले सक्रियता देखाएका छन् । त्यसका लागि  कोरोनालक्षित स्पेशल टाक्स फोर्स गठन भएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स गठन गरिएको हो । यस्तै, ७० बेड क्षमताको विशेष अस्पताल तयार गरिँदैछ । 

कुल ७० बेडमध्ये ५० वटा जनरल, १० वटा सघन कक्ष (आइसीयू) र अपाङ तथा अशक्तका लागि १० वटा एचडियु बेड रहने छन् । ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिने छ ।  

भरतपुरमा रहेकाे चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पतालको रुपमा परिणत गर्न थालिएको छ । विशेष अस्पताल आउँदो चैत ७ गते शुक्रबारदेखि सञ्चालन गर्नेगरी काम भइरहेको छ । 

जिल्लामा कोरोना सङ्क्रमणको सम्भावित अवस्थालाई ख्याल राखेर प्रदर्शनी केन्द्रलाई विशेष अस्पतालमा परिणत गर्ने निर्णय गरिएको महानगरपालिकाकी प्रमुख दाहालले बताउनुभयो । 

विशेष अस्पतालको लागि आवश्यक पर्ने उपकरण जुटाउन प्रदेश सरकारबाट समेत बजेट माग गरिने र केही उपकरण जिल्लाका अस्पतालबाट सहयोग जुटाइने छ । चितवनमा कोरोनाका शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने छ । 

देशकै मध्यभागमा पर्ने चितवनका धेरै स्थानबाट बिरामी आउने अवस्थालाई मध्यनजर गरी विशेष अस्पताललाई रिफरल अस्पतालको रुपमा सञ्चालित गरिने भरतपुर अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीको भनाइ छ । 

प्रदर्शनी केन्द्र चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले यसलाई अस्पतालको लागि छनौट गरिएको हो । चितवन मेडिकल कलेजले अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ । अस्पतालको गेटबाट तापक्रम नापेर अस्पतालको मुख्य भवनमा नलगी पछाडि रहेको ओपीडीमा परीक्षण गर्ने तयारी गरिएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया