पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - सरकारले गरेको लकडाउनको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको जोखिमको कारण सरकारले गएको चैत्र ११ गतेदेखि लकडाउन गरेको हो । लकडाउनको पूर्ण कार्यान्वयन गर्न काठमाण्डौ उपत्यकाका २ महानगरपालिका र १६ वटा नगरपालिकाले संयुक्त रुपमा हातेमालो गरी पहल गरिरहेका छन् । लकडाउन सुरु भएपछि पहिलो चरणको राहत बाँड्ने काम पनि सकिएको छ ।
पालिकाले आफ्नो नगरभित्र रहेका विपन्न वर्ग, मजदुर र असहायलाई दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारले राहत वितरण गर्न पैसा नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । दोस्रो चरणको राहत बाँड्न सङ्घीय सरकारले बजेट निकासा गर्नुपर्नेमा उहाँको जोड छ ।
काठमाण्डौ उपत्यका मेयर फोरमका उपाध्यक्ष समेत रहनुभएका मेयर महर्जनले सरकारले दोस्रो चरणको राहत बाँड्न पालिकाको क्षमता नरहेको बताउनुभयो । ‘सरकारले राहत बाँड्न भनेर अहिलेसम्म दुई पैसा पनि दिएको छैन,’ उहाँले भन्नुभयो, ‘सरकारले पैसा दिएन भने हामी राहत बाँड्न सक्दैनौँ ।’
काठमाण्डौ उपत्यकाका तीन जिल्लामा दुई महानगरपालिका, १६ वटा नगरपालिका र तीनवटा गाउँपालिका गरी २१ वटा पालिका छन् । काठमाण्डौमा एक महानगरपालिका र १० नगरपालिका, भक्तपुरमा ४ नगरपालिका र ललितपुरमा १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका छन् ।
काठमाण्डौ महानगरपालिकाले झण्डै ५० हजारलाई राहत वितरण गरेको जनाएको छ । तर छिमेकी ललितपुर महानगरपालिकाका मेयर महर्जनले सबै पालिकाको काठमाण्डौ महानगरपालिकाजस्तो क्षमता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै पालिकाको क्षमता एउटै छैन । अब सरकारले पैसा दिएमात्रै बाँड्न सक्छौँ ।’
‘सरकारले थैलीमा मुठी बाँध्यो’
मेयर महर्जनले सङ्घीय सरकारले आफ्नो थैलीमा मुठी बाँधेको टिप्पणी गर्नुभएको छ । विपद्को बेला मुठी कसेर बस्न नहुने भन्दै उहाँले पालिकाको क्षमता छैन भनेर बुझ्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले प्रश्न गर्नुभयो, ‘चुनाबकै लागि गठन भएका कतिपय पालिकाले विपद् व्यवस्थापनमा १० लाख रुपैयाँ छुट्टाएका छन् । अहिलेको महामारीसँग जुध्न त्यो १० लाख रुपैयाँले पुग्छ ? तैपनि २ महागरपालिका र १६ वटा नगरपालिकाले क्षमताअनुसार कोरोनाविरुद्ध काम गरेका छन् ।’
विपद्लाई १० लाख रुपैयाँ मात्रै छुट्टाउने पालिकालाई राहत बाँड्न महाभारत भएको उहाँको भनाइ छ । ‘अब पनि सरकारले गुठी खोलेन भने राहत बाँड्न सकिँदैन । सरकार गुठीमा मुठी बाँधेर बस्ने अनि देउ भनेर पालिकालाई भन्न मिल्दैन ।’
हरेक वडामा ‘मेस’
ललितपुर महानगरमा कसैले पनि खान नपाएको गुनासो नगरेको मेयर महर्जनको दाबी छ । २९ वटै वडामा चुलो बनाएर खानाको व्यवस्था गर्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । खान पाएनौँ भन्नेहरुलाई बिहान बेलुका नै खुवाउने उहाँको तयारी छ । सरकारले पैसा नदिएपनि भोकाएर आउनेलाई पेटभरि खुवाएर पठाउने मेयर महर्जनले बताउनुभयो । सरकारको मुख ताकेर नबस्ने बरु क्षमताअनुसार व्यवस्थापन गर्ने तयारी गरेको जानकारी उहाँले दिनुभयो ।
‘खान पाएनौँ भन्नेहरुलाई महागरपालिकाभित्रको आफ्नो वडामा गए रित्तो हात नर्फकाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘निर्णयअनुसार हरेक वडामा एउटा ‘मेस’ खोल्ने र खान दिने महानगरको तयारी छ ।’ उहाँले सरकारले पैसा दिए फेरि पनि राहत बाँड्न भने नरोक्ने बताउनुभयो । पालिकाहरुले नहेरेकै कारण धेरै गरिब र मजदुरले काठमाण्डौ उपत्यका छाड्नुपरेको गुनासोप्रति मेयर महर्जनले भन्नुभयो, ‘उहाँहरु बेकामे बस्नुभन्दा खेतीबाली लगाउने बेला भएकोले गाउँ जानुभयो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।