नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ - प्रहरीको डर । स्थानीयको डर । कतै कसैले देखिहाल्छ कि भनेर जङ्गल र खोला किनारको बाटो हुँदै गाउँ फर्किनेहरुको लस्कर ।
गाउँ र टोल भएर हिँड्न पाइँदैन । कोरोना बोकेर आएको भन्दै गाउँलेहरुले खेद्छन् । बाटोमा देख्नै हुन्न । प्रहरीले लाठीचार्ज गरिहाल्छ ।
उनीहरुको आँखा छल्दै डरले भागेर जङ्गल र खोलानालाको बाटोभन्दा सजिलो अन्त लागेन यात्रीहरुलाई । र त यसैगरी भागिरहेका छन् गाउँ फर्किनेहरु ।
सबै मानिस एउटै हुँदैन । लामो बाटो हिँडेर दुःख पायो भन्दै कतिपयले पानी खान दिन्थे । सबै प्रहरी पनि एउटै हुँदैन । कतिपयले बाटो देखाइदिन्थे । बाटोमा आएको गाडीलाई रोकाइदिन्थे ।
यस्तै दुःख कष्ट सहेर गाउँ पस्नेहरु कोही गन्तव्यमा पुगिसके । कोही अझै हिँडिरहेका छन् । आखिर किन त ?
दुःख पर्दा, एक्लो हुँदा सबैले सम्झने भनेको घरपरिवार र आफन्त नै हो । अहिले यस्तै आपत्मा परेका छन् हजारौँ नेपालीहरु ।
कोरोना भाइरसभन्दा मनको भाइरसले पीडित छन् धेरै । खान पाएका छैनन् । बस्न पाएका छैनन् । भोकभोकै रातारात पैदलै घर फर्किरहेका छन् । घर घर नै हो । जहाँ परिवारसँग भोकै बस्नमात्रै पाएपनि पेट भरिन्छ ।
अहिले यस्तै पीडामा छन् नेपाली मजदुरहरु । दैनिक ज्यालादारीमा काम गरी गुजारा चलाइरहेकाहरु काम बन्द भएपछि भोकभोकै छन् । बस्ने ठाउँ छैन । खाने गाँस छैन ।
भोकभोकै सडकको बासभन्दा घरपरिवारसँग सिस्नो र खोले खान पाउनु नै ठूलो खुसी हो । यही सपना बोकेर हजारौँ नेपाली १३/१४ दिन लगाएर गाउँ फर्किरहेका छन् । नेपालमै भएका नेपालीहरु पैदल हिँडेर फर्के । योभन्दा दर्दनाक अवस्था विदेशमा मजदुरी गर्नेहरुको छ । भोकभोकै बसिरहेका छन् ।
अहिले सामाजिक सञ्जालदेखि हरेक अनलाइनमा भुईंमान्छेका दर्दनाक फोटाहरु भाइरल भइरहेका छन् । उनीहरुले भोगेका कथाहरु प्रकाशित भइरहेका छन् । कतै रित्तै खुट्टामा हिँडिरहेका, कतै झोला झाम्टा बोकिरहेका, कतै हिँड्न नसकेर पिठ्युँमा या काँधमा बोकिरहेका फोटाहरु छन् ।
यस्ता फोटा हेरिरहँदा र उनीहरुका कुरा सुनिरहँदा हजुरबाका कुराको झलझली याद आयो । उहिले यसैगरी नुनतेल ल्याउन हजुरबाहरु हाट पुग्थे रे । जहाँ महिनौँ लगाएर वर्षौ दिनलाई पुग्ने कपडा, चप्पल र नुनतेल किन्न यसैगरी लस्करै ताँती लाग्थ्यो रे ।
हजुरबाको त्यो कुरा सम्झिरहँदा फेरि अर्को मनले भन्यो, ‘हैन हजुरबाहरु त आफूलाई चाहिने सामानको जोहो गर्न दुःख गर्थे । त्यो बेला अहिलेकोजस्तो गाउँ सहर सबैतिर सडक थिएनन् । यातायातका साधन थिएनन् । अहिले गाउँगाउँ सडक पुगेको छ । यातायातका साधन छन् ।’
त्यो भनाइ र यो देखाइमा आकाश पातलको फरक छ । अहिले ज्यान जोगाउन, भोक र प्यास मेटाउन गाउँ फर्किनेहरुको लस्कर हो यो । त्यसो हो भने किन सरकार मौन छ यो विषयमा ? अहिले त तीन वटा सरकार छन् । स्थानीय, प्रदेश र केन्द्र सरकार । तीन वटा सरकार हुँदा पनि गरिबहरुले त्यसैगरी हिँड्नुपर्ने ?
