कोरोनाले मानव पदचाप समातेर विश्व भ्रमण गर्दैछ

 चैत १५, २०७६ शनिबार १५:१९:५० | बद्री अर्याल
unn.prixa.net

कसैले कल्पना नगरेको, कसैले सिर्जना नगरेको, कोही दोषी नभएको र कसैलाई दोष दिएर कोही उम्कन नमिल्ने महामारीको पीडाबाट विश्व आक्रान्त छ । यहाँ कुनै राज्य विशेषले गरेको नियन्त्रणले यो नियन्त्रित हुनेवाला छैन । तर यसबाट बच्न हरेक व्यक्ति आफैँमा सजग र सतर्क हुनुपर्छ । 

यो व्यक्ति व्यक्तिबाट फैलिने र व्यक्ति व्यक्ति मिलेर नियन्त्रण गर्न सकिने भएकोले सामाजिक उत्तरदायित्वसहितको व्यक्ति एकात्मकताको अनुपम सिद्धान्त यस महामारीले पढाएको छ । 

महामारीले कुनबेला कसलाई टपक्क टिपेर लैजाने हो पत्तो छैन । हरेक मानिसलाई म कति सुरक्षित छु भन्ने थाहा छैन । आफ्नै आँखाअगाडि आफन्तले दर्दनाक मृत्युवरण गरेको पीडा सहेर बाँच्नुपरेको छ ।

प्राण त्याग्दै गरेको आफन्तलाई सेवा गर्न पाउनु त कहाँ हो कहाँ, देख्न पनि दुर्लभ या भनौँ निषेध छ । कति जना आफैँ बेहोस छन् ।

आफ्नो संस्कारअनुसार आफन्तको अन्त्येष्टि गर्न पाइएको छैन । अन्तिम संस्कार बिना कहाँ, कस्तो अवस्थामा र कुन खाल्टोमा आफ्नो मान्छे पुरिएको छ पत्तो छैन । बाँचेर बस्नेलाई बाँचुन्जेल यो घिट्घिटो रहिरहने छ । यस दुःखद घडीमा नेपाली मात्र होइन, सम्पूर्ण विश्व नै त्राहिमाम् बनेको छ ।

कोरोना भाइरस कुनै देशको भूगोलमा देखिएपनि, कुनै निश्चित भूभागबाट सुरु भएपनि यसले मानव पदचाप समातेर विश्व भ्रमण गरिरहेको छ । मानिससँगै विश्व डुलेको छ । यसबाट पीडित नबनेको देश भेट्न गाह्रो छ । यसले मात्र तीन महिनामा संसार डुलेको छ । 

सरकार छ, सरोकार छैन 

भूमण्डलीकरणले साँघुरिएको विश्व र आधुनिकताको कठपुतली बनेको मानव मस्तिष्क ! विश्वविजयी महामारीबाट नेपाल पनि अछुतो छैन । आधुनिकताको पगरी हामी नेपालीले पनि गुथ्न खोजेका छौँ ।

हामी प्रगतिवादीभन्दा ज्यादा प्रतिक्रियावादी बन्न उत्साहित हुने गरेका छौँ । जसको कारण हामी अग्रगामीभन्दा पश्चगामी सोचतिर बढेका छौँ । अनि त्यसलाई पुष्टि गर्न कुतर्कको आड लिने गरेका छौँ र यो सोच नै देशको अवच्छिन्न प्रगतिको बाधक बनेको छ र बनिरहने छ ।

हाम्रो देशको त कुरै अर्को छ । देशमा सरकार छ, सरोकार छैन । सरकारमा, सरकारको नेतृत्व गर्ने व्यक्तिमा तथा सरकारमा रहेका व्यक्तिहरुमा कुनै जिम्मेवारीबोध देखिँदैन । नेतृत्वको अनुहारमा कुनै भरोसा गर्न लायकको छवि नै छैन । भरोसायुक्त व्यवहार पनि देखिँदैन ।

प्रधानमन्त्री बिमार हुनुहुन्छ । देश पनि बिमार छ । कुनै कामको योजना सरकारसँग छैन । ठेकेदारले आफ्नो अनुकूल बनाएको योजना नै राज्यको योजना बन्छ । ठेकेदारअनुकूल नभएको काममा जनता हेरेको हेर्यै हुन्छन् ।

संसारमा महामारी बनेको कोरोना भाइरसले चाइनाबाट आएका एकजना नेपालीलाई समातेको पौष २४ गते नै पुष्टि भयो । आइसोलेसन कक्षमा राखियो । तर खै देशमा सरकार देखिएको ? सरकारले दुई महिना दश दिन के हेरेर बसेको ? उता महामारीले विश्व खाइसकेको छ । करिब अढाई महिनापछि मात्र हतारमा समिति बन्यो । त्यसमा पनि दम देखिँदैन । संयोजक तथा स्वास्थ्य मन्त्रीमा दम्भ मात्र देखिन्छ ।

स्वास्थ्य मन्त्रीले ‘घरमा पाहुना आ’छन्’ भन्नु र उपप्रधानमन्त्रीले ‘कोही २१ दिन भन्छन्, कोही १४ दिन । कोही नलगा त कोही लगा भन्छन् । हामीले जे गर्यौं गर्यौं ।’ भन्नुको पछाडि यस्तै आभास हुन्छ ।

जनता कहरमा छन् र अनुशासित देखिएका छन् । सरकारको निर्देशनभन्दा आफ्नो स्वास्थ्य ज्यादा हेरेका छन् आम नागरिकले ।

विसं २०४६  र  २०६२/६३ सालमा सरकारले लगाएको कर्फ्युमा आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने र सत्ता पल्टाउने पुस्ता हो यो । यो चेतना होस् । त्यसैले यो मजाक गर्ने बेला होइन ।

यो राज्यले आचारविचार र व्यवहारको पुनर्निर्माण गर्ने बेला हो । नैतिकता र अनुशासन सिकाउने बेला हो । सद्विचार र सत्चरित्र सिकाउने बेला हो । देश जनता र समाजप्रतिको दायित्व सिकाउने बेला हो र सिक्ने बेला पनि हो ।

नागरिकहरु आफ्नो घरभित्र बसेका छन् भनेर ढुक्क हुने बेला छैन । घर नहुने र एउटा कोठामा कोचिएर बस्नेको पीडा अझ अर्कै छ । 

अभाव र उकुसमुकुस

अब दिनदिनै अभाव महसुस हुँदै जान्छ । त्यसै त उकुसमुकुस बढ्न थालिसक्यो । अझ त्यसमा अभाव थपियो भने के होला !

एकआपसमा ‘इरिटेसन’ बढ्दै जान्छ । अनि घरमा श्रीमानदेखि श्रीमतीलाई रिस र झर्को तथा श्रीमतीदेखि श्रीमानलाई रिस र झर्को हुने कुरा नकार्न सकिँदैन । त्यसरी छोराछोरीमा हुँदै गए र समाजमा सर्दै गए राज्यमा पुग्न कति बेर लाग्ला र !?

जनताको कहरमा राज्य सचेत हुनैपर्छ । अन्यथा कुनै दुर्घटना भए भोलि पश्चातापबाहेक केही रहन्न । 

अन्तिम अपडेट: चैत १४, २०८०

बद्री अर्याल

अर्याल धादिङका काँग्रेस नेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया