एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ - अहिले महिलाहरु लकडाउनमा घरमै बसेर काम गरिरहेका छन् । उनीहरुले घरमै बसेर काम गर्नुका साथै परिवारलाई पनि हेर्नु परेको छ ।
पहिले अफिसमै गएर काम गर्दा घरको चिन्ता लिनु पर्दैन थियो । कोही ९ देखि ६ बजेसम्म, कसैको १० देखि ५ बजेसम्म अफिसमा हुँदा अफिसको कामको मात्रै जिम्मेवारी हुन्थ्यो ।
अहिले अफिसको काम गर्दागर्दै घरको जिम्मेवारी पनि गर्नुपरेको छ । जसले गर्दा महिला दोहोरो समस्यामा परेका छन् । त्यही ठाउँमा पुरुष छ भने उसले घरको काम हेर्नुपर्दैन ।
त्यसमा पनि श्रीमान र श्रीमती दुबैले अफिसको काम घरबाटै गरिरहेका छन् भने दिउँसो खाजा खाँदा वा अन्य केही काम गर्दा ती सबै काम महिलाले नै गर्नुपर्छ ।
यो बेला महिलालाई शारीरिक थकान बढी हुन्छ । घरका सदस्यहरुबाट सहयोग नपाउँदा विभिन्न किसिमका मानसिक समस्या देखिन सक्छ । आफूले गरेको कुरामा आफैँलाई चित्त नबुझ्ने, आफूले आफैँलाई विश्वास गर्न गार्हो हुने, एक्लो महसुस गर्ने, किन मैले मात्रै सबै गर्नुपर्नेजस्ता अनेक किसिमका खुल्दुली र बोझ मनमा उत्पन्न हुन्छ ।
घरभित्रै महिला हिंसा
अहिले पनि पहिलेजस्तो हिंसा महिलाले खेपिरहेका छन् । अन्यभन्दा घरेलु हिंसा बढी भइरहेको छ । यसमा एकातिर श्रीमानले श्रीमतीलाई गर्ने यौनिक हिंसा, श्रीमतीको इच्छा नै नभई शारीरिक सम्पर्क राख्न खोज्ने, जबरजस्ती गर्न खोज्नेजस्ता हिंसा छन् भने अर्कोतिर घरै बस्दा मानिसमा एक प्रकारको चिडचिडापन आइरहेको हुन्छ ।
महिलाहरु घरैमा बसिरहेका छन् । सीमित मान्छेसँग मात्रै कुरा गर्न पाएका छन् । रिस पनि घरकै मान्छेहरुमाथि उठ्नु स्वाभाविक नै हो । घरमा हामीलाई रिस उठिरहेको छ भने त्यो रिस आफ्नो नजिकको व्यक्तिसँगै पोखिरहेका हुन्छौँ । घरमा रिस पोख्ने माध्यम श्रीमानको लागि श्रीमती, श्रीमतीको लागि श्रीमान, आमाबुवाको लागि छोराछोरी र छोराछोरीको लागि आमाबुवा हुन्छन् ।
रिसले बिस्फोट
यदि रिस पोख्ने ठाउँ परिवारका सदस्य नभइदिँदा रिसलाई कसरी शान्त गर्नेभन्दा पनि रिस एक किसिमको बिस्फोटको रुपमा पड्किन्छ । जसले गर्दा श्रीमानले श्रीमतीलाई कुटपिट गर्ने, सानो कुरामा रिसाउने, गाली गर्ने र रिसको झोँकमा बच्चाहरुसँग नराम्रो तरिकाले बोल्नेजस्ता समस्या देखिन्छ ।
सानो सानो कुराजस्तो दालमा नुन कम भएपछि श्रीमतीमाथि श्रीमान रिसाउने गर्छन् । नुन कम भएकोमा पनि महिलाहरुले गाली खानुपर्छ । मैले त दालमा नुन मात्रै कम गरेको थिए यसैमा पिटाइ खानुपर्यो भन्ने सोचेर महिलाहरुमा डर पैदा हुन थाल्छ ।
