दाङकाे क्वरेण्टीनमा जुम्ल्याहा शिशुकाे जन्म !

 बैशाख २७, २०७७ शनिबार १९:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – तुलसीपुर उपमहानगरपालिकाको क्वरेण्टीनमा बस्नुभएकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिनुभएको छ ।

तुलसीपुर १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा शिशुलाई जन्म दिनुभएको हो । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किने क्रममा तुलसीपुरकाे क्वरेण्टीनमा रहेका बेला प्रसव पीडा सुरु भएकाे थियो । 

सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किनुभएकी यादव गएको बुधबार घर फर्किनुभएको थियो । उहाँलाई बिहीबारदेखि क्वरेण्टीनमा राखिएको थियो ।  

लकडाउनका कारण गाडी नचलेपछि लामो दुरीको यात्रा पार गरेर यादव तुलसीपुर आउनुभएको हो । ‘एम्बुलेन्समा आउन पैसा थिएन । घर जान माईतीले दबाब दिएपछि हिँडेरै आएँ’, उहाँले भन्नुभयो, ‘खानेकुरा साथमै बोकेर ल्याएकी थिएँ, बाटोमा खानेकुराको समस्या त भएन तर बास बस्न भने समस्या थियो ।’

यादव भारतबाट आएको थाहा पाएपछि बिहीबारदेखि क्वरेण्टीनमा राखिएको उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले बताउनुभयो । 

क्वरेण्टीनमा राखेकै दिन दिउँसोदेखि उहाँलाई व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उहाँकाे प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुरको तुलसी हस्पिटल प्रालीकाे एनआईसीयू कक्षमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले बताउनुभयो । 

डा. खत्रीका अनुसार तौल सामान्यभन्दा कम भएकाले शिशुलाई एनआईसीयूकाे वार्डमा राखेर उपचार गरिएको छ । शिशुको तौल २ दशमलव ५ देखि ३ दशमलव ५ केजीसम्म हुनुपर्ने भए पनि ती शिशुको तौल क्रमशः डेढ र एक केजी २५ ग्राम  छ ।

अहिले सुत्केरीको स्वास्थ्य अवस्था सामान्य छ । यादवको आजै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यादवको यसअघि गरिएको र्‍यापिड डायग्नाेस्टिक टेस्टकाे रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया