विनम्र अनुरोध – घरमै बस्नुस् !

 चैत १४, २०७६ शुक्रबार १६:३९:४ | डा. प्रदीप ढकाल
unn.prixa.net

‘बाबु ! घर आउ, बरु छुट्टै कोठामा बसौँला,’ बिरामी वृद्ध बाबाको आवाज कानमा गुञ्जिन्छ । सानो छोरो फोनमा भन्छ, ‘बाबा ! तिमी किन घरमा नआएको ?’ श्रीमती भन्छिन्, ‘घर आउनुस्, केही हुँदैन ।’ आमा भन्नुहुन्छ, ‘घरमा बसे भइहाल्छ नि । त्यस्तो कोरोना सोरोनाले केही गर्दैन ।’ तर मलाई थाहा छ – अहिलेको समय भावनाले चल्ने समय होइन । म पशुपतिमा काम गर्छु । धेरै मानिसहरुसँग भेटघाट हुन्छ ।

विदेशबाट आएकाहरु घर जानुभन्दा पहिला भगवानको दर्शन गर्न आउने ठाउँ यही हो । अन्तिम संस्कारमा भाग लिन आउने ठाउँ पनि यही हो । सम्वेदनशील छ यो क्षेत्र । परेवा, बाँदर, बाख्रा, भेडा र मृगदेखि कुकुरसम्मको संरक्षण गर्नका लागि यही क्षेत्रमा रहनुपर्छ । कर्तव्य सम्झेर मलाई घर जान मन लाग्दैन ।

अफिस र कार्यक्षेत्रमा जाँदा मास्क लगाउँछु, हात धुन्छु । अरु व्यक्तिसँग केही दूरीमा रहने कोसिस गर्दछु । तर कर्म गरिरहँदा पनि फैलिन सक्ने किटाणुको एउटा सम्भावित शिकार म पनि त हुँ नि । यो सोचेर म वृद्ध बुवाआमा र बच्चाहरुको समीप जान सक्दिनँ ।

कम्तीमा ३ घन्टादेखि ७२ घन्टासम्म कोरोना भाइरसको किटाणु जीवित रहन्छ भन्ने तथ्यहरु आइरहेका छन् । एक सङ्क्रमित व्यक्तिको अर्को व्यक्तिसँग हिमचिम नहुनु नै यो रोगबाट बच्न सकिने पहिलो आधार हो । कतिपयको रोग प्रतिरोधात्मक क्षमताको कारण यो किटाणुले असर नगर्ला र त्यो व्यक्तिले थाहै नपाइकन यसको असर पनि सिद्धिएला ।

सग्लो मानिस केही दिनमा पूर्णरुपमा टुटेर मृत्यु पनि भएको त हामीले सञ्चार माध्यमबाट थाहा पाइरहेकै छौँ । त्यसैले आज स्वस्थ छु भनेर सरकारले गरेको ‘घर बाहिर ननिस्किनू’ भन्ने आह्वानलाई नटेरेर बाहिर भिडभाडमा निस्किनु भनेको हामीले आफू र आफ्नो परिवारको मात्र होइन, देशकै भविष्यमाथि पनि खेलवाड गर्नु हो ।

अहिले कुनै राष्ट्र धनी वा कुनै गरिब भन्ने तुलना नै छैन । यो महामारीले सबैको हैसियत एउटै बनाइदिएको छ । व्यवस्थापन चुस्त रुपमा कसले कति गर्न सक्छन् भन्ने मात्र हो । त्यसैले राज्य र राज्य संयन्त्रलाई गाली गरेर आफ्नो कर्तव्य पूरा हुन्छ भन्ने मुर्खता पनि नगरौँ । अहिलेको कर्तव्य भनेको सबै जना अलग अलग रहौँ । घरबाहिर ननिस्किऔँ ।

धुलो र धुवाँ खाएर हिलोमैलोमा हुर्केको हुनाले हामी नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ भन्ने हाम्रो भ्रम आधारहीन छ । हामीले हाम्रो प्रकृतिमा भएका जडीबुटी, जैविक रुपमा शुद्ध खाद्यान्न खाएर योग र ध्यान गरी सन्तुलित जीवनपद्धति अपनाएको भए हाम्रो तर्कको केही अर्थ हुने थियो । हामी यो भ्रमबाट मुक्त होऔँ  

राज्यले चाहेको तपाईं हामी सबै घरमै बसौँ भन्ने नै त हो । हो, आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराउनु राज्यको दायित्व हो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट त्यो प्रयास पनि जारी नै छ । राज्यले अहिले हामीबाट धेरै कुराको अपेक्षा गरेकै छैन । तुलबुल तुलबुल नगरी चञ्चल नभई घरमा बसिदिए पुग्छ ।

हाम्रो घरबसाइ नै राज्यप्रति र मानवताप्रति गरेको ठूलो कर्तव्य हो । राज्यको आग्रह लत्याउनु भनेको मृत्युलाई स्वीकार गरेर लखरलखर सडकमा हिँड्नु हो । सुन्दा अप्रिय लाग्छ । तर अहिले सावधानी नअपनाउनेहरु र राज्यको आग्रहलाई अवज्ञा गरेर रमाउनेहरु आफ्ना लागि मृत्यु स्वीकार गर्ने बहादुर हुन् भने अर्को अर्थमा अरुको जीवन लिन खोज्ने अपराधी हुन् । हातमा तरबार लिएर अरुमाथि जाइलाग्ने क्रूर अपराधीभन्दा खतरनाक हुन सक्छन् अवज्ञा गर्नेहरु ।

अहिले सग्लो छु भन्ने भ्रम पालिरहँदा कुन पलमा टुटेर ढल्छु भन्ने हेक्का नभएका अज्ञानी मुर्खहरु हुन् । मेरै कहानी सुनाउँछु । ९ दिनपछि हिजो म घर गएँ । मेरो वृद्ध र रोगी बाबा भन्नुहुन्छ, ‘छोरो आउ, म नजिकै बस । मेरो छोरो भन्छ, ‘बाबा ! तिमी कागती पानी र मह खाउ, कोरोना भागिहाल्छ ।’ तर म न त बाबाको नजिक बस्न सक्छु न त छोरोलाई काखमा राख्न सक्छु । छुट्टै कोठामा बसेपनि कहीँ कतैबाट त सम्पर्क भइ नै हाल्छ । त्यसैले बाहिर काम गर्न जाने म केही दिन घरमा नजाँदा नै उत्तम ठानेको छु ।

बाहिरै हुँदा पनि म सावधानी अपनाउने गर्दछु । म यो समयमा छुट्टी मनाउन घरमा बस्न मिल्दैन । मैले मेरो कर्तव्य गर्नुपर्छ । घरमै बस्ने सुविधा पाएको भए म पनि घरका सदस्यहरुसँग भलाकुसारी गर्दै, सानो छोरोसँग खेल्दै समय बिताउँथेँ । पढ्न मन लागेका पुस्तकहरु पढ्थेँ ।

ए साथी ! तपाईंले जब समय पाउनुभएको छ भने किन तुलबुल र चञ्चल हुनुहुन्छ ? घरमै बस्नु न हो । राज्य र मानव समाजप्रति हामी सबैले दिनसक्ने यो शताब्दीको सबैभन्दा ठूलो योगदान भनेको केही दिन घरमा बसिदिनु हो । विनम्र अनुरोध – घरमै बस्नुस् ! घरमै बस्नुस् !! घरमै बस्नुस् !!!

अन्तिम अपडेट: चैत १३, २०८०

डा. प्रदीप ढकाल

डा. प्रदीप ढकाल पशुपति क्षेत्र विकास काेसकाे सदस्य सचिव हुनुहुन्छ ।

1 Comments

  • Arjun Rajbhandari

    March 28, 2020, 10:39 a.m.

    डा. साहेब अहिलेको परिस्थितिमा पशुपति मन्दिर र वरिपरि भयेका परेवा बादर मृग गाई साढेहरु भोकभोकै छ्न तिनिहरुलाइ खानाको ब्यबस्था गर्नु पर्ने देखियो।यसतर्फ पनि ध्यान जावस

  •  0 Reply

तपाईको प्रतिक्रिया