पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
तेह्रथुम – सडकमा ट्याक्टरले बनाएको खाल्डोमा परि शनिबार म्याङलुङ्ग नगरपालिका–१०, का झाँक्री कान्छा भनिने ६० वर्षे ठगबहादुर पुर्कुटीले ज्यान गुमाउनुभयो ।
म्याङलुङ नगरपालिका–१, जिविस टोलबाट केउरानी जाने बाटोमा ट्रयाक्टरले सडकमा बनाएको खाल्डोमा लड्दा उहाँको टाउको हिलोमा भासिएको थियो । बजारबाट घर फर्किँदै गरेका पुर्कुटीले हिलाम्मे सडकमा चिप्लिएर लडेपछि उठ्न नसकेर त्यहीँ ज्यान गुमाउनुपर्यो । सर्वसाधारणले त्यही फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।
त्यो तस्बिर राखेर थुप्रै सर्वसाधारणले सडकले सुविधाभन्दा सास्ती दिएको भन्दै दुःख व्यक्त गरे । दुई साताअघि पुर्कुटीको जस्तै सडकमा चिप्लिएर लडेपछि हिलाम्मे भएको म्याङलुङ नगरपालिका–६, का दलप्रसाद लिम्बूको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । लौरो टेकेर जिरिखिम्ती बजार हिँडेका लिम्बू हिलाम्मे सडकमा चिप्लिएर भ्यागुता पछारिएको झैँ पछारिए ।
यी त हिलाम्मे सडकका कारण सर्वसाधारण नागरिकले पाएका सास्तीका प्रतिनिधि घटना मात्रै हुन् । नागरिकको त्यो बेहाल हुने सडकमा ‘गाडीको अवस्था के होला ?’ सहजै अनुमान गर्न सकिन्छ । अहिले जिल्लाका धेरै सडकमा गाडी गुड्दैनन् । गाडी गुडे पनि यात्रुलाई कहाँ के हुने हो भन्ने त्रास र चालकको मुटुले ठाउँ छाडिसकेको हुन्छ । एक ठाउँबाट अर्को ठाउँसम्म गन्तव्य बनाएर छुटेका सवारीले ‘कति बेला पुर्याउछन् ?’ भन्ने कुनै टुंगो हुँदैन । खाल्डा–खुल्डी सडकमा चालकलाई पनि गाडी कति बेला उत्तानो पर्ने हो भन्ने मेसो हुँदैन ।
वर्षाका बेला जथाभावी गुड्ने ट्रयाक्टरले सडकमा भैँसी आहाल बस्न बनाएजस्ता खाल्डा–खुल्डी बनाएका छन् । गाडी गुड्न बनाएका सडक बर्खाको बेला ट्याक्टरकै कारण ‘सडक हो’ वा ‘खोल्सा–खोल्सी हो’ भन्ने चिन्न गार्हो हुने गरेको छ । अर्थात जथाभावी ट्याक्टरले सडकमा खाल्डा बनाउँदा सडकले खहरे खोल्साको रुप लिएका छन् ।
प्राविधिक जाँचबिना नै खनिएका सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । धेरै ग्रामीण सडकमा पहिरोको जोखिम छ । पहिरो नगएका सडकमा पनि खाल्डा खुल्डी र त्यहाँ जमेको हिलोका कारण पैदल हिँड्नसमेत जोखिम छ । अहिले जिल्लाका निर्माणाधीन चार दर्जनभन्दा बढी सडक वर्षाका कारण क्षतिग्रस्त बनेका छन् । वैैशाखदेखि जेसीबी लगाएर पानी पर्दा पर्दै खनिएका सडकमा ट्रयाक्टर गुडेपछि सडकले खोल्सीको रुप लिएको हो । निर्माण र स्तरोन्नतिको काम हुँदै गर्दा पानी परेपछि सडक निर्माणमा गरिएको लगानी वालुवामा पानी हाले सरह बन्ने गरेको छ ।
तेह्रथुमका दुई नगरपालिका र चारवटै गाउँपालिकामा निर्माणाधीनसडकमा क्षति पुगेपछि सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । निर्माण भइसकेका र बन्दै गरेका सबै सडक वर्षाले बगाएरपछि खेतबारी समेत पुरेको छ । जथाभावी सडक खनेका कारण उर्बर माटो सबै बगेर खोलामा गएको छ भने सानो–सानो खोल्सामा ह्वात्त ह्वात्त आएको बाढीले ठूलो क्षति गरेको छ । खोल्साबाट आएको बाढीले सडक खोलेर ठूल्ठूला खाडल बनाएपछि कतिपय सडकमा ट्याक्टर समेत चल्न सकेका छैनन् ।
