अचेल ‘म मान्छे हुँ’ भन्ने बिर्सिएर यन्त्रझैँ बाँच्नु परेको छैन

 बैशाख २९, २०७७ सोमबार १७:२:४७ | उषाकिरण रेग्मी
unn.prixa.net

बाल्यकालमा खोलामा डुबुल्की मारिरहेका माछा देख्दा आज माछा मार्छु भन्दै जब पानीमा हात डुबाउँथे, माछो हातमै आएजस्तो हुन्थ्यो । अनि माछो समातेँ समातेँजस्तो लाग्दा माछो पिलित्त चिप्लिए जस्तो हुन्थ्यो । तीन/चार घण्टाको परीक्षामा झण्डै पहिलो एक घण्टासम्म एउटा अक्षर पनि नफुर्दा कलम टोकेर बसेपनि कापी बुझाउने जनाउ घण्टी बजिसकेपछि कापीमा कलम दौडिएको दौडियै गरेको बेला जब निरीक्षकले कापी खोस्थे, ‘सबै प्रश्न सजिला भएर पनि लेख्नै नभ्याएको’ जस्तो लाग्दथ्यो । त्यसरी नै यो लकडाउनको डायरी लेख्छु भन्दाभन्दै आफैँबाट छुटिरहेको थियो । 

चीनको वुहान प्रान्तमा कोरोना भाइरस देखिएको र सङ्क्रमणबाट सयौँ मानिसले देह बिसाएको समाचार सुन्दा मेरो मनमा प्रलय आएको थियो । पौने दुई महिनायता विश्वभर कोरोना सङ्क्रमण र यीसँग सम्बन्धित समाचारको बाढी नै आएको छ । बाढी पनि यस्तो कि यसले सबैथोक आफैँसँग सोहोरपटार पारिरहेको छ । 

कोरोनाले अहिलेसम्म विश्वभरि २ लाख ८० हजारभन्दा धेरैको जीवन बढारेको छ । झण्डै तीन करोड मान्छेको जागिर बढारेको छ । अर्बौँ मान्छेको हाँसो र खुसी बढारेको छ । निद्रा बढारेको छ । चैन बढारेको छ । कयौँ शक्तिशाली देशका प्रभावशाली मानिसको अहम् बढारेको छ । धनीको धन बढार्ने र निर्धनको मन बढार्ने क्रम रोकिएको छैन । कोरोना भाइरसमाथि मान्छेको विजय कहिले होला (वा नहोला) । तर यसको सङ्क्रमण देखा परेपछि रोग प्रतिरक्षात्मक क्षमता कमजोर भएका मानिसको निधन लगभग निश्चित रहेछ भन्ने भयमिश्रित आश्चर्यले आगो निल्ने र ओकल्ने उमेरकी म फतक्क गलेकी थिएँ ।

कोरोना भाइरसको विश्वव्यापी अतिक्रमणसँग भिड्न विश्वका सबैजसो देशले लकडाउन विधि अपनाएका छन् । मेरो देश नेपालमा कडिकडाइका साथ लकडाउन गरिएको छ भने यता म बस्ने देशमा आंशिक लकडाउन छ । बस्ने चाहिँ स्वेच्छिक क्वरेण्टीनमा तर भोक लाग्ने चाहिँ छिनछिनमा । घर बस्दा दिनभरमा सातपटक खाइरहन मन लाग्ने यो उमेर नै यस्तै पो हो कि ! आफूले जोहो गरेको खानेकुराले हप्ता दिन पनि खान पुगेको छैन । उता साथीहरुबीच भने सामाजिक सञ्जालमा थरीथरीका परिकारका फोटा टाँस्न भ्याइनभ्याइ भएको देख्छु । मानि लिउँ, उनीहरु कुनै खानपानसम्बन्धी सामाजिक सञ्जालको प्रतियोगितामा छन् । घरिघरि त रिस उठ्ला जस्तो नि हुन्छ । तर फोटोले रिस उठाउनुअघि फोटोका परिकारले मुख रसाइसकेको हुन्छ । 

मन मारेर पनि बाँच्नु के बाँच्नु ? भन्ने ठानेँ र हुत्तिएँ पसलतिर । यसो खानेकुराका र्याक हेर्छु त सब रित्तिएका छन् । रित्ता र्याकबाट चिहाउँदै खाली भित्ताले मलाई नै हेरेर ङिच्च खिल्ली उडाएजस्तो पो लाग्यो । भित्तोसँग सर्माउँदै सर्लक्क बाहिर निस्किएँ र अर्को पसलतिर लम्किएँ । धन्न नुनभुटुन बाँकी रहेछ, कुनाको र्याकमा मलाई नै पर्खेर बसेको । अँगालो भरीको चामलको धोक्रो उठाएँ । दाल, आँटा र चिउरा उठाएँ । साथीहरुका फोटा आँखामा झल्झली छँदै थिए । पास्ता सास्ता खर्त्याङखुत्रुङ् पनि भेटेसम्म उठाएँ । गर्हौँ झोला बोकेर १५ मिनेटजतिमा घर पुगेँ ।

मन अलिकति भएपनि ढुक्क भयो । 

युरोप र अमेरिकामा कोभिड–१९ कै कारण मृत्युवरण गर्नेको सङ्ख्या बढेपछि मलाई छरिएर रहेका आफन्तजनप्रतिको चासो बढेको छ । पालैपालो फोन गरेर खबर बुझ्दै सबै कुशलै रहेको थाहा पाउँदा फुरुङ्ग हुने क्रम बढेको छ । मनसँगै शरीर पनि हरेक साँझ बिहान घुम्न हिँड्छ । ‘बाहिरी संसारमा जो जति व्यस्त छ, उसमा त्यति नै बढी काम, क्रोध र लोभ सुसज्जित हुन्छ’ भन्ने गीता ज्ञानले मलाई ‘तँ त फुर्सदमा छेस् नि’ भनेर एक फेर सम्झायो । ‘पढ्न जानु छ ? काममा जानु छ ?’ एक मनको प्रश्नमा अर्को मनले तत्काल जवाफ दियो ‘छैन ।’

विश्व नै कोभिड–१९ सँग लडिरहेको बेला यो फुर्सदै फुर्सदको समयमा मेरो मनमा पनि के गर्ने के नगर्ने भनेर आँधीबेहरी चलिरहेको थियो । जस्तो कि जतिबेला पनि आज कहाँ कति जना सङ्क्रमित भए ? कति मरे ? भन्ने अपडेट हेरेर आफ्नै मन उद्वेलित गर्ने कि आफ्नो मनको ढुकढुकी विचार गर्ने ? दिनरात नेटफ्लिक्सका सिरिज र मुभी हेरेर समय बिताउने कि दिनको एक घण्टा भएपनि ध्यानस्थ भएर अन्तःस्करणको आवाज सुन्ने र आफैँलाई बुझ्ने ? बेकामे भएको जनाउ दिन फेसबुकमा पुराना तस्बिर उत्खनन गरेर लाइक कमेन्ट गर्दै समय बिताउने कि महिनौँदेखि बुकसेल्फमा थन्किएका किताब निकालेर आद्योपान्त अध्ययन गर्ने ? मन बडो चञ्चल छ । ऊ सबथोक चाहन्छ । तर सबैथोक एकैपटक प्राप्य छैनन् । तर एकैथोक मात्रको पूर्ण प्राप्ति सबैथोकको प्राप्ति भइदिन पनि सक्छ । 

यी हेर्नुस त, फेरि अर्को द्वन्द्व त यहीँ नै चलिहाल्यो । यसरी आफ्नै मनभित्र द्वन्द्व चलेको मलाई कति मन परेको थिएन (अहिले पनि मन परेको छैन) । 
मैले मनलाई शान्तिको बाटोमा लैजान पटकपटक यत्न नगरेको होइन । तर बाहिरी संसारमा अति व्यस्त हुँदा मनलाई निर्द्वन्द्व पार्ने अभ्यास गर्न नसकेकै हो । यो ठोस निचोड पत्ता लागिसकेपछि मनमा कतै चोट पुगेको पो छ कि भनेर छातीमा हात राखेर महसुस गरेँ । ढुकढुकी त ‘आइ वान्ना लभ यु एभ्रिडे’ भन्दै पो धड्किरहेको रहेछ । फेरि सोचेँ निष्ठुरी त म स्वयम् नै रहेछु, जो यतिका वर्षसम्म आफैँप्रति निर्मम भएकी रहेछु । मनले त अनेकौँ पटक भनेकै हो, ‘सबैखाले कामबाट एक दुई महिना विश्राम लिएर आफैँलाई बुझ, मनलाई सुन ।’ 

तर दुई चार महिनै बिदा लिएर मनलाई रुँगेर बस्ने हो भने यो वैश्य युगमा दुई चार वर्ष नै पछि परी हालिन्छ नि भन्ठानेर कहिल्यै विश्राम लिने आँट नआएको हो । नरुच्दा नरुच्दैको नास्ता नगरे भरे भोक लाग्छ भनेर जबरजस्ती कोचेर काममा जानै बल गरेँ ।

हरेक दिन हरेक क्षण हृदयबिदारक समाचार आइरहेका छन् । कोरोनाको कारण ज्यान गुमाएकाका शव व्यवस्थित गर्न सामूहिक चिहान बनाउनु परेकोदेखि भोकै माइलौँ टाढा हिँडेर घर पुग्नेको व्यथा, रेल पाउन टाढादेखि पुगेकाहरु गलेर लिकमा निदाउँदा रेलले किचेर मारिएका खबरसम्म, चारैतिर अत्यासलाग्दो सन्नाटा देखेपछि वा कहालीलाग्दो आर्थिक भविष्य देखेर आत्महत्या गर्नुपरेको अवस्थासम्म देख्दा पढ्दा हातगोडा लल्याकलुलुक त किन हुँदैनन् र ? यही दुखान्त मात्र सम्झेर त भएन नि । मन दर्हो बनाएर यसलाई ‘अनलक’ गर्ने निधो गरेँ ।

मन कुनै पनि निधोमा पुग्नु एक किसिमले सन्तुष्टि भेट्नु, खुसी भेट्नु हो ।

लकडाउनले जीवनको बनिबनाउ दैनिकीको रुटिन भङ्ग गरिदिएपछि म अहिले मनमौजी भएकी छु । बिहान उठ्नेदेखि राति सुत्नेसम्मको एउटा निश्चितप्रायः तालिकालाई अचेल मनको भित्ताबाट सर्लक्क उक्काएकी छु । राति अबेर सुतेर बिहान सबेरै उठ्नुपर्दा निद्रा पुग्दैन कि भन्ने भय अचेल ‘निद्रा लागेपछि मात्र सुत’ भन्नेमा विलय भएको छ । निद्रा पुगेपछि मात्र उठ्ने र निद्रा लागेपछि मात्र सुत्ने । त्यसैले त अचेल बिहान उठ्ने र राति सुत्ने समय नै परपर सरेको छ ।

खाना पनि भोक र मन लागेपछि मात्र खान थालेकी छु । भित्ते घडीको टिकटिक आवाजलाई फिटिक्कै सुन्नु र मान्नु परेको छैन, मिनेट मिनेटको समयलाई याद गरेर । अचेल ‘म मान्छे हुँ’ भन्ने बिर्सिएर यन्त्रझैँ बाँच्नु परेको छैन । त्यसो त पठन पनि त्यस्तै स्वच्छन्द चलिरहेको छ । कहिले ‘गीता’ त कहिले ‘विदेशी सहायताका विसङ्गति’ । कहिले लियो टाल्स्टोयका कथाहरु त कहिले बर्टान्ड रस्सलका निबन्धहरु । कहिले डिन बर्नेटका उपन्यास त कहिले चाणक्य नीति ।

समय सामान्य ढङ्गले मस्त चलिरहेको बखतमा मानिसको व्यस्तताको वेग पनि तीव्र नै हुने रहेछ क्यार ! एक दिनमै आफूलाई थुप्रैपटक घोक्रेठ्याक लगाएर गर्नुपर्ने अनेक कामलाई अचेल अन्तरमनले अर्हाएपछि मात्र गर्न थालेकी छु । बाहिरी संसारको बन्दाबन्दी जति लम्बिँदै गएको छ मभित्रको संसार त्यति नै उघ्रिँदै आएको छ । छरपस्ट भावहरुलाई चपक्क समेट्ने अभ्यासमा अभ्यस्त हुँदै गइरहेकी छु । कहिले बेतालमै ताललाई फन्को मार्न त कहिले सूर्य किरणले टिलिक्क टल्किएको तालको पानीमै त्राटक गर्न पाएकी छु । पहिले कहिल्यै नहिँडेका बाटोहरु छिचोल्दै, चराहरुको चिरबिर आवाज सुन्दै डाँडाको देउरालीबाट सूर्यास्त नियाल्न पाएकी छु ।

बन्दाबन्दीभन्दा पहिले मलाई म आफैँले बाँचिरहेको जीवन पनि मेरो होइन कि वा म अरु कसैको समय पो बाँचिरहेको छु कि जस्तो लागेकै हो । अचेल जतिजति आफैँलाई नियाल्दै छु, त्यतित्यति आफ्नोपन भेट्दै छु । यो स्वच्छन्दतालाई ससम्मान आत्मसात गरेकी छु र यो समय म आफू भएर बाँचेकी छु । आफू भएर बाँच्नुमा बडो आनन्द हुँदोरहेछ । अन्त्यमा, ठूला महत्त्वाकाङ्क्षाहरु केही नभएर पनि होला बन्दाबन्दीको साँघुरो संसार नै मलाई फराकिलो लागिरहेको छ । इतिश्री लकडाउनोध्याय ! 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया