‘लकडाउन’मा सरकारले बेच्यो ६ हजार चुल्हो, १२ हजार क्विन्टल खाद्यान्न

 चैत ३०, २०७६ आइतबार १२:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काडमाण्डौ–'लकडाउन'को कारण धेरै क्षेत्र अस्तव्यस्त भएको छ । व्यापार व्यवसाय चौपट भएको छ । तर नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भने ‘लकडाउन’ फलिफाप भएको छ । कम्पनीले करोडौं रुपैयाँको व्यापार गरेको छ । उसले नागरिकको मन जित्ने काम गरिरहेको छ । अनलाइनमार्फत घरघरमा सामान पर्याउने सम्भवतः पहिलो सरकारी कम्पनी पनि बनेको छ । 

सबै चुल्हो सक्यो 

भारतले नाकाबन्दी लगाएर नेपालमा ग्यासको हाहाकार भएपछि चीन सरकारले बि.स. २०७२ सालमा १२ हजार थान इन्डक्सन चुल्हो अर्थात विद्युतीय चुल्हो नेपाल सरकारलाई दिएको थियो । तत्कालीन नेशनल ट्रेडिङ कम्पनीले एउटा चुल्होको मूल्य १२ हजार रुपैयाँ राखेको थियो । बजार मूल्यभन्दा निकै महँगो भएको भन्दै नागरिकले किनेनन् । झण्डै ८ हजार चुल्हो त्यहीबेलादेखि हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा थन्किएका थिए । 

मूल्य घटाएर ४ हजार रुपैयाँमा झार्दा पनि बिक्री भएको थिएन । तर ‘लकडाउन’ घोषणा भएपछि चुल्हो बिक्री हुन थाल्यो । ‘लकडाउन’को यस अवधिमा ६ हजार ६ सय थान इन्डक्सन चुल्हो बिक्री भयो । अहिले कम्पनीको गोदाममा चुल्हो सकिएको छ । चुल्हो बिक्रीमार्फत मात्रै कम्पनीले २ करोड ६४ लाख रुपैयाँ कमाएको छ । 

‘हामीकहाँ भएको सबै पुरानो इन्डक्सन चुल्हो सकियो । थप चुल्हो किन्नेबारे छलफल गरिरहेका छौं । अब बजारमा आक्रमक ढङ्गले उपस्थिति जनाउने हो ।’ कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले भन्नुभयो । कम्पनीसँग इन्डक्सन चुल्हो हुँदा निजी क्षेत्रमा धेरै कालोबजारी हुन नपाएको र उनीहरुमा सरकारी हस्तक्षेपको डर बढेको खनालको भनाइ छ ।

१२ हजार क्विन्टल खाद्यान्न बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ‘लकडाउन’ अवधिभर १२ हजार क्विन्टल खाद्यान्न बिक्री गरेको छ । छाक टार्न मुस्किल भएका मजदुरका लागि सरकारले राहत वितरण गर्ने निर्णय गरेपछि धेरै स्थानीय सरकारले कम्पनीकै दाल, चामल किनेपछि व्यापार बढेको नायब महाप्रबन्धक खनालले बताउनुभयो । यस्तै काठमाण्डौ उपत्यकाबाहिरका ३५ वटा बिक्री केन्द्र, काठमाण्डौ उपत्यकाका पाँच स्थान तथा ट्रकबाट घुम्ती सेवामार्फत पनि कम्पनीका खाद्यान्न बिक्री भैरहेको छ ।

अहिलेसम्म ११ हजार पाँच सय क्विन्टल चामल र पाँच सय क्विन्टल दाल बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीले चामल बेचेर साढे पाँच करोड रुपैयाँको हाराहारीमा आम्दानी गरेको छ । यस्तै दाल बेचेर ६० लाख रुपैयाँ आम्दानी गरेको छ । 

अनलाइनमार्फत बिक्री

गएको बुधबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत खाद्यान्न बिक्री सुरु गर्यो । वेभसाइटमा आएको ‘अर्डर’का आधारमा चक्रपथभित्र ‘डेलिभरी’ शुल्क नलिनेगरी उसले बिक्री सुरु गरेको छ । अनलाइनमार्फत घरमै सेवा पर्याउने यो सम्भवतः नेपालको पहिलो सरकारी कम्पनी बनेको छ । ‘होम डेलिभरी’को सुविधालाई चक्रपथबाहिर पनि बिस्तार गर्न र ‘लकडाउन’पछि सामान्य अवस्थामा पनि जारी राख्न कम्पनीले पहल गरिरहेको छ । 

‘सरकारी कार्यालयमा जागिर खान आएका हामी कर्मचारीले व्यापार गर्नुपर्ने भयो । व्यापार गर्नुपर्ने भएपछि थप प्रभावकारी बनाउनेतर्फ सबैको सोच गएको छ ।’ नायब महाप्रबन्धक खनालले भन्नुभयो । 

‘नेपाल फुड’को नाममा बिर्तामोडबाट स्टिम चामल ल्याएर बिक्री थालिएको र अब तेल र साबुनलगायतका सामग्री पनि बेच्ने कम्पनीले जनाएको छ । ‘व्यवसायिक कार्ययोजना बनाउन प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्ताव छनौट गरेर त्यसैअनुसार काम गछौँ र कम्पनीलाई थप बलियो बनाउँछौँ ।’ खनालले बताउनुभयो । सरकारी निकाय भएकोले सेवासँगै व्यापारमा पनि थप योजना ल्याउने कम्पनीको तयारी छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • विष्णु हमाल

    April 12, 2020, 1:13 p.m.

    अति राम्रो काम आगामी दिनहरुका सामान्य परिस्थितमा पनि यस्तै कार्य गर्न सके जनताले राहत महसुश गर्नेछन्।

  •  0 Reply
  • Giri Prasad Gyawali

    April 12, 2020, 12:59 p.m.

    बिधुतिय चुल्हो को लागि रुपन्देही मा कहाँ सम्पर्क गर्ने??

  •  0 Reply

तपाईको प्रतिक्रिया