दौड्दै गएर आमालाई गम्लङ्ग अँगालो हालौँ जस्तो लाग्छ

 बैशाख ११, २०७७ बिहिबार १०:५४:२० | मनिषा दाहाल
unn.prixa.net

आमाले छोरीको बाटो हेर्दै तल्लो फाँटतिरका लामा खेत र चौतारातिर आँखा ओछ्याउन थालेको ४० दिनभन्दा बढी भइसक्यो । आज त झन् मातातीर्थ औँसी, आमाका आँखाले घरको आँगनबाट पक्कै त्यही खेत र चौतारातिर हेर्दै होलान् । यसरी लगातार २ वर्ष भयो आमालाई मातातीर्थ औँसीमा भेट्न नपाएको । गत वर्ष सासु आमा बित्नु भएकोले औँसीको दिन भेट्न गइनँ । यो वर्ष कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनले रोक्यो आमा छोरीको मिलन ।

आफ्नै आमा, जहिले भेटेपनि उही त हो नि । तर मनले यस्ता चाडपर्वमा भेट्न अझ बढी खोज्दो रहेछ । मलाई अहिले दौडेर त्यो लामा खेतको उकालो चढौँ र गएर आमालाई गम्लङ्ग अँगालो हालौँ जस्तो भएको छ । अहिले सम्झदा पछिल्ला ३० वर्षमा मातातीर्थ औँसीका दिन आमासँग भेट नभएको जम्मा ४/५ पटक मात्र रहेछ । 

आमासँगका सम्झना त कति कति ! न लेखेर सकिन्छन् न कसैलाई सुनाएर । म २ वर्षको हुँदा आमाले मलाई ललितपुरको गोदावरी मेलामा लानुभएको थियो रे । म मेलामा हराएँ रे ! अनि पछि गाउँबाट जानुभएको एकजना दिदीले भेट्नुभएछ । घर आएपछि त्यो दिन मैले लगाएको घाँगर आमाले अर्कैलाई दिनुभयो । त्यो लुगा देख्दा त्यही दिनको नमिठो सम्झना आउँछ भनेर आमाले त्यसो गरेको अहिले पनि भन्नुहुन्छ । ४ वर्षको उमेरमा आमासँगै रात्रि बस चढेर रौतहटको मामाघर जाँदाको सम्झना हरेकपल्ट आमालाई भेट्दा ताजा हुन्छ । 

म काभ्रेको नालामा जन्मिएँ, हुर्किएँ । पाखा भित्तामा आमाको सारी र कुर्ताको फेर समाउँदै धेरै कुरा आमाबाटै सिकेँ । तर मेरी आमालाई बिहे भएपछि यो ठाउँमा आएर घर खान, जिन्दगी चलाउन सुरुमा निकै गार्हो भएको थियो रे । रौतहटमा जन्मे हुर्केकी आमाका लागि नालाका पाखा भित्तामा गाईवस्तुका लागि ठूलो बनमा घाँस स्याउला गर्नु, धारामा पानी लिन जानु, खेतबारीको काम गर्नु, बिहान बेलुकी घरधन्दा गर्नु सजिलो पक्कै थिएन ।

घाँस दाउराको भारी बाङ्गो बोकेको भनेर छरछिमेकी गाउँलेले हियाउँथे भनेर अहिलेपनि आमा त्यो बेलाको कुरा हामीलाई भन्नुहुन्छ । तर हाम्रो हुर्काइ, पढाइ र राम्रो संस्कार दिनमा आमाका दैनिकीले केही फरक पारेन र आमाको दैनिकीको कुनै छाया पनि परेन । आमाको दुःख, पिर र व्यथा के हो भन्ने कुरै थाहा नदिई आमाले भाइ र मलाई ठूलो बनाउनुभयो ।

आमासँगै हाम्रो घरमा आएका खुसी पनि धेरै छन् । बिहे हुनुभन्दाअघि नै १२ कक्षा पास गर्नुभएको आमाले शिक्षा सेवा आयोगको जाँच पास गर्नुभयो । भाइ जन्मेकै दिन शिक्षकको नियुक्ती पत्र आयो । घाँसदाउरा, जङ्गल स्याउला गर्ने झमेलाभन्दा केटाकेटी पढाउनु नै ठीक ठान्नुभयो । जम्मा ३ दिन मात्र उमेर भएको भाइ बोकेर डेढ घण्टा हिँडेर पुगिने स्कुलमा हाजिर गर्न जानुभयो । आमाले बिहान बेलुका घरको काम र दिउँसो स्कुलमा पढाउँदै  हामीलाई जिन्दगीका सजिला, अप्ठ्यारा, सुख र दुःख सबै कुरासँग अभ्यस्त हुन सिकाउनुभयो । 

आमाबुबालाई आफ्ना सन्तान उमेरले जति नै उकालो लागेपनि साना र बालखै लाग्छन् रे ! म आफैँ २ वटा सन्तानकी आमा भइसकेँ । तर पनि मेरी आमालाई म अझै पनि त्यही घाँगर लगाएर आँगनीमा दौड्ने, नङको पालिसलाई पनि रगत सम्झी आत्तिएर रुने, दशैँको बेला समयको मतलब नगरी पीपलबोटको पिङमा मच्चिरहने उही स्यानी प्यारी छोरी जस्तो लाग्छु रे ! 

आमाको माया कहिल्यै घटीबढी हुँदैन रे । सधैँ एकनासको र विना स्वार्थको औषधी जस्तो । मसँग पनि अहिलेसम्म आमाको त्यही औषधी छ र चाहिएको बेला ‘डोज’ मिलाएर खान्छु । मेरो लागि आमा ‘अल इन वान प्याकेज’ हो । डकर्मी, सिकर्मी, डाक्टर, नर्स, शिक्षक, अभिभावक र पथपर्दशक सबै हो । 

जस्तो दुःख वा निराशा हुँदा पनि आमाले सम्हालिन सिकाएर होला बिहे गरेर अन्माउने बेलामा मेरो आँखामा आँसु आएन । म आमाको अगाडि रुन सकिनँ । रुन न पिपलबोट थर्काउने गरी मन लागेको थियो नि । तर म रुँदा आमालाई सम्हालिन गार्हो हुन्छ भन्ने लाग्यो र मैले आफूलाई सम्हालेँ । कति नरमाइलो लाग्यो होला है आमालाई मलाई अन्माएको त्यो दिन । अहिले लाग्छ मेरी आमाको त्यो रात आँखा झिमिक्क नगरी बिहानी भयो होला । 

आमाले मलाई ‘मेडिकल फिल्ड’मा केही गरोस् भन्ने चाहना राख्नुभएको थियो । उहाँहरूले सक्नेजति गर्नुभएकै हो । तर मैले आमाबुबाको इच्छा पुरा गर्न सकिनँ भनेर कहिलेकाहीँ थकथकी लाग्छ । के गर्नु आमा ! जिन्दगीले मेरो लागि अर्कै कथा लेखेको रहेछ । मलाई माफ गरिदिनु ल । 

अब योभन्दा बढी लेखे भने म आफूलाई सम्हाल्न सक्दिनँ । त्योभन्दा धेरै गार्हो त आमा तिमीलाई पढ्दा होला । तिमीसँग गर्ने गन्थनको पोको बनाएर बसेकी छु । एकदिन लकडाउन पक्कै खुल्ला । अनि मेरो पहिलो यात्रामा तिमीलाई भेट्न आउनेछु र धित मरुन्जेल मनमा पोको बनाएर राखेका गन्थनको भारी बिसाउँला । 
अहिले चाहिँ मेरा आफ्नै आमाहरु र यो पढ्ने सबैका आमालाई धेरै धेरै माया र सम्झना !

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिषा दाहाल

मनिषा दाहाल

तपाईको प्रतिक्रिया