देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन : सार्वजनिक गाडी र हवाईसेवा बन्दको जानकारीदेखि सतर्क रहन सुझाव

 चैत ७, २०७६ शुक्रबार १९:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कृत्रिम अभाव गर्ने गराउनेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने बताउनु भएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो ।

सार्क काेषमा १० कराेड रुपैयाँ

सम्बाेधनका क्रममा उहाँले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणकाे लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भयाे । 

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पहलमा केही दिनअघि भएकाे सार्क देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुकाे भिडि‌ओ कन्फेरेन्सकाे क्रममा सार्क काेष स्थापना गरिएकाे थियाे । 

आनीबानी र सरसफाइमा ध्यान दिन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसजस्तो महामारीविरुद्ध बाँच्न सजिलो नभएकाले आफ्नो आनीबानी र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

देशवासीका नाममा विशेष सम्बोधन गर्ने क्रममा उहाँले सकेसम्म घर बाहिर ननिस्कन र साबुन पानीले बारम्बार हात धोइरहन आग्रह गर्नुभयो । यस्तै यो भाइरसबाट आतंकित नभइ उच्च सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयाे ।

 सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयाे, 'तपाइँहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु– ‘सरसफाईमा उचित ध्यान दिनुहोस्, साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस्, भीडभाडबाट टाढै रहनु होस्, सकेसम्म घरमै बस्नुहोस्, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस्, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्, धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस् र सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

 प्रधानमन्त्री ओलीले कोरोना भाइरसको आंशका भए घरमै स्वयं क्वारेन्टाइनमा बस्न पनि सकिने बताउनुभयो ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले यस्ताे अवस्थामा हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ भन्ने विश्वास लिएको बताउनुभयाे ।

लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको बताउँदै चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने जानकारी दिनुभयो । ्

सीमामा कडाइ तथा स्वास्थ्य जाँचको व्यवस्था

सम्बाेधनमा सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने बताउनुभयाे ।

साथै देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक बाहेकका सरकारी सेवा घरबाटै प्रभाव गर्न सकिने बताउनु भएको छ ।

उहाँले घरबाटै गर्न सकिने सेवा घरबाटै गर्ने व्यवस्था मिलाइएको तर अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीले भने नियमित रुपमा कार्यालयमा गएर काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावबारे अर्थमन्त्रालयले सूक्ष्म तरिकाले अध्ययन गरिरहेको बताउनुभयो ।

यस्ताे छ पूर्ण पाठ

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kamal Gyawali

    March 21, 2020, 5:58 a.m.

    सेवा गर्नेहरु र पाउनेहरु दुबै थरी संकटको घडिमा नि:स्वार्थ, सकारात्मक र संबेदनशील भएर मानवताको रक्षामा कटिबध्द भैइदिए पुग्छ । ज्यादातर सरकारी सुबिधा राजनीतिक पहुँच भएकाहरुको हातमा बढी पुग्ने गर्छ अन्य उपेक्षित हुने गर्छन् । सेवाप्रदायक ब्यक्तिहरु संस्थागत उद्येश्य प्रति कटिबध्द भैदेउन । जनचाहनाको प्रतिबिम्ब बनुन।

  •  0 Reply

तपाईको प्रतिक्रिया