जथाभावी रुपमा खनिएका बाटोको असर वडाअध्यक्षदेखि नगरपालिकासम्मका सबै जनप्रतिनिधिलाई थाहा नै हुन्छ । तर विकासका नाममा प्राविधिक अध्ययन बिनै तिनै जनप्रतिनिधि जथाभावी सडक खन्न लगाउँछन् । ‘सुरुमा ट्रयाक्टरले पानी बग्ने बाटो बनाउँछ, पछि पानीले त्यही ट्रयाक्टरले बनाएको डोबबाट बाटोको माटो बगाउँदै खाल्डो बनाउँछ र सडकले खोल्सीको रुप लिन्छ,’ म्याङलुङ्ग नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले भन्नुभयोे, ‘सडकको भेल घरतिर पसेर मेरै वडामा दुई घरको उठिबासको अवस्था छ ।’
ती परिवारलाई बचाउन सडकको भेल कटाउन मात्रै आफ्नै पहलमा लाखौँ रुपैयाँ खर्चिएको वडाअध्यक्ष बताउनुहुन्छ । बिना प्राविधिक स्टिमेट उपभोक्ता समितिले जथाभावी रुपमा निर्माण गरेका सडकमा गाडी गुड्नेको कुरै छाडौं, मान्छे समेत हिँड्न सक्ने अवस्था छैन । गोरेटो बाटो मासेर बनेका सडकमा पैदल हिँड्ने यात्रुहरुलाई समेत सास्ती छ । हिलोले चिप्लिएर पैदल यात्रुहरुले समेत दुर्गति भोगिरहेका छन् ।
‘गाउँ–गाउँसम्म दक्ष प्राविधिक पुग्दैनन्, पुगे पनि प्राविधिकको सल्लाहबमोजिम उपभोक्ताले काम गर्दैनन्,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर भरतकुमार यादव भन्नुहुन्छ, ‘बरु डोजर चालकले आफैँ प्राविधिक भएर सडक खनेका छन् ।’ जथाभावी र अनावश्यक रुपमा निर्माण भएका सडकका कारण गाउँमा पहिरोको जोखिम बढेको उहाँले बताउनुभयो ।
‘सडक विकासका लागि हो । सडकले विनाश ल्याउनुहुँन्न, मानव नै नभए सडक कसका लागि सडक ?’ उहाँले थप्नुभयोे । इञ्जिनियर यादवले सडक निर्माणमा दक्ष प्राविधिकहरुको सल्लाह कम मात्रै मान्ने गरिएको दाबी गर्नुभयो ।
तेह्रथुममा ४३ वटा वडाहरु छन् । अहिले सबै वडामा सडक पुगिसकेको छ । धेरै वटा वडाका टोल टोलसम्म पनि सडक पुगेको छ । सडक मात्रै हैन, गाउँ–गाउँसम्म ढुवानीका लागि दैनिक ट्रयाक्टर समेत पुगिरहेका छन् । घरगाउँमै ट्रयाक्टर पुग्दा गाउँमा किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पु¥याउन मौका त छ, तर ट्रयाक्टर कुदेकै कारण गाउँमा एम्बुलेन्स पुग्न सकिरहेको छैन ।
आर्थिक वर्ष २०७४/०७५ मा तेह्रथुमका स्थानीय तहहरुले कुल पूँजीगत बजेटको ८० प्रतिशत बजेट सडकमै लगानी गरे । तर अहिले तेह्रथुमका कुनै पनि सडक बाह्रै महिना सञ्चालनयोग्य छैनन् । पानी पर्ना साथ सवारी अवरुद्ध हुने गरेको छ । जिल्ला भित्रिने मुख्य बसन्तपुर–म्याङलुङ सडक (२६ किमि) खण्डमा पनि अहिले दैनिक गाडी फसेर घण्टौँसम्म जाम हुने गरेको छ । कमजोर प्राविधिक स्टिमेटका कारण साँघुरा सडकमा हिलाम्मे भएपछि १२ घण्टासम्म पनि सवारी जाम भइरहेको सवारी व्यवसायी डिल्ली रेग्मीले बताउनुभयो ।
यो सडक जिल्लाको मेरुदण्डको रुपमा रहेको छ । तर सडक निर्माणको जिम्मा लिएका सम्बन्धित सरकारी निकाय भने मौन छन् । सडकको दिगोपनाका लागि तेह्रथेमका राजनीतिक नेतृत्व र जनप्रतिनिधिले समेत दबाब दिन नसकेको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेका छन् । गएको वर्ष पनि वर्षाले सडकलाई खोल्सीमा परिणत गरेको थियो । ती सडकमा स्थानीय तहहरुले करोडौँ खर्च गरेर मर्मत गरेका थिए । तर ती सडकमा पुनः मर्मत गरेको दुई महिना नबित्दै अवस्था उस्तै बनेको छ । सुरुमा सडक खन्ने र त्यसलाई समयमै पूरा नगर्ने परम्पराले पनि वर्षौ लगाएर करोडौं खर्चमा खनेका सडक बर्खामा खोल्सी बन्ने गरेको छ ।
अहिले जिल्लाका ६० भन्दा बढी सडकमा एकैपटक यातायात ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बसन्तपुरले जनाएको छ । सदरमुकाम म्याङलुङ्गदेखि ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, सक्रान्तिबजारका लागि छुट्ने साना सवारी नकुदेको दुई महिना बितेको छ । रिजर्भमा केही लेन्डरोभरहरु आवत् जावत् गरिरहेका भए पनि बढी भाडा तिर्नुपर्दा यात्रुहरुलाई मार परेको छ ।
वर्षाका कारण यात्रुहरुलाई सदरमुकाम आउन जान कठिन भएको छ । जिरिखिम्तीदेखि मोराहाङ–श्रीजुङ जोडिने सडक पनि क्षतिग्रस्त छ । वर्षाले सडक हिलाम्मे भएर हिलोमा फसेका सवारी निकाल्न चालक र यात्रु घण्टौंसम्म ठेलिरहेका भेटिन्छन् । सिधुवा–शुक्रबारे सडक पनि महिनाँैदेखि अवरुद्ध छ । दैनिक तीन वटासम्म बस चल्दै आएकामा अहिले आधा बाटोसम्म पुगेर फर्किँने गरेका स्थानीय उदयदीप सुब्बाले बताउनुभयो । सडक हिलाम्मे भएपछि ढुवानी गर्न नपाउँदा किसानहरुले दैनिक लाखौँ मूल्यको क्षति बेहोर्नुपरिरहेको छ ।
वर्षाका कारण सडकमा ट्याक्टर समेत गुड्न छाडेपछि किसानले उत्पादन गरेको दूध, तरकारी, फलफूललगायत खाधन्न बस्तुहरु घरमै कुहिएर खेर गएका छन् । ‘वर्षाको समयमा सडकले किसानलाई बढी घाटा पुर्याएको छ,’ आङिदमका किसान राजकुमार पन्तले भन्नुयभो । उहाँका अनुसार गाउँका सडक हिलाम्मे भएकाले दूध बोक्ने ट्याक्टरसमेत चल्न सकेका छैनन् । कृषिजन्य सामाग्रीहरु ढुवानी हुन नपाउँदा दैनिक किसानहरुले लाखौँ रुपैयाँको नोक्सान बेहोरिरहेको अगुवा कृषक पन्तले बताउनुभयो ।
ढुवानी नहुँदा छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पन्चकन्या गाउँका किसानले उत्पादन गरेको तरकारी र फलफूल पनि कुहिएर नष्ट भएको छ । पाँच वर्षअघि खनिएका सडकमा समेत वर्षैपिच्छे मर्मत सम्भारको नाममा करोडौं रुपैयाँ खर्च भइरहेकोे छ ।
मोटो रकम खर्च गरेर मर्मत गरिएका सडक बाढीले बगाएकाले मर्मतको नाममा राज्यकोषको करोडौं सकिने गरेको गुनासो स्थानीय गर्छन् । गाउँगाउँमा खनिएका यस्ता सडकमा हिलो उठेकाले गाउँलेलाई पैदल हिँड्नसमेत अप्ठ्यारो भएको स्थानीयको भनाई छ ।
सडकलाई दिगो बनाउन आफूहरुको निरन्तर पहल रहेको प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङले बताउनुभयो । ‘तेह्रथुमको मुख्य सडक नै हिलाम्मे छ, यसले पु¥याएको सास्ती पनि थाहा छ, तर सोचिसक्दा बाटो नबन्नेरहेछ, यसको पनि प्रक्रिया पुर्याउनुपर्यो,’ उहाँ भन्नुहुन्छ ।
तेह्रथुमका सडकलाई व्यवस्थित गर्न नयाँ ट्रयाक खोल्ने प्रक्रिया रोकेर निर्माण थालिएका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । तेह्रथुमका धेरै वटा स्थानीय तहले चालू आर्थिक वर्षबाट नयाँ ट्रयाक खोल्ने खर्च ट्रयाक खोलिसकेका सडकलाई स्तरोन्नति गर्न खर्च गर्ने नीतिगत निर्णय समेत गरेका छन् ।
भिडियाेमा पनि हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।