‘लकडाउन’को कारण अलपत्र परेका ३ सय श्रमिकलाई घर पठाइयो

 चैत १५, २०७६ शनिबार १२:३१:५ | विमल बिष्ट
unn.prixa.net

डोटी–कैलाली जिल्लाको सहजपुरदेखि डोटीको बोगटान जोड्ने सडकमा अलपत्र परेका श्रमिकहरुको उद्दार गरिएको छ । 

सरकारले गरेको ‘लकडाउन’को कारण सहजपुर–बोगटान सडकमा  काम गर्ने कम्तीमा ३ सय श्रमिकको डोटीबाट निर्र्वाचित संघीय सांसद् प्रेमबहादुर आलेमगरको पहलमा शुक्रबार उद्दार गरी आआफ्नो घर पठाइएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामको लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपाउँदा श्रमिकहरु अलपत्र परेका थिए ।

उनीहरुलाई सांसद आलेमगरले गृह मन्त्रालयसँग समन्वय गरी उद्दार गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उद्दार गरिएका श्रमिकहरु आआफ्नो गृह जिल्ला पुगिसकेका छन् ।

सांसद आलेमगरले सरकारले ‘लकडाउन’ गरेपछि त्यस सडकमा काम गर्ने श्रमिकहरु खाद्यान्न अभावमा समस्यामा परेको खबर आफूले पाएपछि गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित ठाउँमा पठाउन पहल गरेको बताउनुभयो । 

गृह मन्त्रालयको आदेशमा १६ वटा टिप्परलाई पास उपलब्ध गराएर श्रमिकहरुलाई सम्बन्धित जिल्ला जानका लागि अनुमति दिइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । 

‘सहजपुर–बोगटान सडकमा श्रमिक अलपत्र परेको र पास अनुमतिका लागि माननीय प्रेमबहादुर आलेमगरले गृह मन्त्रालयमा पहल गर्नु भएको रहेछ ।

गृहबाट पास दिनू भन्ने आदेश आएपछि हामीले जिल्लाबाट पास दिएर घर जाने अनुमति दिएका छौँ,’ पौडेलले भन्नुभयो । 

उद्दार गरिएका श्रमिकहरु सुदूरपश्चिमको बझाङ जिल्लादेखि प्रदेश १ को इलामसम्मका रहेको बताइएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया