कोभिड-१९ को आशंकामा बुधबारसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण : मन्त्रालय

 चैत २६, २०७६ बुधबार १७:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस कोभिड १९ को आशंकामा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ ।

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका बाहिर ४ सय एक जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षण गरेकामध्ये ९ जनामा कोरोनाको पुष्टि भएको र ती मध्ये एक जना उपचार पछि निको भइसकेका जनाएको छ । ८ जनाको अहिले उपचार भइरहेको छ ।

अहिले १ सय ३४ जना आइसोलेशनमा उपचाररत रहेका स्वास्थ्य मन्त्तालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै देशभरका क्वरेन्टीनमा अहिले ८ हजार ५ सय ८० जना जना रहेका पनि प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।

यस्तै कार्यविधि बनाएर देशभरका सबै ठाउँमा कोरोना रोकथामका लागि काम भइरहेको जानकारी उहाँले जानकारी गराउनुभयो । कोभिड १९ को रोकथामका लागि आवश्यक तयारी, पूर्व रोकथाकमा लागि अपनाउनुपर्ने उपाय, कोरोना सङ्क्रमितको उपचार तथा उनीहरुको निधन भएमा कसरी दाहसंस्कार गर्ने भन्ने बारे कार्यविधि बनाएको जानकारी दिनुभयो ।  

सशस्त्र प्रहरी बलको असपतालमा बिरामीलाई राख्ने तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाको बढी जोखिम रहेका कैलाली, कञ्चनपुर र बाग्लुङबाट १९८ जनाको नमुना संकलन गरिएको छ ।

उनीहरुको स्वाब र र्यापिड किटमार्फत नमुना संकलन गरी परीक्षणका लागि काठमाण्डौ ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, लकडाउनमा पनि केही ठाउँमा भिडभाड र मेला भइरहेको गुनासो आएकाले संकटको यो बेला भिडभाड नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्बन्धित पालिकाहरुलाई भिडभाड नगर्न र नगराउन कडाईका साथ अनुगमन गर्न पनि आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Ramesh sharma

    April 8, 2020, 6:07 p.m.

    यसरी त सबैको परिक्षण गर्न १० बर्ष लाग्छ है । कछुवाको गति भन्दा नि कम भयो । क हामी १० बर्ष सम्म Lock down मा नै बस्नी हो र??

  •  0 Reply

तपाईको प्रतिक्रिया