के यही हो त जिम्मेवार सरकारको काम ? यस्तो महामारीको समयमा पनि आफ्ना नागरिक कहाँ छन्, कस्तो अवस्थामा छन् भनेर हेरखोज नगर्ने सरकारलाई के सरकार भन्नु ?
सरकार त जनताको अभिभावक हो । हैन र ? यस्ता अभिभावक तीनभन्दा ६ नै भएपनि नागरिकलाई टुहुरै भएको भलो लाग्दो हो ।
यदि यो समय चुनाबताकाको हुँदो हो भने तँछाड् मछाड् गर्थे होलान् । हात जोड्दै हामी भनेको तपाईंहरुकै लागि काम गर्ने हो । तपाईं कुन ठाउँ हुनुहुन्छ, कहाँ पुग्नुपर्छ भन्दै विभिन्न राजनीतिक दलका नेताहरुको फोन आउँदो हो । यदि कुनै धनीमानीहरु हुँदा हुन् त आफ्नै गाडीलाई एम्बुलेन्स बनाएर प्रयोग गर्दा हुन् । जसको कोही छैन, उसको केही छैन ।
यस्तो बेला ती अभागीहरुको आँसु कसले देख्छ । जसले वारिबाट आमाको लास जलेको टुलुटुलु हेर्न सक्छ । दागबत्ती दिन पाउँदैन । जसले आमा बिरामी पर्दा आमाको कपाल सुम्सुम्याउन पाउँदैन । जसले १ घण्टाको दूरीमा हुँदा पनि आमालाई भेट्न पाउँदैन । आमा मरेको खबर सुनेर सेतो लुगामा एक्लै बस्नुपरेको छ । कसले सुन्छ उनीहरुको पीडा, थाकेर मारेको सुस्केरा । कसले देख्छ चप्पलविना हिँड्दा बनेका घाउ ।
उसो त एउटै घरमा भएपनि दुई मिटरको दूरी राख्नुपर्छ भनेर चिकित्सकहरुले भनिरहेका छन् । तर नेपाल भारतको सीमामा बसेका नेपालीहरु एउटा गोठमा राखिएका भेडाजस्तै गरी राखिएका छन् । यस्तो अवस्थामा उनीहरु कसरी सुरक्षित हुन सक्छन् ।
सीमा नाकामा जोखिममा रहेका नेपालीलाई उद्धार गरेर घर पु¥याउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । तैपनि सरकारले नसुनेझैँ गरी बसिरहेको छ । यो बेला भावनामा बग्ने समय नभएको हाम्रा मन्त्रीहरुले बताइरहेका छन् । यस्तो अवस्थामा कुन मानवरुपी प्राणी भावनामा नबग्ला र ।
हरेक प्रदेश सरकार र स्थानीय सरकारले हामी आफ्ना नागरिकका लागि कुनै कसर बाँकी राख्दैनौँ, समस्यामा पर्न दिदैनौँ भनिरहेका छन् । उनीहरुको भनाइ र गराइमा धेरै फरक छ । विपद् पर्दा बोल्ने गृह मन्त्रालय चुप लागेर बसेको छ । राहत भन्दै करोडौँ रुपैयाँ लगानी गरेको छ । तर वास्तविक राहत पाउनेहरुले पाएका छैनन् ।
विपद्मा साथ दिनुपर्ने सरकार चुपचाप बसेको छ र रमिता हेरिरहेको छ । यही हो मेरो देश ? यही हो मेरो सरकार ? यही हो नागरिकप्रति जिम्मेवार सरकार ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।
bsn
April 19, 2020, 8:51 p.m.के गर्नुपर्यो त सरकारले? डोनल्ड ट्रम्पलेजस्तै नेपाल सरकारले पनि मरे मरुन् २०-३० हजार नेपाली भन्दै लकडाउन खोल्नुपर्यो? कमसेकम यस्तो विश्व महामारीको समयमा त सकारात्मक लेख्नू।