यसले आफैँले आफैँलाई विश्वास गर्न गार्हो हुन थाल्छ । मैले गरेको गलत होे त भन्दै आफैँले आफैँलाई प्रश्न गर्न थाल्छन् । यस्तो हुँदै जाँदा उनीहरुले कसैसँग कुरा गर्न पनि गार्हो मान्न थाल्छन् । जसले गर्दा उनीहरुलाई एक्लोपन महसुस हुन थाल्छ ।
कोरोनाले गर्दा समाजबाट अलग भएर एकान्तबास वा घरभित्र रहेको बेला एक्लो हुन थालेपछि मानसिक रुपमा असर गर्न थाल्छ । बिहानदेखि रातिम्म मैले यति काम गर्दा पनि किन यस्तो भइरहेको छ ? यस्ता प्रश्नले काममा गर्न मन नलाग्ने, आफ्नै बालबच्चालाई हेरचाह गर्न अल्छी लाग्ने वा वास्ता नगर्ने, बच्चासँग रिसाउने, खानामा रुचि लाग्न छाड्ने र आफ्नै हेरचाह गर्न पनि मन लाग्दैन ।
लकडाउनले समस्या
हामीकहाँ अहिले पनि यस्ता समस्या लिएर धेरै महिला आउँछन् । हिंसा पहिले जस्तो हुन्थ्यो अहिले पनि त्यस्तै भइरहेको छ । फरक यति हो कि जसले उनीहरुमाथि हिंसा गरिरहेका छन् ती व्यक्तिसँगै घरमा थुनिएर पीडित महिलाहरुले बस्नुपरेको छ ।
अहिले हामीसँग सम्पर्क गर्न पनि उनीहरुलाई समस्या भएको छ । पहिले उनीहरु घरबाट बाहिर निस्कन पाउँथे । त्यो समयमा उनीहरुले समय मिलाएर आउँथे । अहिले हिंसा गर्ने व्यक्ति सँगै हुँदा उसैको अगाडि फोनमा कुरा गर्न पनि सकेका छैनन् ।
ओसिएमसीमा आउने महिला घटे
देशभरका ६६ जिल्ला अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन प्रणाली ओसिएमसी ६८ वटा छन् । हिंसामा परेका महिलाहरुले त्यहाँबाट कुनै किसिमको सहयोग लिने वा मनोपरामर्श लिनुपरेमा हामीलाई भेट्न आउँछन् ।
म लकडाउनकै कारण हिंसा बढ्यो भन्न सक्दिनँ । तर हिंसा बढे पनि ती घटना बाहिर आउन सकेका छैनन् । ओसिएमसीमा पनि उनीहरु आउन सकेका छैनन् किनकि उनीहरुलाई लकडाउनमा बाहिर निस्कन गार्हो छ ।
मानसिक बोझले दीर्घकालीन असर
पहिलो कुरा, हिंसालाई महिलाले कसरी झेलिरहेका छन् भन्ने हो भने कसैले यसलाई सामान्य रुपमा लिन्छन् । यस्ता दुःख त कति झेलियो झेलियो भन्दै सामान्य रुपमा लिइरहेका हुन्छन् । तर कसैले यसलाई मनमा खेलाइरहेका हुन्छन् ।
मेरै कमजोरी हो भन्दै भविष्यमा ग्लानि पनि महसुस गर्छन् । कसैलाई आफ्नै श्रीमानले वा अरु कसैले जबरजस्ती गरेको छ भने उनीहरुलाई आफ्नै शरीरदेखि घृणा लाग्न थाल्छ । यस्तो ग्लानि महसुस भएर कसैकसैलाई आत्महत्या गर्ने सोच पनि आउँछ ।
यदि हिंसा आफ्नै घरको व्यक्तिबाट भइरहेको छ भने आत्महत्याको कोसिस गर्नेहरु पनि हुन्छन् । यसले गर्दा उनीहरुलाई लामो समयसम्म मानसिक रोग लाग्न सक्छ । कसैलार्ई डिप्रेसन हुन सक्छ भने कसैलाई कडा खालको मानसिक समस्या देखा पर्न सक्छ ।
(चिकित्सा मनोविद् बनियासँग इन्द्रसरा खडकाले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बनिया चिकित्सा मनोविद् हुनुहुन्छ ।
Suraj
May 5, 2020, 2:33 p.m.Good analysis