‘लकडाउन’मा हुनसक्छ पेट र मुटुको समस्या : आहार, विहारमा ध्यान दिउँ

 चैत २६, २०७६ बुधबार १५:४०:४४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ–घरभित्रै बसेर १५ दिन बित्यो । बाँकी ७ दिन यसैगरी बिताउनुपर्नेछ । ‘लकडाउन’को बेला बाहिर हिँडडुल गर्न सरकारले रोक लगाएको छ । त्यसैले यो बेला धेरैजसो मानिस परिवारसँगै छन् । अरु बेलाकोजस्तो हतारो पनि छैन । भान्सामा पाक्दै गरेको खाना दुई गाँस टिपेर स्कुल, अफिस या अरु काममा कुद्नु पर्दैन । ढुक्कसँग थरीथरीका परिकार बनाउन र परिवारसँगै बसेर खान रमाइलो नै भएको छ । 

कोरोनाविरुद्ध लड्ने शक्ति बढाउन भन्दै अहिले कतिपयले असन्तुलित रुपमा खाने गरेको तर खानपिन र शारीरिक व्यायाममा ध्यान नदिँदा मुटुरोगको जोखिम उच्च रहेको डाक्टरले बताएका छन् । यो बेला शरीरमा समस्या देखिए अस्पताल जान समेत सहज नभएकोले आहार, विहार र विचारमा ध्यान दिन मुटुरोग विशेषज्ञ डाक्टर कृष्णकुमार श्रेष्ठको सुझाव छ । 

पेट र मुटुमा कस्ता समस्या देखिन सक्छ ? 

‘लकडाउन’का बेला घरभित्रै बस्नुको विकल्प छैन । ‘लकडाउन’ भनेर घरमै बस्ने तर अरु बेलाभन्दा बढी खाने गरिएको छ भने समस्या सुरु हुने डाक्टर श्रेष्ठले बताउनुभयो । ‘यो बेला अरु काममा ध्यान नहुने भएपछि खान मन लाग्ने, के खाउँ के खाउँ भैरहने हुनाले आवश्यकताभन्दा धेरै खाइन्छ,’ उहाँले भन्नुभयो, ‘अपच हुनेगरी खाने, पर्याप्त पानी नपिउने र व्यायाम नगर्ने भएपछि पेटमा समस्या देखिन्छ । त्यही पेटको समस्याले अरु समस्या देखिन थाल्छ । पेट र मुटु फरक अङ्ग भएपनि खानपान नमिलेपछि मुटुको समस्या देखिन सक्छ ।’ 

घरमै बसेर दिन कटाउनुपरेकोले बढी चिल्लो, पिरो, अमिलो र नपाकेको खानेकुरा नखान तथा मादक पदार्थ सेवन नगर्न डाक्टरको सुझाव छ । पेट र मुटुलाई असर नपर्नेगरी खानेकुरामा ध्यान दिनसके अरु जटिलता समेत नहुने डाक्टर श्रेष्ठले बताउनुभयो । उहाँ पेटबाट नै मुटुसम्बन्धी रोगका लक्षण देखिने बताउनुहुन्छ ।

‘खानपानमा हेलचेक्र्याइँ गर्दा छातीको बिच भागमा दुख्छ । छातीमा दुखाइ हुनु धेरैले हृदयघातको लक्षणका रुपमा बुझ्ने गरेका छन् । यो बुझाइले थप गाह्रो हुन्छ,’ मुटुरोग विशेषज्ञ श्रेष्ठले भन्नुभयो, ‘यसअघि नै मुटुरोग भएकाहरुलाई अझ बढी जोखिम हुन सक्छ ।’ 

मुटुरोगका लक्षणहरुः

१) देब्रतिर छातीको बिच भागमा दुख्ने, २) मुटुको धड्कन अर्थात चाल बढ्दै जाने, ३) सास फेर्न अप्ठ्यारो हुने, घाँटीमा थिचेजस्तो अनुभव हुनु, ४) पेट, हात, खुट्टा सुन्निनु, ५) रिङ्गटा लाग्नु र बेहोस हुनु ।

यी लक्षणहरु देखिए मुटुरोगको अनुमान गर्न सकिने तर मुटुरोग नै हो भनेर थाहा पाउन जाँच गर्नुपर्ने डाक्टर श्रेष्ठको भनाइ छ । मुटुरोगको जोखिमबाट जोगिन आहार, विहार र विचारमा मुख्य ध्यान दिन उहाँको सुझाव छ । साथै सन्तुलित खाना, सागपात, भिटामिन सि र पानीमा जोड दिनुपर्छ । 

मुख्य सुझावहरुः

१) साधारण खाना दाल, भात र तरकारी खाने, २) नुन कम खाने, ३) चिल्लो, पिरो, अमिलो बढी नखाने, ४) सुगरको मात्रा बढाउने खानेकुरा कम खाने, सके चिनी नखाने, ५) पशुजन्य बोसो र जाँडरक्सी नखाने, ६) बाहिर हिँडडुल गर्न नसकेपनि घरमा व्यायाम गर्ने, ७) अनावश्यक तनाव नलिने ।

डाक्टर श्रेष्ठले मुटुमा समस्या देखिए जथाभावी औषधि खान नहुने भन्दै तत्काल अस्पताल पुगेर जाँच गर्न आग्रह गर्नुभयो । यसअघि जाली हालेका र ढाडको अप्रेसन गरेका बिरामीलाई बढी जोखिम हुने भएकोले ध्यान पुर्याउन पनि उहाँको सुझाव छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • Indira karki

    April 9, 2020, 7:41 a.m.

    धन्यबाद राम्रो कामको लागि

  •  0 Reply

तपाईको प्रतिक्रिया