४७ हजारलाई राहत बाँडिसक्यौँ, भोको नराख्ने जिम्मा लिन्छौँ : काठमाण्डौका मेयर

 बैशाख ६, २०७७ शनिबार १८:५२:२१ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - सरकारी निकायले अत्यावश्यक बाहेकका आवतजावत ठप्प पार्न लागिपरेको छ । हिजो बेलुका मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक आवतजावतलाई पूर्ण रुपमा रोक्न र अप्ठ्यारोमा परेका नागरिकलाई खान बस्नको प्रबन्ध गर्न निर्देशन समेत दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशनपछि काठमाण्डौ छोडेर हिँडेकाहरु बीचमै रोकिएका छन् । उनीहरुलाई आवश्यक व्यवस्थापनको जिम्मा सम्बन्धित क्षेत्रकै स्थानीय सरकारलाई गर्न भनिएको छ । 
त्यस्तै काठमाण्डौ उपत्यकाभित्र अति विपन्न वर्ग, असहाय, मजदुर र विद्यार्थीहरु समस्यामा परेका छन् ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिम रोक्न लकडाउनलाई पूर्ण कार्यान्वयन गर्नुको विकल्प नरहेको सरकारको दावी छ । काठमाण्डौ उपत्यका नगरपालिका फोरमले समेत मजदुरलाई उपत्यका नछाड्न आग्रह गरेको छ । फोरमका अध्यक्ष एवं काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको पूर्ण कार्यान्वयन गरी जो जहाँ छ, त्यहीँ नै सुरक्षित बस्न आग्रह गरिएको र अप्ठ्यारोमा परेकालाई खान बस्न कुनै असहज नहुने बताउनुभएको छ । 

हटलाइनमा सम्पर्क गर्न आग्रह

काठमाण्डौ उपत्यकाभित्र दुईवटा महानगरपालिकासहित १८ वटा नगरपालिका छन् । काठमाण्डौ उपत्यका नगरपालिका फोरमको बैठकले समस्यामा परेकाहरुलाई हटलाइन नम्बर ११३१ र ११८० मा निःशुल्क सम्पर्क गरी समस्या राख्न समेत भनेको छ । काठमाण्डौ महानगरपालिकामा ११८० र ललितपुर महानगरपालिकामा ११३१ नम्बर सञ्चालन गरिएको छ । 

कसैलाई पनि भोको नराख्ने संयुक्त प्रतिबद्धताअनुसार काम थालिएको र यी दुई हटलाइन नम्बरमा आएका गुनासाको समेत सम्बोधन भइरहेको मेयर शाक्यले बताउनुभयो । कुनै पनि व्यक्तिलाई भोको रहन नदिने भन्दै कोही त्यस्तो भोकै रहने अवस्था छ भने तत्काल सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो । मेयर शाक्यले सम्पर्कमा आउने जो कसैलाई पनि सम्बन्धित नगरपालिकाको वडा कार्यालयबाट राहत वितरण गर्ने जानकारी दिनुभयो । शाक्यले भन्नुभयो,’ हामी अप्ठ्यारोमा परेका उपत्यकाबासी सबैको जिम्मा लिन्छौँ र व्यवस्थापन पनि गर्छौँ ।

काठमाण्डौ नछोड्न सुझाब

मेयर शाक्यले लकडाउनको बेला कसैलाई पनि काठमाण्डौ उपत्यका नछोड्न अनुरोध गर्नुभएको छ । यसअघि धेरै नागरिकले काठमाण्डौ छोडेर पैदलै घर गएको विषयमा मेयर शाक्यले उनीहरु किन, कसरी र कहाँबाट गएको भन्ने बारेमा जानकारी नभएको बताउनुभयो । तर साँच्चै उनीहरु भोको रहने स्थिति भएर हिँडेको हो भने अहिले लकडाउनको अवस्था भएकाले सुरक्षित साथ काठमाण्डौमै बस्न आग्रह गरिएको बताउनुभयो । 

उहाँले रोजगारीको अवसर नभएको यो बेला कोही पनि व्यक्ति भोको नरहुन् भन्ने जनप्रतिनिधिसहित सबैको उद्देश्य रहेको बताउनुभयो । नगरपालिका फोरमले पनि उपत्यकाभित्र रहेका कोही पनि व्यक्ति भोको नरहुन् भनेर आवश्यक व्यवस्था गरेको उहाँको भनाइ छ । त्यति हुँदाहुँदै पनि केही व्यक्ति विभिन्न कारणले काठमाण्डौ छोडेर बाहिर गएका छन् भन्ने खबरमा ध्यानाकर्षण भएको भन्दै मेयर शाक्यले त्यसपछि काठमाण्डौ छोडेर बाहिर नजान बाँकी सबैलाई आग्रह गर्दै आएको बताउनुभयो ।

‘लकडाउनको बेला कोही पनि बाहिर ननिस्कुन् भन्ने उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘सबै आआफ्ना घरमा सुरक्षित साथ रहौँ ।’ कोही उपत्यकाबासी बाहिर फसेको भएपनि सुरक्षित त्यहीँ बस्न अनुरोध गरेका छौँ ।’

४७ हजारलाई राहत 

लकडाउन सुरु भएदेखि महानगरभित्र ४७ हजार जनालाई राहत बाँडेको मेयर शाक्यले जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधिले राहत वितरणमा कुनै भेदभाव नगरेको समेत बताउनुभयो । ‘राहत वितरणमा विभेद भयो भन्ने टिकाटिप्पणी गलत छ,’ उहाँ भन्नुभयो, ‘विभिन्न पेशा व्यवसायमा रहेका ४७ हजारले राहत लिएका छन् । तर काठमाण्डौ महानगरपालिकाभित्रै स्थायी रुपमा बसोबास गर्ने नागरिक एक प्रतिशत पनि छैनन् । अझ कतिपयलाई वडा सदस्य र अध्यक्षले चिन्नुहुन्न र पनि सबैलाई समान रुपमा वितरण गरेका छौँ ।’ 

उहाँले नेपाली मात्र नभएर अप्ठ्यारोमा परेका विदेशी नागरिकको पनि जिम्मा लिएको बताउनुभयो । लकडाउनको बेला घरधनी होस् या डेरामा बस्ने या विदेशी नागरिक जो भएपनि खाना र बस्न समस्या भएकालाई भोकै नराख्ने भन्दै उहाँले त्यस्तो समस्या भएका जो कोही व्यक्तिले काठमाण्डौको हकमा काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडा कार्यालय, ललितपुरमा ललितपुर महानगरपालिका र भक्तपुरमा पनि सम्बन्धित पालिकाका वडा कार्यालयमा सम्पर्क गर्न सक्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • Saraswati Thapa

    April 18, 2020, 7:26 p.m.

    खोइ यहाँ हाम्रो क्षेत्रमा वडामा बस्ने धेरै छन् , हल्काफूलका दिए होला , नत्र आवश्यक पर्नेले पनि पाएका छैनन , कम दिने र आफ्नैले पाउने धेरै देखियो...अवस्य सबैले पाउन भन्न आशा छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया