देश ‘लकडाउन’मा, नेकपा ‘रिङ’मा, प्रतिपक्ष ‘प्याराफिट’मा

 बैशाख २५, २०७७ बिहिबार ११:५५:११ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ -  यतिबेला सारा मानव जगत कोरोना भाइरसको त्रासमा छ । मानव भूगोल स्थिर अवस्थामा छ । विश्वका महाशक्ति देशहरु मानव अस्तित्व मेटिने पो हो कि भन्ने डरमा छन् । अर्थ, राजनीति, व्यापार र सिङ्गो मानव समाज कोरोना केन्द्रित भएका छन् । संसारका विद्यमान वादहरु वाद प्रतिवादमा नलागी कोरोना महामारीबाट कसरी मुक्ति पाउने भन्नेमा सोचमग्न छन् । नेपालको राजनीति भने बेग्लै लयमा अगाडि बढिरहेको छ ।  

छिमेकी देशहरुको तुलनामा नेपालमा कोरोना सङ्क्रमण अलि कम देखिएको छ । तर उत्तरी छिमेकी चीनमा सङ्क्रमण पूर्ण नियन्त्रित भइनसक्नु, दक्षिणी छिमेकी भारतमा सङ्क्रमण द्रुत गतिमा बढ्नु, विदेशमा रहेका हजारौँ नेपाली सङ्क्रमित हुनु, उनीहरुलाई नेपाल फर्काउने चुनौति कायमै रहनु र भारतसँगको खुला सिमाना पूर्ण रुपमा नियन्त्रण गर्न नसकिनुले हाम्रो देश कोरोना सङ्क्रमणको कम जोखिममा नरहेको सहजै अनुमान लगाउन सकिन्छ । 

यसका साथै लम्बिएको लकडाउनको कारण अर्थ व्यवस्थामा देखिएको मन्दी, भयावह हुन सक्ने बेरोजगारी, खाद्यान्न र अन्य अत्यावश्यक सामानको अभावले समाजमा सिर्जना हुनसक्ने अराजकता अर्को ठूलो चिन्ताको विषय बनेको छ । तर यस्तो सङ्कटको समयमा पनि सत्तापक्षीय राजनीतिक वृत्तलाई सरकार जोगाउने/ढाल्ने र आफ्नो स्वार्थको रोटी सेक्ने चटारो छ । 

कोरोना परीक्षण गर्ने स्वास्थ्य सामग्रीहरुको अभाव, परीक्षणको गति एकदमै न्यून, सङ्क्रमितहरुको सङ्ख्या बढ्दो, नियमित खाने औषधी नपाएर मृत्युजस्ता समाचारले नागरिकलाई चिन्तित बनाएको छ । अर्कोतर्फ देशको बागडोर सम्हालेको नेतृत्वले व्यक्तिगत र गुटगत लाभहानिको हिसाब गर्दै अरुलाई उचाल्ने र पछार्ने दाउमा लाग्दा आमनागरिकको आलो घाउमा नुन खुर्सानी छर्केको अनुभव भएको छ । 

‘रिङ’मा नेकपा

झण्डै दुई हप्ताअगाडि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउनुभएको राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्चा चुलिएसँगै सुरु भएको राजनीतिक गर्मागर्मीले कोरोनालाई बिर्साइदिएको छ । केही समयअघिसम्म आफूलाई एउटै विमानका दुई चालक बताउने नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल यतिवेला आमुन्नेसामुन्ने उभिनुभएको छ । आइपरे जुनसुकै हदसम्म जान पनि उहाँहरु उद्यत देखिनुहुन्छ । अर्थात् राजनीतिक रिङमा उक्लिसक्नुभएको छ । वरिष्ठ नेता माधव नेपाल प्रचण्डसँग हुनुहुन्छ भने तेस्रो प्रतिस्पर्धी छुट्याउन गार्हो छ ।  

पछिल्लो सचिवालय बैठकबाट प्रधानमन्त्री ओलीले अर्का नेता वामदेव गौतमलाई पनि रिङमा आमन्त्रण गरेपछि खेल कसको पक्षमा जान्छ भन्ने झनै रहस्यमय बनेको छ । त्यसैगरी नेकपाका प्रभावशाली मानिएका नेताहरु झलनाथ खनाल, भिम रावल, ईश्वर पोख्रेल, विष्णु पौडेल र रामबहादुर थापा पनि रिङ वरिपरि तम्तयार अवस्थामा हुनुहुन्छ र खेल सुरु भएको घण्टी बजिहाले आफ्नो भूमिका निभाउन पछि हट्नुहुने छैन । बाँकी तल्लो तहसम्मका नेता कार्यकर्ताहरु पनि आआफ्नो सहजता र भविष्यको लाभहानिको हिसाब गर्दै सामाजिक सञ्जालमै भएपनि कित्ताकाट गरेर बसेका छन् । 

‘प्याराफिट’मा प्रतिपक्ष

नेकपाको एकताको हल्ला चलेदेखि नै आफूलाई कमजोर महसुस गरेको प्रतिपक्ष भने यतिबेला प्याराफिटबाट रिङभित्रका क्रियाकलाप नियालिरहेको छ । सुरु भइसकेका सानातिना घम्साघम्सीको आनन्द लिइरहेको छ । यतिबेला रिङमा उत्रिने समय होइन भन्न सकेको छैन । हान हान भन्ने आँट गर्न पनि सकेको छैन । यस पटक आफूलाई अलिकति भएपनि फाइदा हुन्छ कि भन्ने आशमा छ । प्रतिपक्ष खेल मात्रै हेर्ने तर कसैको पक्ष वा विपक्षमा ‘हुटिङ’ नगर्ने रणनीतिमा छ । 

सरकारलाई दबाब सिर्जना गरेर कोरोना रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गराउने भूमिका प्रतिपक्षको हुन सक्थ्यो । जसले प्रतिपक्षलाई मात्रै होइन, सिङ्गो देशलाई पनि फाइदा पुग्थ्यो । तर प्रतिपक्षले त्यसो गर्न सकेको छैन । कर्मकाण्डी भूमिकामा सीमित प्रतिपक्षले प्याराफिटबाट टुलुटुलु हेरेर उठाएको आनन्दले तत्काललाई राहत देला । तर यो खेलको कारण देशले ठूलो क्षति व्यहोर्नुपर्यो भने प्रतिपक्ष पानीमाथिको ओभानो रहन सक्दैन । 

रहस्यमय ‘रेफ्री’

नेपालको राजनीतिक उतारचढाबमा सधैँ बाह्य शक्तिले खुलेरै रेफ्रीको भूमिका खेल्छ भन्ने आरोप लागेपनि यस पालि रेफ्री रहस्यमय छ । नेकपाभित्रको सङ्घर्षमा विभिन्न मानिसहरुले फलानोले रेफ्रीको भूमिका खेल्दैछ भन्ने लख काटेपनि यसमा रेफ्री छ वा छैन, छ भने को हो कसैले यकिन साथ भन्न सकेको छैन ।  

विगतमा रेफ्रीको स्वार्थमा वेलावेला खेलाइएका अनेकौँ राजनीतिक खेलबाट देशले घाटा व्यहोरिसकेको छ । यस्ता थुप्रै तितो यथार्थको अनुभव गरिसकेका नेतृत्व पङ्क्तिले रहस्यमय रेफ्रीको इसारामा फुट्नुको साटो जुट्ने पहल गर्दा नै राम्रो होला । 

अहिले देशलाई फुट होइन, जुट चाहिएको छ । स्वार्थ र सिद्धान्तबीचको सङ्घर्ष होइन, एकता चाहिएको छ । विश्वव्यापी सङ्कटको यस घडीमा सीमित स्वार्थपूर्तिमा समय र सामर्थ्य खर्च गरी समस्यालाई अनदेखा गरे भोलि देशले महासङ्कटको सामाना गर्नुपर्ने अवस्था आउन सक्छ ।

राजनीतिक हिसाबकिताब भोलि पनि मिलाउन सकिएला । तर अहिलेको प्रमुख काम कोरोना नियन्त्रण र रोकथाम हो । अहिले त्यतैतिर ध्यान जानु आवश्यक छ । नागरिकले दुई तिहाइ मत दिएको सरकार र सत्तासीन राजनीतिक पार्टीबाट नागरिक हितविपरित कार्य गरिए र विपक्षले आफ्नो रचनात्मक भूमिका निर्वाह गर्न नसके आमनागरिकको धैर्यताको बाँध नफुट्ला भन्न सकिन्न ।  
 

अन्तिम अपडेट: बैशाख १, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया